चेतन भगतलाई समेत छोडेन मी टू अभियानले, लेखिकालार्इ गरेका थिए याैन दुर्व्यवहार

 असोज ३०, २०७५ मंगलबार १२:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा मी टू अभियान चल्दै गर्दा कतिपय निर्माता, निर्देशक तथा लेखकलाई यौन शोषणको आरोप लागिसकेको छ । यसमा लेखक चेतन भगतको नाम पनि जोडिएको छ ।

हालै भारतकी एक लेखिका तथा पत्रकार इरा त्रिवेदीले एउटा लेखमा आफ्ना कुराहरु राख्दै  चेतन भगत र सुहेल सेठमाथि यौन शोषणको आरोप लगाएकी छिन् ।

करिब १० वर्ष पहिले चेथन भगतसँग त्रिवेदीको भेट जयपुर लिटरेचर फेस्टिभलमा भएको थियो । कार्यक्रमपछि भगतले उनलार्इ कुनै पुस्तक विमोचन समारोहमा पुरुषहरुले नजिक हुने प्रयास गरे भने त्यतिबेला तिमी के गर्छौ भनेर सोधेका थिए । त्यसमा उनले लेखेकी छिन् ,‘मैले भनेकी थिएँ, म उसलाई भन्नेछु कि यदि उसले मेरो सयवटा किताब किन्यो भने म उसलाई किस गर्नेछु ।’

त्यसकाे केही हप्तापछि भगतले इरालाई दिल्लीको इण्डिया इण्टरनेशनल सेण्टरमा चिया खाने निम्तो दिए । इराकाे विचारमा यो दुइजना पुस्तक लेखकहरु भेट गर्न खासै नराम्रो ठाउँ होइन । चिया खाइसकेपछि आफ्नो अटोग्राफसहितको उपन्यास दिनको लागि उनले इरालाइ अाफ्नाे कोठामा जान आग्रह गरे । इराले लेखमा लेखेकी  छिन्, ‘म उनको कोठामा छिर्नेबित्तिकै चेतनले मेरो ओठमा चुम्बन गर्ने प्रयास गरे ।’

उनले लेखेकी छिन्, ‘म पर हट्ने कोशिस गरें र उनलाई के गर्न खोजेको भनेर सोधें । उनले कुनै संकोच नमानी अधिकार जमाउँदै मेरो किताबको सय प्रति किनेर पुणेको एउटा पुस्तकालयलाई दान दिएको भन्दै यस हिसाबले एक चुम्बन उनको हक नै हुने बताए ।’ 

‘मलाई भित्रैदेखि डर लागिरहेको थियो । यो एक विवाहित र बच्चाको बाबु भैसकेको व्यक्तिको व्यवहार थियो जोसँग मेरो भेट लिटरेचर फेस्टिभलमा भएको थियो । चेतन भगतको यो भड्किलो खालको व्यवहार थियो । त्यसको केही समयपछि चेतन भगतको अझ घिनलाग्दो व्यवहार देखा पर्यो । त्यतिबेल भगत मेरी एउटी साथीसँग विदेशको कुनै समारोहमा थिए । गुडिरहेको बसमा भगतले उनलाई अँठ्याए र नराम्रो तरिकाले शरीरमा हात लगाउन खोजे ।’

उनले अगाडि लेखेकी छिन्,‘जब मलाई यो सबै कुरा थाहा भयो तब मैले चेतनलाई यसका बारेमा सोधेँ । त्यसको जवाफमा चेतनले मलाई उल्टै मेरी साथीको चरित्र खराब भएको र आफूले उसलाई होइन बरु उसैले आफूसँग भेट्न चाहेको बताए ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया