सुमोको मनपरि : टिकटमा ४ सय ५०, यात्रुबाट ८ सय असुली

 असोज २६, २०७५ शुक्रबार १३:३५:१३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – हेटौंडाकी आशा ओली दसैँमा घर जानको लागि सुमो गाडीको टिकट काट्न बल्खु पुग्नुभयो । सहचालकसँग टिकटको कति हो भनेर सोध्नुभयो ।

सहचालकले आठसय रुपैयाँ भनेपछि उहाँ तर्सिनुभयो । ‘हैन हेटौंडासम्मको भाडा साढे चार सय होइन र दाइ ?’ आशाले अचम्म मान्दै सोध्नुभयो । ड्राइभरले हाँस्दै भने, ‘दसैँ लाग्यो नि मिस् बुझ्नुस न ।’

केहीबेर बार्गिनिङ चल्यो । अन्त्यमा सात सयमा टिकट काट्ने सम्झौता भयो । तर टिकटमा भने भाडादर  ४ सय ५० नै लेखियोे । टिकट दिँदै सहचालकले भने, ‘बीच बाटोमा प्रहरीले सोध्यो भने ४ सय ५० मा नै काटेको हो भन्नु है ।’ आशाले टिकट समात्नुभयो र केही नबोली सुमो भित्र बस्नुभयो ।

 आशा ओली मात्र होइन, काठमाडौंबाट सुमो चढेर हेटौंडा जाने सबै यात्रुहरु दुईगुणा बढी भाडा तिर्न बाध्य छन् । त्यहाँ यात्रुको लागि भनेर प्रहरी सहायता कक्षको पनि स्थापना गरिएको छ । यात्रुलाई ठगी नहोस् भनेर स्थापना गरेको सहायता कक्षले यात्रु ठगीमा परेको चाल त पाएको छ, तर केही गर्न सकेको छैन ।  

यात्रु ठगीमा परेको कुरा सम्झाउँदा त्यहाँ खटिएका ट्राफिक प्रहरी चन्द्ररमण अधिकारीले सुमोलाई रोकेर टिकट जाँच गर्नुभयो । तर सबैको टिकटमा चारसय पचास भाडा दर लेखेको पाएपछि उहाँले सुमोलाई छोडिदिनुभयो । भन्नुभयो, ‘हामीले कसरी कार्बाही गर्नेे ? सबैको टिकटमा चारसय पचास नै भाडादर लेखेकोे हुन्छ ।’

‘गुनासो गर्न आउने यात्रुहरुलाई तपाईं टिकट काटेर ल्याउनुहोस्, हामी कार्बाही गर्छौं भन्दा पनि कसैले त्यसो गर्न नमानेको र आफूहरु सोधपुछको लागि जाँदा काउण्टरमा चारसय पचासको टिकट नै काटेको बिल देखाउँछन्’ उहाँले भन्नुभयो ।

सुमोवालाले मनपरी भाडाा असुल्ने गरेको अनुगमनमा खटिनुभएकी ‘कन्जुमर आई’ नामको संस्थाकी कार्यकर्ता शान्ता न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रुहरु भाडा बढी लगेको गुनासो लिएर आउँछन्, तर हामीले जाँच गर्न जाँदा सबैको टिकटमा चारसय पचास नै लेखेको हुन्छ ।’ 

दसैँमा जसरी पनि घर जानुपर्छ । दुईचार सय बढी तिरेर भए पनि घर जान पाए हुन्थ्यो भन्ने मानसिकताले गर्दा पनि यात्रुहरुले यसबारे बोल्दैनन् । जसको फाइदा सुमो व्यवसायीहरुले उठाएका छन् र यात्रुहरु ठगिएका छन् ।

सुमो व्यवसायीहरु फर्किंदा खाली आउनुपर्ने भएकाले बढी भाडा उठाउनुपरेको बताउँछन् । सुमो व्यवसायी राजकुमार मगरले भन्नुभयो, ‘हामीले पनि दसैँमा खर्च गर्नुपर्छ, हाम्रो पनि परिवार छ । एकतर्फी मात्र सवारी बोकेर त पेट्रोल खर्च पनि पुग्दैन, कसरी खर्च चल्छ ?’ यस्तै माँ बंगलामुखी सुमो व्यवसायी दिनेश थापामगर पनि एकतर्फी मात्र यात्रुहरु हुनेभएकाले बढी भाडा उठाउनुपरेको बताउनुहुन्छ ।

काठमाडौंको बल्खु भएर हेटौंडा, सर्लाही, वीरगंज लगायत तराईका बिभिन्न ठाउँमा गुड्ने सुमो व्यवसायीहरुले यसरी नै मनपरी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘ठगी नियन्त्रण गर्न विभिन्न रुपमा सिभिल तथा यात्रुकै भेषमा पनि प्रहरी खटाइएका छन्, तर नियन्त्रण हुन सकेको छैन’ बल्खुमा खटिएका ट्राफिक प्रहरी चन्द्ररमण अधिकारीले भन्नुभयो ।

ट्राफिक प्रहरी प्रवक्ता एसपी राजकुमार लम्सालले यात्रुहरुलाई मर्का नपरोस् भनेर उपत्यकाभरी अनुगमन भइहेको दाबी गर्नुभयो । तर बल्खुमा के भईरहेको छ भन्ने बारेमा थाहा नभएको र अब फोन गरेरर बुझन लगाउने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया