वाह ! सुदूरपश्चिम

 असोज २९, २०७५ सोमबार १०:४२:१ | निर्मला खडायत
unn.prixa.net

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरु छन्, जुन ठाउँले पर्यटकहरुको मन लोभ्याउँछन् । दसैँको बेला यहाँका धेरै ठाउँ घुम्नलायक छन् । स्वदेशमै कामको सिलसिलामा घर बाहिर रहेका र विदेशमा भएकाहरु पनि दसैँमा घर–परिवारसँग भेटघाट गर्न फर्कन्छन । दसैँ परिवारका साथ रमाउने, खाने र घुम्ने समय पनि हो । 

सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेस र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरु धेरैै ठाउँहरु छन् । यो सिजनमा सुदूरपश्चिम प्रदेशमा घुम्नका लागि उपयुक्त केही गन्तव्य यस्ता छन् :

कैलाली 

नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडाैंसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो । यो पुलको लम्बाई पाँचसय मिटर र चौडाई १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्याफ्टिङको आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् । 

राजकाँडा 

कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका ७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्दै गइरहेको छ । 

टीकापुर पार्क 

स्वीट्जरल्याण्डको लक्साल शहरको नक्सा अनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ बिगाहामा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरु पाइन्छन् । यो पार्क विशेषगरी पिकनिक खान आउने पर्यटकहरुका लागि प्रमुख रोजाईमा पर्ने गरेको छ । यद्यपि वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ । 

काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ । काठमाडौंबाट टीकापुरसम्म बस चल्छन् । 

प्रकाशेश्वर महादेव मन्दिर 

कैलालीको टीकापुर नगरपालिका स्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ । पूर्वतर्फ मुख फर्किएको सबभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्ग भएको  यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ । 

घोडाघोडी ताल 

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरु छन ।

करिब दुईसय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । यो ताल पुग्नका लागि धनगढीबाट ६० किमी पूर्व यात्रा तय गर्नु पर्दछ । यहाँ पुग्न धनगढी बाट १ सय ५० रुपैयाँ गाडीभाडा लाग्छ । 

कैलालीको राणाकालीन दरबार

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो । यो जीर्ण अवस्थामा छ । तर विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्व भने कम छैन । 

प्राकृतिक रूपले तराई र लेकको विशेषता एउटै गाविसमा पाइने खैरालामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिने गरेका छन् ।  चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ । राणाहरुले दरबार बनाउन प्रयोग गरेको ईंटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ । 

तालतलैयाहरु 

कैलालीमा रहेका साना ठूला गरी एकसय ९३ ताल तलैया पनि यहाँका प्रमुख आकर्षण हुन् ।

तिनमा पनि पूर्व पश्चिम राजमार्गको राजीपुर बजारदेखि ६ किलोमिटर दक्षिणतर्फ पर्ने कोइलाही कोइलहुवा ताल, पूर्व पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारदेखि ७ किलोमिटर दक्षिणतर्फ पर्ने जोगनिया ताल, धनगढी बजारदेखि १२ किलोमिटर पूर्वतर्फ रहेको धनगढी उपमहानगरपालिका १ मा रहेको मनमोहक महादेवा ताल, धनगढी बजार क्षेत्रदेखि ५ किलोमिटर पूर्वतर्फको धनगढी उपमहानगरपालिका ७ स्थित जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाई बनेका छन् । 

भादा होमस्टे 

थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टे गाउँ तथा थारु समुदायका जनजीवन लगायत विशेष खानेकुराका परिकारहरुले पर्यटकको मन लोभ्याउने गर्छ । धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर पूर्व–पश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट सात किलोमिटर र झिलबाट १२ किमिमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ । 

गोदावरी

कैलाली जिल्लामा रहेको गोदावरीमा पनि नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरुको घुईंचो लाग्छ । अत्तरियाभन्दा सात किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंङवली हनुमानको मूर्ति रहेको छ ।  

हनुमान मन्दिर सेवा समिति कैलालीको पहलमा मूर्तिकार प्रभुराम महराले निर्माण गरेको ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति हो । धनगढीबाट २० किलोमिटर उत्तरतर्फ गोदावरीस्थित हनुमान मूर्ति पुग्न सकिन्छ । यहाँ जान ६० रुपैयाँ भाडा लाग्ने गर्छ । 

खानीडाँडा

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रुपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरु आउने गर्छन् ।  चुरे श्रृँखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । यहाँ ब्राम्हण, क्षेत्री, जनजातिको बसोबास रहेको छ । यहाँको स्थानिय परिकार त्यसमा पनि लोकल कुखुरा यहा निकै  प्रचलित छ । 

यसका साथै कैलाली जिल्लामा रहेको बेहडा बाबा मन्दिर, नवदुर्गा मन्दिर, नैनादेवी भगवती मन्दिर, वनदेवी भगवती मन्दिर, रामजानकी मन्दिर, नेपालको सबैभन्दा अग्लो १ सय ८ फिट उचाईको शिवलिंग भएको शिवपुरी धाम, कम्पासेधुरा डाँडा ः चुरे गाउँपालिका क्षेत्रको यो ठाउँ जहाँबाट कैलालीका बिभिन्न स्थानहरुका साथै उत्रर तर्फका अपी, सैपाल लगायतका हिमालहरुको दृश्य देख्न सकिनछ । यो स्थान धनगढीदेखि गोदावरी हुँदै उत्तरतर्फ करिब ४३ किलोमिटरमा पर्छ । महाशक्ति स्वरुपा देवी आश्रम पनि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि घुम्न लायक ठाउँहरु हुन । 

कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रसस्त देख्न पाइन्छ । दिउँसो तीन बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र साना–ठूला धेरै फाँटा छन् । 

हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जन बढी तालहरू छन् । यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, सिकारीताल, सलगौडी ताल र बाबाताल हुन् । तीनसय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सीमसारक्षेत्र रहेको छ । जुन विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रुपमा रहेको छ । 

१०  हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान पनि हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जंगल सफारीका लागि उत्कृष्ट गन्तव्यस्थल हो । काठमाडौं–महेन्द्रनगर सातसय किमि १८ घन्टाको बस यात्रा तथा काठमाडौं–धनगढी एक घन्टा हवाई यात्रा पश्चात धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दुरी तय गर्नुपर्छ । 

धनगढीबाट महेन्द्रनगरका लागि सार्वजनिक यातायातका साधनहरु पाइन्छन । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारी साधनहरु भाडामा लिएर जान सकिन्छ । यहाँ पुग्न तीन सय रुपैयाँ भाडा लाग्छ । 

लिंगा 

कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजिबाट करिब ५ किलोमिटर उत्तर तर्फ जानुपर्छ । शिवलिंगको स्वरुप जस्तै पहाडका डाँडा भएकोले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरु यहाँ जाने गरेका छन ।

बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्री र असोजमा नवरात्री मेला लाग्ने बेला झनै भिड लाग्ने गर्छ । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ गयाैँभने बेतकोट तालको अवलोकन गर्न सकिन्छ । यो ताल ठूलो क्षेत्रमा फैलिएर रहेको छ । 

बेतकोट ताल 

साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेतकोटमा पिकनिक खान आउनेहरुको पनि भिड रहेको हुन्छ । कञ्चनपुरको दैजिबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाँदा अटो रिजर्भ गरेर पर्यटकहरु जाने गर्छन । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न धनगढीबाट डेढसय रुपैयाँ भाडा लाग्ने गर्दछ । 

दोधारा चाँदनी

कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल पनि नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । जसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरुको भिड हुन्छ । गर्मी मौसममा महाकाली छेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरु त्यहाँ जाने गर्छन् । दोधरा चाँदनी पुग्न धनगढीबाट ५५ किलोमिटर पश्चिम महेन्द्रनगर बजारसम्म साझा सवारी र त्यसपछि साना सवारी र अटोको ब्यवस्था छ । 

यस बाहेक कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरीको दर्शनगरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुईंचो लाग्छ । विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर र पुल, झिलमिलिया ताल, महाराज गुरु आउनु भएको ठाउँ भम्केनी धाम लगायतका पर्यटकको मनै लोभ्याउने ठाउँहरु कञ्चनपुरमा रहेका छन् ।

डडेल्धुरा

धनगढीबाट डडेल्धुरा १ सय २८ किलोमिटर पर्छ । यो ठाउँ प्रायः सबै पर्यटकहरुले रुचाएका छन् । जहाँ प्रकृतिको सुन्दर रुप संगै ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । डडेल्धुराको प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर हुन् । 

डडेल्धुरा पुग्नेहरुको पहिलो रोजाई उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरादेखि चार किलोमिटर पश्चिमपट्टि रहेको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेलधुरा, बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा रहेको छ । 

डडेल्धुराकै अमरगढी किल्ला 

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकहरुको घुईंचो लाग्दछ ।

अजयमेरुकोट     

डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेको अजयमेरुकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाट गाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ ।

रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षण हो । डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ यो ठाउँ पर्छ । दुई घण्टा पैदल हिँडेपछि अजयमेरुकोट दरबार पुगिन्छ । तर हाल भने साझा सवारी साधन पनि पाइन्छ । 

घटाल स्थान 

डडेल्धुराबाट ४ किमि दक्षिणमा अमरगढी नगरपालिकामा पर्ने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला ठूलो मेला लाग्ने गर्छ । 

आली ताल : आलीताल गाउँपालिकामा पर्ने आली ताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरुले रुचाएका सुन्दर ठाउँहरु हुन् । जहाँ धार्मिक महत्वका सँगसँगै प्रकृतिको सुन्दर, रमणीय रुप देख्न सकिन्छ ।

डोटी

डडेल्धुराबाट ६० किलोमिटरमा उत्तरतर्फ पर्ने डोटीमा घुम्न लायक ठाउँहरुमध्ये प्रसिद्ध तीर्थस्थलहरू हुन् : जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र  डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा भनिन्छ । 

र्‍याफ्टिङ 

सेती नदीमा हुने र्याफ्टिङ्ले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ । 

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रुपमा रहेको छ । यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीन कालदेखि हुँदै आएको छ । यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरुको घुईंचो लाग्ने गरेको छ ।

बैतडी

डडेल्धुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । यहाँ रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ हुन् । 

यसमा पनि जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकार जस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्घ मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाई बनेको छ । । यो प्राकृतिक, धार्मिक, साँस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय रहेको छ ।  मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात एक दिनको पैदल दूरीमा पर्दछ । यो मन्दिर समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाईमा अवस्थित छ । यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ । यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरुको घुईंचो लाग्ने गर्दछ ।

निङ्गलासैनी 

निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूर पश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँ र चैते दसैँमा राँगा र बोकाको बलि दिने चलन छ । यस मन्दिरमा टाढा टाढा बाट भक्तजन र पर्यटकहरु आउने गर्छन् । पाताल भुमेश्वर जस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् । 

खप्तड

पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरुको मन प्रफुल्ल हुन्छ । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।  

समुद्री सतहबाट दुईहजार सातसयदेखि तीनहजार दुईसय २७ मिटरसम्मको उचाइमा दुईसय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान हो । चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रङ्गिविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो । 

यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौ खोला, त्रिवेणी  सीतापाइला मन्दिर, त्रिवेणी धाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ । 

धनगढीबाट डोटीको सिलगढीसम्म सार्वजनिक यातायातका साधन पाइन्छ । सिलगढी झिकरानासम्म भाडाको गाडी र त्यहाँबाट एक दिनको पैदल हिँडेपछि खप्तड पाटनमा पुगिन्छ । 

अछाम

रामारोशन 

यो क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा रहेका बाह्रवटा ताल र अठारवटा ठूलाठूला चौरले सबै पर्यटकहरुको मन लोभ्याउँछ । । प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।  

रामारोशनमा गुफा र झरना छन् । यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन् । जैविक विविधतामात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा । रामारोशनमा घुम्ने सिजन असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म बढि उपयुक्त मानिन्छ ।  यहाँ पुग्न, काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा तय गरि तिमल्सैना सडकबाट ४२ किलोमिटर कच्ची सडक यात्रा गर्नुपर्छ ।

बाजुरा

बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो । बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्न लायक ठाउँ हुन् ।

बडिमालिका

भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् । 

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न बिशेष समयको पर्खाई गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । 

दार्चुला 

अपि बेस क्याम्प

दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई लगायतका हिउँचुली लहरै रहेका छन । चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ । चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ । असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ । त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन् । 

डाँफे, मुनाल लगायतका चरा पनि देख्न सकिन्छ । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यस पछि सात दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ । 

उँकु दरबार 

पश्चिममा डोटी राज्यको दबदबा रहेका बेला दार्चुलाको महाकाली किनारमा स्थित सुरम्य फाँटबाट महाकाली पारीको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरुको दरबार हो । 

तपोवन

प्राचीन समयमा ऋषिमुनीहरुले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो– तपोवन । 

शैल्य शिखर मालिकार्जुन धाम

राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान हो भने शैल्यशिखर ब्रतालुहरुकका लागि तपोभूमीका रुपमा वर्णित छ । यहाँ कात्तिक र असार शुक्ल चतुदर्शी गरी वर्षमा दुईपल्ट ठूलो मेला लाग्दछ । जहाँ नेपालका मात्र होइन, भारतीय तीर्थालुसमेत ठूलो संख्यामा आउँछन् ।

गोकुलेश्वर

दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको अर्काे परिचय हो– धार्मिक तथा पर्यटकीय महत्व । यहाँ विभिन्न देवीदेवताका मन्दिरका साथै रमणीय प्राकृतिक स्थलहरु छन् । 

व्यास उपत्यका

नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलको पश्चिमोत्तर कुनामा पर्छ । कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो । उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्काे आकर्षण हो । 

कालापानी

व्यास उपत्यकालाई पूर्वदक्षिणमा पारेर केही किलोटिर उकालो चढेपछि आउँछ, नेपालकै चर्चित ठाउँ कालापानी । सबै नेपालीले सुनेको नाम कालापानी पुग्न भने निकै कष्टकर छ । नेपालतिर सडक सुविधा नभएकाले व्यास उपत्यका र कालापानी पुग्न भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतले मिचेको नेपाली भूमीमा पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यताले राष्ट्रवादको नारा र धरातलीय यथार्थलाई बुझाउन मद्दत गर्दछ । 

घुसा–खण्डेश्वरी

उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन स्थल हुन् । यहाँ पुग्नका लागि गोकुलेश्वरबाट चौलानीको किनारैकिनार उकालो लाग्नुपर्छ, जुन यात्रा बेनीबाट मुस्ताङ जानेजस्तै रोमाञ्चक र आनन्दायक हुन्छ । 

यस्ता सयौं धार्मिक स्थल सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा छन् । यतिमात्र नभई यहाँको डेउडा, दसैँ, होली, गौरा, फाग, धुमारी, चैत, भैली, थारू समुदायको माघी, सखिया नाचलगायतका संस्कृतिहरू सुदूरपश्चिममा विद्यमान छन् । त्यस्तै यहाँका नदीमा  र्‍याप्टिङ, डुंगा दौड तथा जलयात्राकोसमेत आनन्द लिन सकिन्छ । 


 

अन्तिम अपडेट: कात्तिक २६, २०७५

निर्मला खडायत

उज्यालाेका कैलाली सहकर्मी खडायतलार्इ फेसबुकमा भेट्न सकिन्छ ।

2 Comments

  • Nabin bhatta

    Oct. 17, 2018, 2:31 p.m.

    🤩🤩🤩😍

  • bijaya timilsina

    Oct. 15, 2018, 1:58 p.m.

    सुदुर पश्चिमको निकै नै राम्रो चिनारी पढ्ने मौका पायौ।।साच्चै सुदुर पश्चिम त प्राकृतिक रुपमा धनि पो रहेछ,,।फेरि फेरि पनि यस्तै यस्तगै सामग्रि पढ्ने मौका पाऊ है!!!!!

तपाईको प्रतिक्रिया