गुर्जा हिमाल दुर्घटना अपडेट: बेपत्ता आरोहीको शव देखिए पनि उद्धार हुन सकेन

 असोज २७, २०७५ शनिबार १९:३४:११ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा रहेको गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन । 

दक्ष जनशक्ति र उपकरण नहुँदा बेपत्ता पर्यटकको शव देखिएपनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
 
गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । बिहान हेलिकप्टरबाट हेर्दा ८ जनाको शव देखिए पनि स्थानीय वासिन्दा घटनास्थल पुगेर हेर्दा ७ जनाको मात्रै शव भेटिएको उहाँले बताउनुभयो ।

खोंच र अप्ठ्यारो भीरमा रहेका कारण उपकरणविना शव उठाउन सकिएको छैन । देखिएका शवमध्ये ४ जना कोरियन, २ जना नेपाली मात्रै चिनिएको छ भने एकजना चिन्न नसक्ने अवस्थामा रहेको जानकारी आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । 

सिम्रिक एअरको हेलिकप्टर पोखरा आएर बसेको हुँदा आइतबार बिहान मात्रै बेपत्ता शवको उद्धार गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । 

बेपत्ता भएकाहरुको खोजी गर्न गुर्जा गाउँबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए । गुर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पुग्न पाँच घण्टाको समय लाग्ने वडा अध्यक्ष छन्त्यालको भनाइ छ । 

उहाँले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन् भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । 

हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण गर्न नसकेपछि फर्किएको थियो । 

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको हो । 

अन्तिम अपडेट: कात्तिक २५, २०७५

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया