मृत्युपछि लेखिएको मुन्नाको कथा

 असोज २६, २०७५ शुक्रबार १३:५०:४० | मोहन पौडेल

काठमाडौं – नवलपरासी सुस्ता पश्चिमको परासी बजारबाट दक्षिण तर्फ झण्डै आठ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, पाल्हिनन्दन गाउँपालिका ३ बेलापुरमा पर्ने हरिजन टोल । 

भिडियाे हेर्नुहाेस्

साँघुरो बाटोबाट टोलमा छिरेपछि पुगिने एकातिरको पक्की अनि अर्कोतिरको छाप्रोको बीचमा छ, मुन्ना हरिजनको घर । यो घरमा कोही पुगे भने कुर्सी ओछ्याएर स्वागत गर्न निकैबेर लगाएर ठाउँ खोज्नुपर्छ । सिधा भएर उभियो भने टाउको जस्तामा ठोकिन्छ ।

जम्मा तीन धुर जमिन । त्यही तीन धुरमा पूर्व पश्चिम पारेर बनाइएको टिनको साँघुरो छाप्रोमा मुन्नाका तीन दाजुभाइको परिवार बस्छ । जेठो दाइको ४, मुन्नाको ४ अनि कान्छो भाइका श्रीमान् श्रीमती । तीन परिवारमा ११ जना यही ठाउँमा बस्छन् । 

यो मुन्नाका दाजुभाइको अहिलेदेखिको बाध्यता होइन । मुन्ना र उहाँका दुई दाजुभाइले पनि यही साँघुरो ठाउँमा जिन्दगी गुजार्नुभयो । यसै साँघुरो ठाउँ, परिवार बढेपछि झनै साँघुरो भयो । ठूलो घर बनाउन ठाउँ भएन । ठाउँ किन्न पैसा थिएन । 

यही परिस्थितीले मुन्नाले विदेशिने सोच्नुभयो । मुन्नालाई विदेश गए कमाउन सकिन्थ्यो कि भन्ने थियो । विदेशमा घरको माया हुँदैन, परिवारको छायाँ हुँदैन भन्ने सोच्दै सोच्नुभएन ।  मरुभूमीको राप र तापको मुन्नालाई कुनै अड्कल थिएन । 

समस्या मुन्नाको मात्रै थिएन । तीनैजना दाजुभाइकै अवस्था उस्तै थियो । त्यसैले मुन्नासँगै कान्छो भाइ अनिरुद्धले विदेश जाने निधो गर्नुभयो । 

जेठो दाइ घर बनाउने मजदुरको काम गर्नुहुन्छ । २ वर्षअघि कतार जानुभयो । गाउँकै दलालले मुन्नालाई प्लम्बर र अनिरुद्धलाई पेन्टिङको काममा कतार पुर्‍याए । तर दाजुभाइले नै भनेको काम पाएनन् । कहिले बाटो सफा गर्नुपथ्र्यो, अनि कहिले भारी बोक्नुपथ्र्यो । 

कामको टुङ्गो थिएन । बसाई पनि अनिश्चित, जता काम पर्‍यो उतै बस्नुपथ्र्यो । कतार गएको १५ महिनामा मुन्नाको कोखा दुख्न थाल्यो । सुरुमा सामान्य मानेर मुन्नाले भाइलाई सुनाउनुभएन । 

खप्नै नसक्ने गरी दुख्न थालेपछि कम्पनीले उहाँलाई अस्पताल भर्ना गर्‍यो । त्यसको हप्ता दिन पछि मात्रै मुन्नाले भाइलाई खबर गर्नुभयो । त्यतिञ्जेलसम्ममा ढिलो भइसकेको थियो ।

अस्पतालको रिपोर्टले मुन्नाका दुवै मृगौला फेल भइसकेको देखायो । दुवै मृगौलाले काम गर्न छोडेपछि उहाँ परिवारलाई फराकिलो ठाउँमा पुर्याउने सपना अधुरै राख्दै घर फर्किनुभयो । 

जाँदा घर जस्तो थियो, त्यसमा मुन्नाले केही फेरिएको देख्न पाउनुभएन । घर फर्किएपछि पनि उहाँलाई डायलोसिस गरिरहनुपर्ने भयो । विदेशबाटै मृगौला फेल भएर फर्किएकाले मुन्नाले बीमाबाट पाँच लाख रुपैयाँ पाउनुभयो । त्यही पाँच लाखबाट जाँदा लिएको एक लाख ५० रुपैयाँ ऋण तिर्नुभयो । अनि उपचार सुरु गर्नुभयो । 

मुन्नालाई भेट्न अस्पताल पुग्दा 

गएको भदौ ४ गते मुन्नाको घर पुग्दा पनि उहाँ घरमा हुनुुहुन्नथ्यो । उहाँलाई डायलोसिसका लागि भैरहवा लगिएको थियो । उहाँलाई लिएर अस्पताल जानुभएको थियो श्रीमती र आमा पनि । 

घरमा मुन्नाका भाइ बुहारी अनि भाउजु मात्रै हुनुहुन्थ्यो । केहीबेरमा दुई छोरी पनि आइपुगे । छोरीहरु आइपुग्ने बित्तिकै आमासँग जस्तै गरी झुम्मिए काकीसँग । रञ्जना छोरीहरुकी काकीसँगै सानीआमा पनि हुनुहुन्छ । अनिरुद्धले मुन्नाकै साली बिहे गर्नुभएको हो । 

अस्पतालको ५२ नम्बर बेड । सुक्दै गएको ज्यान अनि नाकमा अक्सिजन दिन जोडिएको पाइप । कहिले श्रीमतीको सहारामा सिरानीमा अढेस लाग्नुुहुन्थ्यो । कहिले आमालाई समाएर ज्यान थोरै भएपनि उठाउन खोज्नुहुन्थ्यो । तर आफैं ज्यान अड्याउने तागत थिएन मुन्नासँग । 

मुन्नाले विदेश जानुको कारण भाइकै कुराबाट प्रष्ट भइसकेको थियो । धेरै कुरा गर्न मुन्नासँग ज्यानमा तागत थिएन । अनि कुरा गर्न सुरु गर्ने बित्तिकै छेवैमा रहेका आमा र श्रीमतीका आँखा भरिएको देखिएपछि मुन्नालाई बोल्न पनि गाह्रो भयो ।

तर पनि कतारले आफ्ना दुवै मृगौला खाइदिएको कुरा उहाँले सकिनसकी भन्न थाल्नुभयो । मुन्नाका भनाईमा मृगौला फेल हुनुका दुई कारण यस्ता थिए । 

पहिलो कारण : पानी 

प्लम्बरको काम भनेर गए पनि सप्लाई कम्पनीले भनेको काम कहिल्यै पनि दिएन । मुन्नालाई धेरैजसो काम कि त बिल्डिङमा पथ्र्यो कि त सडकमा । कतारको ४० डिग्रीभन्दा मुस्किलले तल ओर्लिने गर्मी ।

गर्मीले खप्न सक्नेभन्दा माथि भए पनि काममा जाँदा पानीको व्यवस्था थिएन । ‘सात तलामाथि १२ देखि १४ घण्टासम्म काम गर्नुपथ्र्यो, तर पानी पिउन दिँदैनथ्यो’ त्यो समय सम्झिँदा मुन्नाका ओठ अहिले पनि सुक्छन् । 

१४ महिनासम्म त ज्यानले त्यो सकस पनि धान्यो । तर त्यसपछि उहाँ टिक्न खोजे पनि मृगौला टिक्न सकेन कतारको तातोमा । त्यही कारणले कोखा घोच्न थालेपछि उहाँलाई कम्पनीले अस्पताल भर्ना गर्‍यो । 

दोस्रो कारण : छिटो सञ्चो पार्न गरिने उपचार 

उहाँ अस्पताल पुगेको सामान्य जाँचपछि डाक्टरले सुई लगाइदिए । त्यो सुईले केहीछिन उहाँको दुखाई कम भयो । तर अस्पतालबाट कम्पनी फर्किन नपाउँदै कोखो फेरि घोच्न थालेपछि मात्रै मुन्नाका समस्याको विस्तृतमा जाँच गर्न थाले । 

‘पहिला पनि मसँगै अरु साथी बिरामी हुँदा अस्पतालले सुई नै लगाइदिन्थ्यो, त्यसले उतिबेलै ठीक भएजस्तो हुँदो रहेछ’ मुन्नाले सुनाउनुभयो ‘कम्पनीले आज बिरामी भएर गयो भने आजै ठीक भएर फर्कियोस् भनेर छिटो सञ्चो हुने सुई लगाउँदो रहेछ । त्यहीले पनि मेरो किड्नीलाई झनै खराब गरेको हो ।’ 

मुन्नाका दुवै बुझाई ठिक हुन् या होइन् डाक्टरले पनि सायदै ठम्याउन सक्छन् । कारण मुन्ना र उहाँ जस्तै कामदारलाई कुन औषधि दिइन्थ्यो भन्ने कुनै प्रमाण छैन । 

अस्पतालमै रुवाबासी  

मुन्ना अस्पतालमा भर्ना भएको १७ दिन नाघिसकेको थियो । घरमा भाइ केही काम नपाएपछि घरमै दिन बिताइरहनुभएको थियो । हामीसँग अनिरुद्धले अस्पतालमा रहेका दाइलाई भेट्न जाने मन भएपनि दाइले नै अस्पताल जान नदिएको बताउनुभएको थियो । 

अस्पताल आउन नदिनु कारण चाहिँ मुन्नालाई भेटेपछि खुल्यो । ‘यहाँ डाक्टरले कसैले एउटा किड्नी दियो भने मेरो एउटा फेर्न सकिन्छ भन्नुभएको थियो अनि श्रीमती र भाइको किड्नी फेर्न मिल्न भन्नुभएको थियो’ मुन्नाले भन्नुभयो ‘म त यस्तो भएँ अब यिनीहरुमध्ये एकजनाको पनि एउटा किड्नी निकाल्यो भने के हुन्छ ।’ त्यतिञ्जेल आफूलाई सम्हालेका मुन्नाका ओठ त्यसपछि भने थरर्र काँपे । आँखा आँसुले भरियो । 

केही सेकेण्डले मुन्नाले आफ्नो पीडा अरुले नसुनुन् भने जसरी भए पनि दबाउन खोज्नुभयो तर सक्नुभएन । उहाँ डाँको छोडेर रुन थाल्नुभयो । 

मुन्नाले डाँको छोडेपछि सँगै रहेकी श्रीमती शोभा र आमा शिलपतीले पनि आफूलाई सम्हाल्न सक्नुभएन । मुन्नासँगै दुई जनाको पनि रुवाई थपिएपछि मुन्ना रहेको वार्डका अरु बिरामी र उनीहरुका आफन्त पनि निःशब्द भए । 

पीडा आँसुले थोरै भएपनि बगाउँछ सायद । केहीबेर आँसु बगेपछि मुन्ना बोल्न थाल्नुभयो । तर कुरा घरको अवस्थातिर मोडिएपछि फेरि भक्कानिनुभयो । ‘चामल छैन, दाल छैन घरमा साना छोराछोरी छन् उनीहरुलाई के गरेर पाल्नु’ काँप्दै गरेको स्वरमा मुन्नाले भन्नुभयो ‘ऊ (श्रीमती) पनि मलाई नै कुर्नु पर्‍यो ।’ पीडामाथि पीडा थपे जस्तै हुने देखेपछि मुन्नासँग कुरा छोटियो । 

‘मलाई केही भइहाल्यो भने छोरीहरुलाई राम्ररी हेरचाह गर्नु’

१७ दिनसम्म मुन्नालाई हेर्न आउने डाक्टरले सिधै उहाँलाई बचाउन गाह्रो छ भनेनन् । घुमाउरो पारामा अब पार नलाग्ने कुरा नै गरिरहेका थिए । तर परिवारको मन न हो । बचाउन सकिन्छ कि भन्ने आशामा शोभाले श्रीमानलाई घर लैजानुभएन । शोभाले श्रीमानलाई आफ्नो मृगौला राख्न दिन भन्नुभयो, तर मुन्नाले मान्नुभएन । 

‘म पनि यस्तो छु अनि तिमी पनि एउटा किड्नी दिएर बिरामी भयौ भने के गर्नु भन्नुभयो’ शोभा भन्नुहुन्छ ‘सबै डाक्टरले अवस्था गम्भीर छ मात्रै भन्छन् । मृगौलासँगै मुटुमा समस्या छ त्यसैले अस्पतालमा राखेर धेरै खर्च गर्नुभन्दा घर लैजानुहोस् भन्नुभएको छ ।’ 

सायद मुन्नालाई थाहा थियो, अब धेरै दिन बाँच्दिन भन्ने कुरा । गएको भदौ ११ गते मुन्नाको प्राण उड्यो । मुन्नाले आफ्नो पीडा आफूसँगै लिएर जानुभयो । तर परिवारलाई वर्षौंदेखिको पीडा त्यतिकै छोडेर जानुभएको छ । 

वैदेशिक रोजगारीको सामाजिक मोल अन्तर्गत यसअघि उज्यालोमा प्रकाशित पढ्ने कथाहरु

वैदेशिक रोजगारीले लियो दाजुभाइको ज्यान, सम्हालिँदै परिवार

परदेशबाट होस गुमाएर फर्किएकाहरु

विदेशको कमाइले पक्की घर बनाएर के गर्नु, छोराले आमा भन्दैन

विदेशबाटै श्रीमतीलाई ‘टर्चर’

अन्तिम अपडेट: असोज २९, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया