१३ वर्षपछि साँफेबगर विमानस्थलमा पुग्यो विमान

 असोज २८, २०७५ आइतबार १७:५९:३२ | चन्द्र थापा
unn.prixa.net

अछाम – १३ वर्षपछि अछामको साँफेबगर विमानस्थलमा आइतबार नेपाल वायु सेवा निगमको विमानले सफल उडान भरेको छ ।

विमानस्थल बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नेपाल वायु सेवा निगमको विमान उडान भरैसँगै यस क्षेत्रका स्थानीयबासिन्दाले खुशी व्यक्त गरेका छन् । इफेक्ट हवाई परीक्षण भएको साढे ४ महिनापछि नेपाल वायु सेवा निगमको ‘९ एन एबिटी’ विमानले सफल परीक्षण गरेको छ ।

साँफे–नेपालगञ्ज हवाइजहाज उड्ने भएपछि स्थानीयमा उत्साह थपिएको छ । हवाइजाहाज मार्फत चाँडो आवातजावत गर्न पाएकोमा यात्रुले खुशी व्यक्त गरेका छन् । नियमित प्लेन चल्यो भने बिरामीलाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पुर्याउन पाउने स्थानीयबासिन्दाले अपेक्षा गरेका छन् ।

हवाई यातायातले पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । नेपाल वायु सेवा निगम विमानका क्याप्टेन पेम्बा शेर्पाले साँफेबगरमा सफल रुपमा विमान अवतरण गराउनुभएको थियो ।

पहिलो उडानमा १८ जना यात्रु साँफेबगर पुगेका थिए भने साँफेबगरबाट १२ जना यात्रु नेपालगञ्ज गएका छन् ।  उडान सुरु गर्न सामान्य टावरमा कर्मचारीको अभावबाहेक कुनै समस्या नरहेको बताउँदै क्याप्टेन पेम्बा शेर्पाले सरोकारवाला पक्षले पहल गरेमा साँफेबगर विमानस्थलमा उडान सेवा सञ्चालन गर्न सम्भव रहेको बताउनुभयो ।

दसैँपछि टावरमा कर्मचारीको पदपूर्तिसँगै प्रदेशको राजधानी धनगढीबाट समेत उडान भर्ने तयारी गरिएको साँफेबगर नगरपालिकाले जनाएको छ । हप्ताको दुई दिन आइतबार र बुधबार उडान भर्न सुरु गरिएको भए पनि उडान निरन्तरतको लागि राजनीति दलसँगै संघ र प्रदेश सरकारले सहयोग गर्नु पर्ने नगर प्रमुख कुलबहादुर कुँवरको भनाई रहेको छ । 

साँफेबगरबाट हवाइ जहाज चलेसँगै अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया