सांसद शाहले फिर्ता गरे बुद्ध भारतमा जन्मिएको विवरण उल्लिखित ‘मायाको चिनो’

 असोज २७, २०७५ शनिबार १७:१६:३४ | गोपाल भण्डारी
unn.prixa.net

सडक परिवहन तथा राजमार्ग मन्त्रालय भारतले सांसद शाहलार्इ दिएकाे मायाकाे चिनाे

कपिलवस्तु – राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो चरित्र हत्या नगर्न कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद अभिषेक प्रताप शाहले आग्रह गर्नु भएको छ ।

कृष्णनगरमा रहेको शाह भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै सांसद शाहले आफूले गौतम बुद्ध भारतमा जन्मेको भन्ने विषय कहीँ कतै नबोलेको र त्यस विषयलाई प्रोत्साहन पुग्ने कुनै कार्य नगरेको स्पष्ट पार्नु भएको छ ।

भारतको सिद्धार्थनगर जिल्ला अन्र्तगत शोहरतगढको छतहरीमा आयोजित सडक शिलान्यास कार्यक्रममा छिमेकी जिल्लाको सांसदको नाताले आफू सहभागी भएको बताउँदै सांसद शाहले त्यस कार्यक्रममा सहभागी हुँदा लुम्बिनीको बारेमा कुनै चर्चा नभएको स्पष्ट पार्नु भएको छ ।  

‘भारतीय सरकारले निर्माण गर्न लागेको सीमावर्ती बढनीबाट शोहरतगढसम्मको ३५ किलोमिटर २ लेनको सडक निर्माण कार्यको उद्घाटन समारोहमा म पुगेको थिए’, सांसद शाहले भन्नुभयो, ‘त्यहाँ भगवान गौतम बुद्धको विषयमा कुनै चर्चासम्म भएको छैन । तर मेरो नाम जोडेर लुम्बिनी भारतमा पर्छ भन्ने खालको विषयलाई मैले बढावा दिएको भन्दै भ्रामक समाचार प्रकाशित भएको छ ।’

सांसद शाहलार्इ प्राप्त निमन्त्रणा पत्र

आफूलाई पठाइएको निमन्त्रणा कार्ड देखाउँदै सांसद शाहले भन्नुभयो, ‘त्यस निमन्त्रणा पत्र र सम्पन्न कार्यक्रममामा गौतम बुद्धको विषयमा कुनै कुरा उल्लेख गरिएको छैन । आफू केवल सडक निर्माण कार्यको उद्घाटन कार्यक्रममा सहभागी भएको हो ।’ 

सांसद शाह यतिमा मात्रै रोकिनु भएन । उहाँले अगाडि भन्नुभयो, ‘गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा नै पर्ने विषय हामी सबै नेपालीका लागि गौरवको विषय हो, तर मलाई लुम्बिनी भारतमा पर्छ भन्ने विषय बोलेको र त्यसको समर्थन गरेको भन्ने झुठो प्रचारसहित केही सञ्चार माध्ययममा समाचार प्रकाशित भयो, त्यस प्रति म निकै दुःखी छु ।’ 

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भगवान बुद्धको जन्म लुम्बिनी नेपालमा पर्छ भनेर विभिन्न समारोहमा बोलेका कुरालाई अब कसैले तोडमोड गर्न सक्दैन, उहाँले भन्नु भयो, ‘मलाई हाम्रो लुम्बिनी हाम्रो राष्ट्रिय सम्पदा हो । यसको विकास र प्रचार प्रसार गर्नुपर्छ भन्ने कुरा प्रष्टसँग थाहा छ । यो विषयमा मलाई कसैले सिकाउनु पर्दैन ।’

‘म सहभागी भएको कार्यक्रमको समाप्ति पछि आफूलाई दिइएको मायाको चिनोमा आफ्नो फोटो समेत प्रकाशित गरी आयोजक संस्थाले लुम्बिनी भारतमा पर्छ भनेर लेखेका रहेछन्, जुन विषय प्रति आफ्नो असहमति रहेको छ’, उहाँले भन्नुभयो । 

आफूले पाएको मायाको चिनोमा लेखिएको विषय आफूले खासै ख्याल नगरेको र घरमा आएर त्यो विषय आफूलाई थाहा भएपछि लेखिएको व्यहोरा सच्चाउन पत्रसहित आफूले प्राप्त गरेको मायाको चिनो आयोजक समिति सडक परिवहन तथा राजमार्ग मन्त्रालय भारत सरकारलाई फिर्ता पठाईसकेको स्पष्टिकरण छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • बि के दास

    Oct. 14, 2018, 8:16 p.m.

    ढिलै भए पनि वास्तविकतामा उभिनु भयाे । धन्यबाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया