समृद्धिको मुख्य आधार नै सहकारी : उप–प्रधानमन्त्री पोखरेल

 जेठ २४, २०७५ बिहिबार १७:०:३९ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनुभएको छ ।

सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उहाँले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताउनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको ‘साकोस शिखर गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताउनुभयो ।    

देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिगत समस्याको संशोधन र नयाँ ऐन, नीति नियम निमार्णमा सरकार लागि रहेको भन्दै उहाँले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भ मध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ नै भएको स्पष्ट पार्नुभयो ।

यस्तै कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले सहकारीहरुको पूँजी सही तबरले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
‘सहकारीको पूँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानूनी अवरोध फकाउन सरकार तयार छ ।’

कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निमार्णका लागि सहकारीको पूँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न सरकार तयार रहेको उहाँको भनाई थियो । 
‘सहकारीहरु उत्पादनमै केन्द्रित हुनु आवश्यक छ । यदी सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरु सहकारी रहँदैनन्’, उहाँले भन्नुभयो, ‘लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।' त्यसैगरी कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उहाँले सुझाव दिनुभयो  । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानूनी  अवरोधले  काम गर्न नसकेको बताउनुभयो ।

‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ’, अध्यक्ष बडालले भन्नुभयो, ‘मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमूना काम गरेर देखाउने छ ।’

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको दुख व्यक्त गर्नुभयो । कर समस्याको समाधान गर्न कार्य दल गठन भएको र कार्यदलमार्फत सम्बोधन हुने आशावादी रहेको बताउनुभयो । साकोस शिखर गोष्ठी अर्थपूर्ण र उपलब्धिमुलक हुने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा तेस्रो साकोस शिखर गोष्ठी काठमाडौंको सोल्टी होटलमा जारी छ । गोष्ठी शुक्रबारसम्म चल्ने छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया