मृतकका परिवारलाई दाबी रकम दिइयो

 असोज २६, २०७५ शुक्रबार १७:१२:१२ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा– नेपाल लाइफ इन्स्योरेन्सले ओखलढुंगाको मोलुङ गाउँपालिका–८, मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

गएको भदौ १३ गते राति पहिरोमा परि मृत्यु भएका पूर्णबहादुर राईका छोराछोरीलाई २ लाख ६ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो । मृतक पूर्णबहादुरले गएको असारमा १ लाखको जीवन बीमा गर्नुभएको थियो । उहाँले पहिलो किस्ता तिरेकाले क्षतिपूर्तिस्वरुप १ लाख, दुर्घटनाबाट मृत्यु भएकाले १ लाख र १ वर्षको बोनस गरी त्यो रकम हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा कार्यालय ओखलढुंगाले पूर्णबहादुरका दुई छोरी उर्मिला, सुशीला र एक छोरा आशिषलाई संयुक्त रुपमा २ लाखभन्दा बराबरको चेक प्रदान गरेको उपशाखा प्रमुख छवीलाल मगरातीले बताउनुभयो ।

घटनामा राईसहित उनकी श्रीमती धनकुमारी राई, छोरा अनिश राई र दिदी मित्रमाया राईको ज्यान गएको थियो । पूर्णबहादुरका १३ वर्षीया छोरी उर्मिला राई, ७ वर्षीया छोरी सुशीला राई र ६ वर्षका छोरा आशिष राई मावली घरमा गएकाले पहिरोबाट जोगिएका थिए ।

चिशंखुगढी गाउँपालिका–७, मा रहेको मावलीको संरक्षणमा बस्दै आएका पूर्णबहादुरका छोराछोरीलाई त्यो रकम गाउँपालिकाकी उपाध्यक्ष शुष्मा राई र इन्स्योरेन्सका उपशाखा प्रमुख छवीलाल मग्रातीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया