टी–ट्वाण्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटको उपाधि जितेकाे नेपाली टाेली स्वदेश फर्कियाे

 असोज २७, २०७५ शनिबार १४:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।

शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन् । क्रिकेट समर्थकको उपस्थिति पनि शून्य जस्तै थियो ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरुले जोखिम लिन नचाहेकाले सिनियर ए टोली गएको बताउनुभयाे।

कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरुका लागि परीक्षण भएको धारणा राख । साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताउनुभयाे ।

कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए । 

‘ललितले उत्कृष्ट प्रदर्शन गरे, सन्दिपको छायामा परे पनि उसले धेरै राम्रो प्रदर्शन गरेको छ, यो अनुभव भविश्यका प्रतियोगिताहरुमा काम लाग्नेछ ।’ पारसले भने ।

मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।

एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् । अब यी ६ टोलीबीच एसिया छनोट हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया