जलविद्युत आयोजना पहिरोले पुरियो, दसैंका बेला गाउँमा अन्धकार

 असोज ३०, २०७५ मंगलबार १५:२७:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह माथिबाट खसेको पहिरोले पुरिएको छ।

मंगलबार बिहान माथिबाट आएको पहिरोले आयोजनामा ठूलो क्षति पुर्‍याएको छ।  पहिरोमा परी स्थानीय २० वर्षीया जेनुका गौतम घाइते भएकी छन् । घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको वडा अध्यक्ष खर्कसिङ थापाले बताउनु भयो। 

पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले जानकारी दिनुभयो। पहिरो झरेलगत्तै स्थानीयहरु विद्युत आयोजनाको मुख्य मेशिन जोगाउने प्रयासमा लागेका छन्। पहिरोमा पुरिएको मेशिन जोगाउने प्रयास भइरहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो।

४ वर्षअघि निर्माण गरिएको आयोजनाबाट ९ सयभन्दा बढी उपभोक्ता लाभान्वित छन्। ९० किलो वाट उत्पादन क्षमताको विद्युत आयोजनाबाट रुकुमपूर्व सिस्ने गाउँपालिकाका ७ र ८ वडा तथा रुकुम पश्चिम मुसीकोट नगरपालिकाको १ नम्वर वडाको छिङ बस्तीमा बत्ती बलेको थियो।

पहिरोपछि ९ सय घरधुरी दसैंको बेला अन्धकारमय भएकाे छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया