तोकिएको दरको दोब्बरभन्दा बढी भाडा लिन्छन जीप व्यवसायी

 असोज २६, २०७५ शुक्रबार १६:५:१५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – दसैँमा बझाङ जिल्लाका शाखा सडकहरुमा चल्ने सवारी साधनहरुले मनपरि भाडा असुल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले केही महिना अघि शाखा सडकहरु तथा कच्ची सडमा प्रति किलोमिटर १० रुपैयाँ भाडारद तोकेको भए पनि यहाँका जीप व्यवसायीहरुले भने त्यसको दोब्बरभन्दा बढी भाडा यात्रुहरुबाट असुल्दै आएका छन् ।

एक किलोमिटरको १० रुपैयाँ तोकेको भाडा अहिले जीप धनी तथा जीप चालकहरुले प्रतिकिलो मिटर २० देखि २५ रुपैयाँसम्म लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । खप्तड छान्ना गाउँपालिका तमैलदेखि कालुखेतीसम्म ११ किलोमिटर सडक मात्रै भएको तर त्यहाँ चल्ने जीप चालक तथा जीप धनीहरुले २ सय ५० देखि तीनसय रुपैयाँसम्म भाडा लिने गरेको स्थानीयबासिन्दा सुवास खड्काले बताउनुभयो । 

आफू घर जाने क्रममा जहिले पनि २ सय ५० देखि तीन सयसम्म भाडा तिर्दै आएको खड्काले जानकारी दिनुभयो । ३०० भन्दा कम भाडा दिने यात्रुलाई जीपमा चढ्न नै नदिने गरेको उहाँको गुनासो  छ ।

त्यस्तै जीप चालक तथा धनीहरुले मनपरि भाडा असुल्दै आएको गुनासो यहाँका स्थानीय बासिन्दाहरुले पटक–पटक स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म गराए पनि कुनै सुनुवाई नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

स्थानीयबासिन्दा तथा समाजसेवी उत्तम रोकायाले भन्नुभयो, ‘जीप सञ्चालन हुँदा गाउँ घरका स्थानीय बासिन्दाहरु खुःशी भएका थिए । तर जब मनपरि भाडा जीप चालकहरुले असुल्न थाले, त्यसपछि गाउँमा चल्ने सवारीसाधनहरु हुने खानेका लागि मात्रै चल्दा रहेछन् भन्ने गुनासो बढी छ ।’ यहाँका कतिपय आम्दानीको श्रोत नभएका स्थानीय वासीहरु तमैल बजारसम्म समान किन्न जाँदा जीपको साटो खाली खुट्टा हिँड्ने गरेको उहाँको भनाई छ । 
पटक–पटक बढी भाडादर लिएको गुनासो आएका कारण यसका लागि अबको दुई दिनभित्र नै भाडा व्यवस्थापन गरी कार्यान्वयन गर्ने खप्तड छान्न गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो । 

केही समय अघि जीप व्यवसायीहरुसँग बसेर छलफल गर्न खोज्दा जीप व्यवसायीहरु अनुपस्थित भएका कारण बिना निष्कर्ष बैठेक टुङ्गिएको रोकायले बताउनुभयो । आउँदो दुई दिनमै सरोकारवालासँग छलफल गरेर नयाँ भाडादर कार्यान्वयनमा ल्याउने रोकायले बताउनु भएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया