दीपाश्रीको ह्याट्रिक : लगातार ३ सुपरहिट फिल्म

 असोज २८, २०७५ आइतबार १६:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली सिनेमा उद्योग सानो छ । यहाँ एउटा सिनेमा निर्माण गरेपछि निर्मातालाई त्यसको लगानी उठाउनै मुश्किल पर्छ । नेपालमा कमै मात्र त्यस्ता निर्माता होलान् जसले सिनेमाको लगानी उठाउन सकेका छन् । 

तर पछिल्लो समय यसको विकासक्रम बढ्दै गएको छ । यहाँ विदेशी सिनेमाको ठाउँ नेपाली सिनेमाले नै लिन थालेका छन् । हिन्दी सिनेमामा देखिने गरेको नेपाली दर्शकको भिड नेपाली सिनेमामा देखिन थालेको छ । यसले निर्मातालाई केही राहत भने दिन थालेको छ । 

यही कारण पनि पछिल्लो समय निर्माता तथा निर्देशकले सिनेमामा विशेष मिहिनत गर्न थालेका छन् । मिहिनेत गर्नेमध्ये केहीले पूर्ण रुपमा सफलता पाएका छन् भने केहीले सन्तोषजनक सफलता र खुशी हात पारेका छन् ।

तर नेपाली सिनेमाकै इतिहासमा हास्यकलाकारको टिम एक मात्र त्यस्तो टिम बनेको छ जसले लगातार पाँच पटक सफलता पायो । 

सिनेमा ‘६ एकान ६’ बाट सुरु भएको यो टिमको यात्रा अहिले ‘छक्का पञ्जा ३’ सम्म आइपुगेको छ । यो टिमले निर्माण गरेका पाँचवटै सिनेमा हिट भए । 

सिनेमा कस्तो बनाउने भन्ने कुरा निर्देशकको हातमा हुन्छ । कथालाई कसरी प्रस्तुत गर्ने भन्ने जिम्मेवारी निर्देशकले पाएको हुन्छ । यदि निर्देशकले कथामा खेल्न सकेन भने कथा राम्रो भएर पनि सिनेमा राम्रो बन्न सक्दैन । हास्यकलाकार टिमको सफलतामा कायापलट तब भयो जब कलाकार दीपाश्री निरौला निर्देशकको रुपमा मैदानमा उत्रिइन् । उनले निर्देशन गरेको छक्का पञ्जाले नेपाली सिनेमाको इतिहासमा केही त्यस्ता रेकर्डहरु राख्यो जुन त्यसअघि कुनै पनि सिनेमाले राख्न सकेका थिएनन् । 

छक्का पञ्जाले मल्टिप्लेक्समा ५१ दिन मनायो । नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै १७ करोडको कारोबार गर्यो । महिला निर्देशकको हकमा पहिलो हिट सिनेमा बन्यो । यस्ता अन्य केही रेकर्डहरु पनि यो सिनेमाले आफ्नो नाममा गर्यो । यो सिनेमा उत्कृष्ट बन्नुमा निर्देशक दीपाश्री निरौलाको मुख्य भूमिका थियो । 

कलाकारितामा २५ वर्ष लामो अनुभव संगालेर निर्देशन गरेको पहिलो सिनेमाले नै ठूलो सफलता पाएपछि दीपाले निर्देशनलाई निरन्तरता दिने सोच राखिन् र यही सिनेमाको सिक्वेल अर्थात ‘छक्का पञ्जा २’ निर्देशन गरिन् । 

यो सिनेमाले पनि आक्रामक कारोबार गर्यो । छक्का पञ्जाको तुलनामा कम कारोबार गरेको भए पनि यो सिनेमाले १४ करोडको कारोबार गर्दै सिनेमा उद्योगमा अर्को रेकर्ड कायम गर्यो ।

यो दीपाश्रीको निर्देशनको दोस्रो ठूलो सफलता बन्यो । उनको सफलता यतिमात्रै सीमित रहेन । सिनेमा ‘छक्का पञ्जा ३’ सम्म आइपुग्दा पनि कायमै रहेको छ । 

गएको बुधबार अर्थात घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा ३’ ले ४ दिनमा ४ करोडको कारोबार गरिसकेको छ । सिनेमाका समीक्षकहरुले यो सिनेमा ‘छक्का पञ्जा’  र ‘छक्का पञ्जा २’ भन्दा उत्कृष्ट रहेको प्रतिकृया दिएका छन् । 

त्यस्तै दर्शकले पनि सिनेमामा सही विषय उठाएको र निर्देशकको काम उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । अहिले सिनेमा हेर्न आउने दर्शकको चाप हेर्दा यो सिनेमाले अब केही दिन हैन महिनौँ हलमा दर्शकको साथ पाउने देखिन्छ । 

यस्तो प्रतिकृया र दर्शकको साथ पाउनु भनेको दीपाश्रीका लागि र समग्र टिमकै लागि खुशीको कुरा हो । यस्ता कुराहरुले यो टिमलाई थप उर्जा र हौसला दिएको छ ।
लगातारका सफलता हेर्ने हो भने यो टिमले नै सफलतामा ह्याट्रिक गरेको छ । निर्देशनमा हिसाबमा पनि निर्देशक दीपाश्री निरौलाले ह्याट्रिक मारेकी छिन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया