दसैँमा खसीखसिनीको खसखस, जादुको चमत्कार र रद्द भएको वामदेव उपहार !

 असोज २७, २०७५ शनिबार ७:५४:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

दुई तिहाईको बलियो सरकार भएको देशका नागरिक आशबहादुरलाई जता फर्के पनि आश मात्रै लाग्छ । कतातिर मात्रै आश गरौं भनेर पर्खिरहेको बेला दसैँ टुप्लुक्क दैलोमै आइपुग्यो । 

दसैँ कसरी मान्ने र के ले टार्ने भन्दै टाउको समाएर बसेका बेला दसैँ घरमै पसि हाल्यो ।  जमरा राख्ने दिन आयो । दिन आएपछि त्यो पनि राख्नै पर्‍यो । जमरा पनि राखियो जसोतसो । जमरा नै राखेपछि त जसरी पनि दसैँ मान्नु पर्यो । जाबो जमरा राख्नका लागि खर्च गर्न परेन । धान, मकै, जौ घरमै थियो । बालुवा, माटो खोलामै पाइन्थ्यो । ख्यालख्यालमै जमरा राखिसकेपछि अब साँच्चिकै दसैँ सुरु भयो । 

सबैलाई खुशी र सुखी बनाउँछु भन्ने दुई तिहाईको सरकारले दसैँमा पक्कै पनि राहत दिन्छ भन्ने आशबहादुलाई आश थियो । आशबहादुरले राहत र सहुलियतको आश बोके । त्यसपछि झोला बोकेर बजार पुगे । 

अक्षता बनाउनदेखि दहीचिउरासँग मुछ्न पनि चिनी नभई हुन्न । त्यसैले सबैभन्दा पहिले चिनीपसल पुगे र भाउ सोधे । असी भनेको हो कि खसी भनेको हो, एकछिन कुरा बुझ्न मुश्किल पर्यो । पसलेले असी नै भनेको रहेछ । सुनेर झण्डै बेहोस भैसकेका थिए, सँगै गएको अर्काले पानी छर्किएपछि उनी होशमा आए । 

होशमा फर्किएपछि उनले बल्ल बुझे, किनमेल गर्न बजार निस्कँदा दह्रो मुटु बनाउनुपर्छ, नत्र जे पनि हुन सक्छ । 

आफ्नै पार्टीका नेताबाट टुँडिखेलमा एक नम्बरको भ्रष्टाचारी विभूषण पाइसकेका अनि प्रहरीलाई समेत थर्कमान बनाएर राख्न सक्ने दह्रो मुटु भएका मान्छे वामदेव मात्रै हुन् ।

चिनी चिन्नै नसक्ने भएपछि उनी लुगाफाटा र मरमसला बेच्ने पसलमा पुगे । त्यहाँ पनि बेहोस हुने गरी पसलेले भाउ सुनाए । यसपटक मुटु दह्रो बनाएकाले आशबहादुर बेहोस नै त भएनन् । तर फनफनी रिंगटा लाग्यो । उनलाई लाग्यो, बजारका सरसामान किन्नका लागि होइनन्, सजाएर राख्नको लागि मात्रै ठीक छ ।
दसैँमा कपडा समेत किन्न सकिंदैन भन्ने निष्कर्षसहित उनी हारेको जुवाडेको तालमा घर फर्किए । पिंढीमा बसेर झोक्राए ।

चौबीसैघण्टा फेसबुकमा झुण्डिने छोराछोरीले एउटा भाइरल भएको भिडियो देखाए । भिडियो देखेर आशबहादुरका आँखा रसाए । भिडियोमा एउटी केटीले खसीखसिनीलाई नकाट्नु है, मासु त खानु तर नकाट्नु, काटे पनि परिवार नभएकालाई मात्रै काट्नु भनेको सुनेर आशबहादुर एकछिन अलमलमा परे । 

केटाकेकटीदेखि नै उनले बाख्राको छोरो बोको हुन्छ र नसबन्दी गरेपछि त्यै बोकालाई खसी भनिन्छ भन्ने थाहा पाएका थिए । भिडियाे हेरेपछि उनको टाउको दसैँले पीरलेभन्दा खसीखसिनीका कुराले रिंगाउन थाल्यो । खसीकी श्रीमती खसिनी भएपछि अब बाख्राको श्रीमान् बाख्रिनी हुने भयो । भनेपछि अब कि बाख्रा नरहने भयो कि खसी नरहने भयो । ब्रम्हाको श्रृष्टिबाट एउटा प्राणीको लोप हुने भयो भन्ने चिन्ता लाग्यो आशबहादुरलाई । तर यो चिन्ता धेरैबेर टिकेन । खसी र बाख्रा जे भए पनि दसैँमा खाने त मासु नै हो जस्तो लाग्यो । मासु त हो, तर खसीखसिनीका परिवार भए, नभएको कसरी थाहा पाउने ? अनि मासु चाहिँ खानु, नकाट्नु भनेपछि काट्दै नकाटी के खानु ? तर पैसो नभएको बेला नकाट्नै नै ठीक भन्ने उनलाई लाग्यो । खसीखसिनीको माया गर्ने केटीले खसी किन्ने पैसा जोगाइदिइन् भनेर उनी मख्ख परे ।

खसी पनि टर्यो, कपडा पनि टर्यो । तर दसैँ त खल्लो हुने भो । केही न केही चमत्कार गरेरै भएपनि दसैँ मनाउन पाए हुन्थ्यो भन्ने पनि लाग्यो । चमत्कार गरेर चिनी किन्न पाइयो भने सबैभन्दा उत्तम हुन्छ भन्ने उनलाई लाग्यो । 

उस्तै चमत्कारी पारामा दसैँमा चाहिने लुगाफाटा कसैले घरमै ल्याइदेओस् । परिवार नभएका खसीखसिनी वा बाख्राबाख्रीनी पनि जादुगरले हातमा परेवा र रुमाल निकालेझैं गरी म्याँम्याँ गर्दै आँगनमा आइपुगोस् । आशबहादुरले चमत्कार हुन्छ कि भन्ने आश गरे ।

त्यहीबेला उनले प्रधानमन्त्रीको नयाँ भाषण सुने । पहिले चुनावी घोषणापत्र र भाषणमा देशमा अब चमत्कार हुन्छ भन्ने प्रधानमन्त्रीले अब चमत्कार गर्न सकिंदैन भनेछन् । जादू देखाएजस्तो कहाँ चमत्कार गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले नै भनेपछि चमत्कार पनि नहुने भयो, जादू पनि नदेखिने भयो । त्यसपछि फेरि उनको आश मर्यो । मनमनमा सोचे, अब चमत्कार गरेर पनि दसैँ मनाउन सकिंदैन ।

किनमेल नगरे पनि केही न केही गरेर दसैँ त मनाउनुपर्यो । घरमा जमरा राखिसकेको छ । जमरा राखेपछि किनमेल गर्न उनी शहर आएका थिए । अब गाउँ जानुपर्यो भनेर आशबहादुर पुरानो झोला बोकेर बसपार्क पुगे । तर बसमा त टिकट पहिल्यै सकिसकेको रहेछ । बस्ने सिट त के झुण्डिने डन्डी  समेत रहेनछ । बस नपाएर घर जान पनि पाइएन ।

न लुगाफाटा, न मरमसला, न त खसी र चिनी नै किन्न पाइयो, न घर फर्कन बस नै । सबैतिरको संयोगले योपालि आशबहादुरले दसैँमा खर्च गर्न परेन । तर दसैँको मुखमै दुई तिहाई सरकार भएको पार्टीले बम्पर उपहार खोल्यो ।

नेकपा भनेको वाम पार्टी । नाम नै वाम भएपछि वाम नाम नभएका मान्छे सरकार र संसदमा नहुनु सुहाउने कुरा पनि भएन । त्यसमाथि सरकारले केही काम गर्न सकेन भनेर आलोचना भैरहेको छ । ओलीले चमत्कार देखाउन सक्दिन भनेर हार मानिसके । मैले भनेको कसैले टेर्दैनन् भनेर खुट्टा कमाइसके । ओली पछिका प्रचण्डको खुट्टा त छ, तर त्यो उनको चाहनामा उचालिंदैन । मान्छे त बलियै छन्, तर उनका खुट्टी देखिंदैनन् । खुट्टी लुकाएर नसक्नेले के गर्न सक्लान् ?

खुट्टा दह्रो भएका एकजना वैकल्पिक मान्छे त चाहियो । बीच सडकको बार पनि नाघ्न सक्ने दह्रो खुट्टा भएका, एक-दुई अर्बको बराबर रकम बेलुका खाएर बिहान ट्वाइलेटमा फ्लस गर्न सक्ने बलियो जाँते भएका, आफ्नै पार्टीका नेताबाट टुँडिखेलमा एक नम्बरको भ्रष्टाचारी विभूषण पाइसकेका अनि प्रहरीलाई समेत थर्कमान बनाएर राख्न सक्ने दह्रो मुटु भएका मान्छे वामदेव मात्रै हुन् । तर बर्दियाका मतदाताले यो कुरो बुझेनन् । उनीजस्तो जे पनि गर्न सक्ने खुबी भएका मान्छेको खुट्टा चुनावको बेलै बाँधेर हल न चल पारिदिए ।

अब बाँधिएको वामदेवको खुट्टा खोल्नुपर्ने भयो । वामदेव भन्नु र महादेव भन्नु उस्तैउस्तै हो । बरु महादेव नहुँदा देवलोक चल्ला, वामदेव नहुँदा मर्त्यलोकको नेपाल देश चल्नै नसक्ने भैसक्यो । नागरिकले दुःख पाए । सडक अस्तव्यस्त भयो । जताततै हत्या, हिंसा, बलात्कार, महंगी, भ्रष्टाचार, अनियमितता फैलियो । न ओलीले केही गर्न सके, न प्रचण्डले ।

नागरिकले आश गरेअनुसारको काम गर्न सक्ने मान्छे वामदेव नै हुन् । त्यसैले दसैँको छेक पारेर सरकार चलाउने पार्टीका नेताल वामदेव बम्पर उपहार घोषणा गरे । महंगी र असुरक्षाले आत्तिएका आशबहादुर जस्तालाई योभन्दा खुशीको कुरा अरु के हुन सक्छ ? खुशीले उफ्रिरहँदा फेरि उपहार रद्द भएको कुरा आयो ।
 

अन्तिम अपडेट: कात्तिक २७, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

1 Comments

  • Laxman Pokharel

    Oct. 17, 2018, 10:28 p.m.

    म पनि बर्दिया कै हुँ/ बामदेव भन्ने मान्छेले बर्दियालाई आफ्नो विर्ता भन्ठान्यो रे ....पछि प्युठान मेरो भन्यो रे...के हो के हो मैले त केहि बुझ्न सकिन /जमिन्दारी प्रथा चाहिं सकियो, वामदेवजीको grassroot approach चाहिं कम्जोर नै हो कि जस्तो लाग्यो / ठूलो मान्छे, के भन्ने ? भोट त सानै मान्छेले दिने हो , भैगो नि धेरै कुरा नगरौं, फेरी गाह्रो होला /

तपाईको प्रतिक्रिया