निर्मला हत्या प्रकरण : एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति उखुबारी पुग्यो

 असोज २६, २०७५ शुक्रबार १८:५६:३९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि छानबिन गरिरहेको एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनास्थलको अवलोकन गरेको छ । 

शुक्रबार महेन्द्रनगर पुगेको छानबिन समितिले अनुसन्धानमा खटिएका आधा दर्जन बढी अनुसन्धान टोली, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग भेटघाट तथा छलफल गरेको थियो । 

सुरक्षा प्रमुखलगायतसँगको छलफलपछि समितिले निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको उखुबारीको अवलोकन गरेको हो । 

घटनास्थल पुगेपछि छानबिन समितिका संयोजक बस्नेतले निर्मलाको साइकल र किताब भेटिएको ठाँउ, शव भेटिएको उखुबारी र घटनाको प्रकृति, शवको अवस्थालगायत विषयमा जानकारी लिनुभएको थियोे ।

छानबिन समिति गठन भएको झण्डै एक महिनामा कञ्चनपुर पुगेको समितिले घटनास्थल र शवको प्रकृतिका बारेमा सुक्ष्म रुपमा जानकारी लिएको छ । 

घटनास्थलको अवलोकनपश्चात समितिले निर्मलाको परिवारसँग भेटघाट तथा सोधपुछ गरेको थियो । समितिले निर्मला पन्तको हत्याको  अनुसन्धानमा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ । समितिले शनिबार नागरिक समाज, पत्रकार, अधिकारकर्मीलगायतसँग छलफल गर्ने कार्यक्रम समेत तय गरेको छ । 

अनुसन्धान र छानबिनका बारेमा छानबिन समितिले शनिबार मात्रै जानकारी दिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । समितिले थप सोधपुछ र अनुसन्धान गरिरहेकाले सबै कुरा बुझेर शनिबार मात्रै आफ्नो भनाई राख्ने उहाँले बताउनुभयो । 

निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको आक्षेप लागेपछि  नेपाल प्रहरीले गएको भदौ ३१ गते अनुसन्धानमा खटिएका प्रहरीमाथि नै अनुसन्धान तथा छानबिन गर्नका लागि एआईजी बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको थियो । 

यसअघि, सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमा समेत पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानबिन समितिले असोज ९ गते गृहमन्त्रीलाई छानबिन समितिको प्रतिवेदन पेस गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • मनोज थापा

    Oct. 12, 2018, 10:19 p.m.

    यो जैरे बस्नेत पनि उही ड्यान्ग को मुला त होला नि / कति बदनाम भइस पुलिस थुक्क / पुलिसले राम्रो काम गर्छ जस्तो लाग्दैन मलाई त / पुलिसले राम्रो काम गर्छ भन्ने विश्वास दिलाउन का लागि निर्मलाका हत्यारालाई कारवाही गर्न सक्नु पर्छ / जुन कुरा यो सरकार र यो गृह प्रशाशन ले गर्नै सक्दैन / गृहमन्त्री राम बहादुर थापा ले दिएको १ हप्ता पनि बित्न लाग्यो के रे लाज नभए पछी जे बोले नि हुँदो रहिछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया