वामदेवको ब्याक गियर: ७ नम्बरको साढे सात, काम गरे धैरै अवसर !

 असोज २६, २०७५ शुक्रबार १७:३४:४६ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम जसरी पनि सांसद बन्ने चाहनाबाट पछि हट्नुभएको छ । पछिल्लोपटक काठमाडौं ७ मा उपचुनाव गराएर सांसद बन्ने प्रयासको चौतर्फी आलोचना भएपछि उहाँले ‘ब्याक’ हुने निर्णय गर्नुभएको हो । 

यो निर्णयसँगै नेता गौतमको छवि थप धुमिल हुनबाट जोगिएको त छ नै । यसबाट पछि हुन सक्ने संवैधानिक विवाद पनि तत्कालका लागि टरेको छ । 

गएको चुनावदेखि एउटै व्यक्ति दुई ठाउँबाट उठ्न नपाइने व्यवस्था कडाईका साथ लागू गरियो । दुई ठाउँबाट चुनाव जितेका उम्मेदवारले छोडेको एक ठाउँमा पछि उपचुनाव गर्न नपरोस् भन्नकै लागि यो व्यवस्था कडाईका साथ लागू भएको हो । 

नेता गौतमको लागि फेरि उपचुनाव भएको भए यसले संवैधानिक विवाद उत्पन्न गराउँथ्यो । हार्ने मान्छेलाई फेरि अवसर दिन यसैगरी उपचुनाव गराउन पाइने कि नपाइने भन्ने बहस बढाउँथ्यो । संभवत त्यो अदालत पुुथ्यो । कथंकदाचित चुनाव भयो र वामदेव जितेर प्रधानमन्त्री हुन खोज्नुभयो भने अर्को विवाद निस्कन्थ्यो ।

५ वर्षका लागि चुनिएको सांसदलाई राजीनामा गर्न लगाएर उपचुनाव गराई जितेको व्यक्ति प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन भन्ने अर्को विवाद सुरु हुन्थ्यो । यी हरेक विवादको जड वामदेवको जसरी पनि सांसद बन्ने चाहनामा गएर ठोकिन्थ्यो । वामदेवलाई यस्ले फरक पार्ने थियो थिएन भन्ने कुरा आफ्नै ठाउँमा होला, वामदेवको पक्ष लिने नेकपाका कार्यकर्ता मुख देखाउन लायक नरहने अवस्था उत्पन्न हुन सक्थ्यो ।

केपी शर्मा ओली र प्रचण्ड वामदेवभन्दा बढी आलोचित हुन्थे । वामदेवले आफ्नो महत्वाकांक्षामा ब्रेक लगाएकाले नेपालमा एउटा अनर्थको बहस पनि गर्भमै तुहिएको छ । 

सांसद बन्ने असफल प्रयास

नेकपाका प्रभावशाली नेता गौतम गएको प्रतिनिधिसभामा बर्दियाबाट पराजित हुनुभयो । देशभर वाम लहर चलेको बेला उहाँको पराजयले पार्टीका नेता, कार्यकर्ता तथा समर्थक शुभेच्छुकलाई दुखी बनायो । उहाँसँगै नेता नारायणकाजी श्रेष्ठले पनि चुनाव जितेको भए राम्रो हुन्थ्यो भन्ने धेरैलाई लागेको थियो । तर चुनावमा उठिसकेपछि कि हार हुन्छ, कि जित हुन्छ । नेता गौतम र श्रेष्ठ पराजित हुनुभयो, यो अस्वभाविक थिएन पनि ।

तर पराजयलगत्तै नेता गौतमलाई जसरी पनि सांसद बन्ने चाहना बढ्न थाल्यो । उहाँको चाहना बुझेर शीर्ष नेताहरुले राष्ट्रियसभामा मनोनयन गर्ने तयारी पनि गरे । तर गौतम राष्ट्रियसभामा जान चाहनुभएन । प्रतिनिधिसभाकै कुनै क्षेत्र खाली गरेर उपचुनाव गराउन सकिन्छ कि भन्ने बाटो हेर्न थाल्नुभयो । यसबीचमा उहाँले डोल्पादेखि काठमाडौंसम्मका सिट खाली गराउन निकै प्रयास गर्नुभयो ।

सुरुमा उहाँले डोल्पाका धनबहादुर बुढालाई फकाउनुभयो । सुरुमा सांसद बुढा आफ्ना नेता गौतमलाई ठाउँ खाली गरिदिन सकारात्मक हुनुहुन्थ्यो । तर पछि डोल्पाकै नेता कार्यकर्ताले नमानेपछि बुढा पछि हट्नुभयो ।

बुढाले ठाउँ नछोडेपछि गौतमले दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास गर्नुभयो । तर त्यो प्रयास पनि विफल भएपछि उहाँ पछिल्लोपटक काठमाडौं ७ मा आइपुग्नुभएको थियो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आग्रहमा काठमाडौं ७ का सांसद रामवीर मानन्धर नेता गौतमलाई ठाउँ छोडिदिन राजी हुनुभयो । गौतमका लागि मानन्धरले ठाउँ छोड्न लागेको पूर्व जानकारी पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत थिएन ।

मानन्धरले राजीनामाको घोषणा गरे लगत्तै नेकपाभित्र खैलाबैला भयो । अध्यक्ष ओली, झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भीम रावल र रामबहादुर थापा बादलले खुलेरै असन्तुष्टि जनाए । अरु नेता कार्यकर्तासँगै काठमाडौं ७ का मतदाताले समेत बिरोध गरे । सामाजिक सञ्जालमा त उहाँको उछित्तै काढियो ।

बल्ल बल्ल पाएको दिनभरिको सिकार जस्तो काठमाडौं ७ पनि खाउँ भने कान्छा बाको अनुहार मात्र हैन, साढे सातको दशा जस्तो भयो । अन्ततः आफूदेखि आफै थाकेर वामदेव आफ्नो नौ महिना पुरानो चाहनाबाट ‘ब्याक’ हुने निष्कर्षमा पुग्नुभएको हो ।

गौतमलाई अवसरै अवसर

सत्तारुढ नेकपाका शीर्ष नेताहरुमा गौतम पनि अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँकै जोडबल र प्रयासमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता सम्भव भएको हो । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भैसकेका नेता गौतमसँग पार्टीलाई सुदृढ बनाउनेदेखि देश विकास गर्नेसम्मका अवसर छन् । 

अहिले दुई तिहाईको सरकारले केही गर्न सकेन भनेर आलोचना बढिरहेको बेला गौतमले सरकारलाई ठीक ढंगले अघि बढाउन पार्टीभित्र र सरकार बाहिरबाट पनि महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ । पार्टीभित्रका अन्तरद्वन्द्व र नागरिकका असन्तुष्टि साम्य पार्न पहल गर्न सक्नुहुन्छ । यसको लागि सांसद बन्नै पर्दैन ।

हुन त प्रधानमन्त्री बन्ने बाटो खुला गर्न नेता गौतम सांसद बन्न खोजेको टिप्पणी भैरहेको छ । तर प्रधानमन्त्रीमा तत्काल ओलीको विकल्प देखिंदैन । नेकपाले पनि ओलीको सट्टा अर्को प्रधानमन्त्री खोजेको छैन । ओली र प्रचण्डबीच भएको भनिएको भद्र सहमति साँच्चै भएको हो भने आलोपालो गर्दा पनि प्रधानमन्त्री हुने पालो प्रचण्डको आउँछ ।

तर पछि ओलीले नमानेमा गौतमलाई अघि सार्न प्रचण्डले पनि बल गर्नुभएको बुझ्न सकिन्छ । यसो हो भने पनि घाटा गौतमलाई नै छ । 

किनकी अस्वाभाविक प्रक्रियाबाट उपचुनाव गराएर सांसद बन्न खोज्नुलाई कसैले पनि सही मानेका छैनन् । अझै सांसद हुन बल गर्ने हो भने नेता गौतमको प्रतिष्ठामा आँच आउने निश्चित छ । उहाँ गएको चुनावमा पराजित हुनुभएको हो । अर्थात ५ वर्षसम्म चुप लागेर बस्नु, सांसद नहुनु भन्ने मतादेश हो । मतादेश र जनादेशको सम्मान गर्न सक्नु असल नेताको धर्म र कर्म दुवै हो ।

अस्वाभाविक प्रक्रियाबाट उपचुनाव गराउँदा मतदातामाथिको अपमान र राज्यकोषमाथिको दुरुपयोग हुन्छ । सांसद बन्नकै लागि मरिहत्ते गरे भनेर नेता गौतमको आलोचना चुलिन्छ । ढिलै भए पनि नेता गौतम पछाडि हट्नुभएको छ ।

सांसद नबनीकनै देश र नागरिकको पक्षमा काम गर्ने अवसर उहाँलाई प्रशस्त छ । आफ्ना अघिल्तिरका अवसर सदुपयोग गर्न सकेअहिलेसम्म आलोचना गर्नेहरुले पनि नेता गौतमको प्रशंसा गर्न थाल्छन् । 

मानन्धरप्रतिको विश्वास घट्यो

उपचुनावबाट ‘ब्याक’ हुने निर्णयले नेता गौतमलाई थप आलोचना हुनबाट जोगाए पनि रामवीर मानन्धरप्रतिको विश्वास चाहिँ अबका ४ वर्षसम्म निरन्तर घट्नेछ । आफूले काम गर्न नसकेको भन्दै मानन्धरले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

आफूले भन्दा नेता गौतम अनुभवी भएको र काम गर्न सक्ने भएकाले उहाँको लागि आफूले ठाउँ छाड्न लागेको उहाँको भनाई थियो । यो भनाईले उहाँलाई भोट दिने मतदातालाई आक्रोशित बनाएको छ । कामै गर्न नसक्ने नेतालाई जिताइएछ भन्ने थकथकी लागेको छ ।

नेता गौतमलाई ठाउँ छोडिदिन यसो भन्नुपर्ने बाध्यता भए पनि गौतम ‘ब्याक’ भएपछि मानन्धरले आफ्नो क्षेत्रमा ‘ब्याक’ भएर मतदाताको मन जित्ने अवसर एकाएक गुमाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया