श्रीपेच सार्वजनिक, अब सर्वसाधारणले पनि हेर्न पाउने

 असोज २९, २०७५ सोमबार १२:३८:५१ | मदन पौड्याल
unn.prixa.net

श्रीपेच साच्चिकै कस्तो होला ? फोटोमा देखिएजस्तो होला या नहोला ? अब यसरी कल्पना गर्नु नपर्ने भएको छ । 

काठमाडौंको नारायणहिटी दरबार संग्रहालयभित्र बन्द अवस्थामा रहेको श्रीपेचको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । 
उहाँले श्रीपेचको पहिलो अवलोकन गर्नुभएको हो । उहाँसँगै उद्घाटन समारोहमा सहभागिले पनि श्रीपेच अवलोकन गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेच लगायत महत्वपूर्ण सामग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो । पूर्वराजाले नारायणहिटी दरबार छाडेको एक दशकपछि सर्वसाधारणका लागि श्रीपेच खुला गरिएको हो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन गर्न समिति गठन भएको थियो । ‘श्रीपेच प्रदर्शनीसँगै सर्वसाधारणका लागि पनि खुला भएको छ,’ पुरातत्व विभागका महानिर्देशक एवं अवलोकन समितिका संयोजक दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

२०६५ साल फागुन १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी दरबार संग्रहालयको उद्घाटन गर्नुभएको थियो । तर श्रीपेच भने प्रदर्शनीमा राखिएको थिएन । 

संग्रहालयका रूपमा नारायणहिटी दरबार खुला भएपछि अवलोकनकर्ताले श्रीपेच पनि हेर्न खोजेपछि प्रदर्शन गरिएको हो । यो सँगै एक दशक देखिको श्रीपेच हेर्ने आम नेपालीको चाहना पनि पूरा हुने भएको हो । 

सुरक्षा चुनौती देखाउँदै अहिलेसम्म श्रीपेच खुला प्रदर्शन गरिएको थिएन । नारायणहिटी दरबार संग्रहालयभित्रको दराजमा थन्काइएको श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गरिएको पनि संयोजक दाहालले बताउनुभयो ।

पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेच लगायतका सामग्री २०६५ साल जेठ २९ गते सैलुनमा राखिएको थियो । संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, ढाल तरबार, रानीले लगाउने मुकुट, झारी, दुईवटा चमर, दुईवटा मेस सहितका एक दर्जन सामग्री राखिएको छ । 

श्रीपेचबाहेक राजदण्ड, संसदीय व्यवस्थाकालमा राजाको प्रतिनिधिका रूपमा गणतन्त्र स्थापना अघि संसदमा लगिने मेस लगायतका सामग्री पनि छन् । श्रीपेचमा हीरामोती, माणिक, नवरत्न, सुन, कल्की जडिएको गरिएको छ । 

राजदण्ड र चमरमा पनि सुनै सुन छ । सैलुन कक्षमा राखिएको श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा छन् । टायरामा २ हजार ७ सय टुक्रा । श्रीपेचको पछाडि झुन्डिएको कल्की चाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेको पनि पुरातत्व विभागका महानिर्देशक दाहालले बताउनुभयो । 

सुरक्षा निकायले श्रीपेचको सुरक्षा अवस्थाको चौबीसै घण्टा अवलोकन गर्ने छ । दाहालका अनुसार भित्री सुरक्षा नेपाली सेना र बाहिरी सुरक्षा नेपाल प्रहरीले गर्नेछन् । श्रीपेच लगायत सामग्री राख्ने स्थान वरपर चार दर्जनभन्दा बढी सीसीटीभी क्यामरा जडान गरिएको छ । 

सबै तयारी पूरा गरेर सोमबार बिहान प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै श्रीपेच अवलोकनका लागि खुला गरिएको हो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया