१३ वर्षपछि साँफेबगर विमानस्थलमा  हवाई उडान हुने

 असोज २७, २०७५ शनिबार ९:४४:७ | चन्द्र थापा
unn.prixa.net

अछाम – हवाई उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नियमित उडान हुने भएको छ । 

नेपाल वायु सेवा निगमको विमानले असोज २८ गते बिहान साढे १० वजे नेपालगञ्जबाट साँफेबगरमा नियमित उडान भर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको लेट विमानले हवाई मैदान परीक्षण गरेको थियो । २०६२ सालदेखि पूर्ण रुपमा बन्द भएको साँफेबगर हवाई मैदानको कालेपत्रे गरिएपछि जेठमा हवाई उडान परीक्षण गरिएको थियो । 

हवाई उडान भरेको साढे ४ महिनापछि असोज २८ गते नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । सुरुमा अहिले नेपाल वायु सेवाको विमानले हप्ताको दुई पटक नेपालगञ्जबाट हवाई उडान गर्नेछ । सुरुमा नेपालगञ्जबाट हवाई उडान भरे पनि पछि धनगढीबाट साँफेबगरमा पनि नियमित उडान भर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । 

२०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा गरेको आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द भएको थियो । उहाँले शुक्रबार मात्रै हवाई उडान भर्नको लागि सहमति भएको बताउँदै टिकटको मूल्य कति हुने भन्नेमा छलफल भैरहेको जानकारी दिनुभयो । उहाँले निजी विमान अवतरण गर्दा महङ्गो हुने भएका कारण सरकारी विमान चलाउनको लागि समय बढी लागेको पनि जानकारी दिनुभयो । 

पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद भीम रावल, राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवरलको पहलमा हवाई उडान भर्नको लागि नेपाल वायु सेवा निगमसँग सहमति भएको उहाँले जानकारी दिनुभयो । 

नगरप्रमुख कुँवरले स्थानीय सरकारको तर्फबाट नियमित विमान सञ्चालनको लागि पहल गर्ने पनि बताउनुभयो । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ । साँफेबगरबाट हवाई जहाज चलेपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । हवाई उडान नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिकालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । 

अमर कन्टस्ट्रक्सनले ११ करोड १७ लाख रुपैयाँको लागतमा विमानस्थल कालोपत्रे गर्ने काम सम्पन्न गरेको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया