अनुगमनका लागि नेपाली लुटिने सीमानाकामा पुगे कञ्चनपुरका सीडीओ

 असोज २७, २०७५ शनिबार १७:३३:५१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – भारतमा रोजगारी गरी घर फर्किने नेपालीबाट भारतीय पक्षले अवैध रुपमा रकम असुल गर्ने गरेको गुनासो बढेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सीमानाकामा अनुगमन गर्नुभएको छ ।

दसैँ–तिहारका लागि घर फर्किने नेपालीबाट भारतीय भन्सारले विभिन्न बाहानामा पैसा लिने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले शनिबार सीमानाकाको अनुगमन गरेको हो ।

अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय सीमा सुरक्षाले संयुक्त रुपमा स्थापना गरेको नागरिक सहायत कक्षको अनुगमन गर्दै भारताट नेपाल भित्रिँदै गरेका नेपाली कामदारसँग सीमानाकामा हुने गरेको ज्यादतीका बारेमा समेत सोधपुछ गर्नु भएको थियो ।

यस्तै भारतीय भन्सारका अधिकारीसँग अनौपरिक भेट गरी अधिकारीले भारतीय भन्सार नेपाली कामदारले भोग्नु परेको समस्याका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

भारतीय कष्टमका कष्टम सुपरिटेण्डेन्ट अजयकुमार सिन्हाले टाँगा, अटोलगायतका सवारीसाधनले भारतीय भन्सार, सुरक्षाकर्मी लगायतको नाममा ठगी गर्ने गरेको बताउनुभयो । उहाँले आफूहरुले सामानको चेकजाँच गर्ने गरेको बताउँदै नेपाली कामदारमाथि कुनै ज्यादती नगरेको स्पष्ट पार्नुभयो । 

उहाँले आफूहरुले यात्रुहरुसँग सोधपुछ गर्दा ठगिएको कुरा लुकाउने र नेपाल पुगेपछि मात्रै बताउने गरेकाले उल्लेख गर्नुभयो । गलत काम गर्ने व्यक्तिलाई कारबाही गर्न समस्या भएको बताउनुभयो । 

भारतीय भन्सारका अधिकारीसँगको छलफलपछि दुवै पक्षले नेपाल फर्किने यात्रुसँग संयुक्त रुपमा सोधपुछ गरेका थिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया