स्थानीयको विरोधपछि हट्यो सडक बत्ती र दमकलको सेवा शुल्क

 असोज ३०, २०७५ मंगलबार ९:४३:२९ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाम नगरपालिकाले सडक बत्ती र दमकल प्रयोग गरे वापत लिँदै आएको सेवा शुल्क अबदेखि नलिने भएको छ । स्थानीयको विरोधपछि नगरपालिकाले सडक बत्ती र दमकलको सेवा शुल्क खारेज गरेको हो । 

यस्तै नगरपालिकाले विभिन्न शीर्षकमा लिँदै आएको करको दर पनि घटाएको छ । नगर कार्यपालिकाको बैठकबाट करमा पुनरावलोकन गरिएको नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिनु भयो । 

करको पुनरावलोकन गर्न बनाइएको समितिले प्रतिबेदन बुझाएपछि बैठक बसेर विभिन्न शीर्षकका करको दर घटाइएको उहाँले बताउनुभयो । नगरपालिकाले एकिकृत सम्पत्ति करमा सडक बत्ती र व्यवसाय करमा दमकलबाट लिँदै आएको २०/२० प्रतिशत सेवा शुल्क खारेज गरेको छ । भूमिकरमा समेत फेरबदल गरेको नगरपालिकाले जनाएको छ । 

यस्तै इलामनगरपालिका भित्रका स्वास्थ्य संस्थामा प्रसुती गराउन आउने नगरभित्रका महिलाहरुलाई यातायात खर्च बापत एक हजार रुपैंयाँ उपलब्ध गराईने निर्णय पनि बैठकले गरेको छ ।  

सरकारले स्वास्थ्य संस्थामा प्रसुती गराउदा दुई हजार रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आइरहेको समयमा इलामनगरपालिकाले नगरबासिका लागि थप एक हजार रुपैंयाँ दिने निर्णय गरेको हो । नगर कार्यापालिकाले गरेको निर्णयहरु आउँदो कात्तिक १ गतेबाट लागू हुने नगरपालिकाका मेयर बस्नेतले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया