१५ वर्षदेखि परदेशीलाई फोनबाटै दसैँको आर्शिवाद

फोनबाटै आर्शिवाद दिएर दसैँ मनाइरहेका परिवारको कथा

 असोज २८, २०७५ आइतबार १०:३४:६ | सुजता सुनुवार

इलाम – यसपालीको दसैँ सुरु भइसक्यो । तर धनबहादुर र विष्णुमाया तामाङको घरमा यसपाली दसैँ नपस्ने निधो लागिसक्यो । अथवा आफन्त बिनाको खल्लो दसैँ हुने भयो । यो साल मात्रै होइन, तामाङ दम्पत्तिले छोराछोरीसित सँगै बसेर दसैँ नमनाएको यो साल १५ वर्ष हुन्छ । यसको कारण बन्याे वैदेशिक रोजगारी । 

इलामको सदरमुकामदेखि आधा घण्टा ओरालो झरेपछि एउटा सुन्दर गाउँ पुगिन्छ । गाउँमा चिटिक्कका साना साना घर छन् । दसैँमा घर सिँगारिएका छन् । 

इलाम नगरपालिका ८ महभीरमा पर्ने त्यही बस्तीमा धनबहादुर र विष्णुमाया बस्छन् । दसैँ लागेपनि उहाँहरुलाई आफ्नो घरसँगै गाउँ नै अँध्यारो लाग्छ । किन त, ६२ वर्षिया विष्णुमाया भन्नुहुन्छ, ‘चाडवाड भनेको घर भरीका सबै थाल बटुका जुठो बनाउने दिन हो । तर मेरा घरमा पाँच ओटा मात्रै थालबटुका जुठा हुन्छन् ।’

छोराछोरीसँग सँगै बसेर १५ वटा दसैँ मनाउन नपाएको खल्लो अनुभव छ उहाँसँग । चाडवाड आए गए, तर त्यसले तामाङ दम्पत्तिलाई छोएन । यसपाली पनि दसैँ तिहार मनाउने कुनै योजना छैन । हुन पनि छुटेका परिवारका सबै जना चाडवाडमा एकै ठाउँ नहुँदा योजना बनाइनुको अर्थ के नै रहन्छ र । 

२०५९ चैत २७ गते हवाइजहाज चढेर दुवई गएका एक मात्र छोरो दिपक चाडबाडका बेला फर्कन पाएका छैनन् । त्यही साल देखि तामाङ दम्पत्तिको घरमा खल्लो दसैँ आउन थालेको हो । दिपक तीन पटक बिदामा गाउँ त आए, तर चाडवाडका बेला फर्कन पाएनन् ।

‘यस्तो हुन थालेको यो वर्ष १५ औं पटक हुन्छ,’ औंला भाँच्दै ६१ वर्षे धनबहादुरले भन्नुभयो, ‘धेरै कमाउनु, रमाइलो गर्नु, दुःख बिराम नलागोस्, भनेर टिकाका दिन फोनबाटै आर्शिवाद दिन्छौं ।’ 

मिठो मसिनो पाक्दा बढी याद आउँछ 

सँगै बसौं, थोरै भए पनि मिठो मसिनो सँगै बसेर खाउँला भन्ने रहर विष्णुमाया र धनबहादुरलाई पनि नभएको कहाँ हो र । तर छोरोलाई यसो भन्न र नेपालमा गरिखाने ठाउँ देखाउन सकेका छैनन् उनीहरुले । ‘बाध्यताले आफू खुशी गर छोरा भन्न बाध्य छौं,’ धनबहादुरले भन्नुभयो । 

धनबहादुरका अनुसार दिपकले दुवईमा गिटी बनाउने मेसिन चलाउँछन् । कमाई थोरै छ । काम सजिलो भएकाले भिसा थप्दै अहिलेसम्म त्यही बसिरहेका छन् । 
हरेक वर्ष दसैँ तिहारमा छिमेकीले भन्छन्, ‘एक्लो छोरो पनि विदेश छ । नपठाए हुन्न र । गिटी कुटेर भएपनि सँगै बसेको राम्रो नि ।’ 

विष्णुमायाको रहर पनि त्यस्तै हो । तर आफ्नो पीर कहाँ राख्नु । छिमेकीलाई व्यथा किन सुनाउनु । यौटै कुरा विष्णुमायालाई छिमेकीले यसो भन्दा आलो घाउमा अझ नुनचुक छरे जस्तै हुन्छ । 

चाडपर्वको समयमा विष्णुमायाको मन नमज्जाले पिरोलिन्छ । ‘मिठोमसिनो खानेबेला छोरोकै धेरै बढी याद आउँछ,’ विष्णुमायाले भन्नुभयो । 

घरमा दिपकको श्रीमती सोनिका, एक छोरी र एक छोरो छन् । बुवाआमा गरी पाँच जनाको परिवार । ‘छोराछोरीकै भविष्यको लागि भए पनि विदेशमै बस्छु भन्दा नाईं भन्न सकिन,’ श्रीमती सोनिकाले भन्नुभयो । बिहे गरेकै साल दिपक विदेश गएका हुन् ।

‘अहिलेसम्म सँगै बसेर चाडपर्वमा रमाइलो गरेको छैन,’  यसै हप्ता श्रीमानसँग भएको कुराकानी सम्झँदै सोनिकाले भन्नुभयो, ‘घर परिवार, बुवाआमाको राम्रोसँग ख्याल गर्नु भन्नु भएको छ ।’

अन्तिम अपडेट: असोज ३१, २०७५

सुजता सुनुवार

इलामका उज्यालो सहकर्मी सुजता सुनुवारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया