कलाकार भनेको ‘पब्लिक सर्भेन्ट’ हो: शिव परियार

 असोज ३०, २०७५ मंगलबार १५:३५:३१ | दिलिप कुमार ज्याेति
unn.prixa.net

 प्रविधिका नविनतम आयामले संगीतमा नौला नौला प्रयोग हुन थालेका छन् । ‘एनालग सिस्टम’ बाट ‘डिजिटल’सम्म आइपुग्दा संगीत र गायकीका कतिपय कमीकमजोरीलाईसमेत परिमार्जन गर्न सकिने ‘सफ्टवेयर’ निर्माण भैसकेका छन् । 

अहिले सुर, तालको ज्ञान नभएका र गीत संगीतमा साधारण रुचि भएकाले पनि गीत गाउन सक्ने अवस्था प्रबिधिले सिर्जना गरिदिएको छ । 

प्रविधिको यो फड्कोले संख्यात्मक रुपमा गीत, संगीतको वृद्धि गरे पनि गुणात्मक रुपमा भने केही ह्रास आएको बुझाई संगीत समीक्षकदेखि संगीतकर्मीहरुको रहेको छ ।

जीवनको अमूल्य दुई दशक संगीतमा समर्पण गरिसकेका र सुगम गायनको मूलधारमा रहि यसलाई प्रतिनिधित्व गर्दै आएका, संगीतका विविध आयाम र आरोह–अवरोहका साक्षी संगीतकर्मीहरुमध्ये युवा गायक एवं संगीतकार शिव परियार अग्रपंक्तिमा आउँछन् । 

(२००५) मोक्ष, (२००८) स्वयम्, (२००८) कादम्बिनी, (२००९) क्या दामी भो, (२०१०)फाटेको मन, (२०११) पागल, (२०१२) कथाले मागेपछि, (२०१२) वन्ली यू मेरो साथी, (२०१३) टाढाको साथी र (२०१५) शिव बुक गरि दशवटा गीत तथा गजलसंग्रह बजारमा ल्याएका शिव आफ्नो एघारौ गीतीसंग्रह शिवालयको तयारिमा छन्।

समय सापेक्ष संगीतलाई आत्मसाथ गर्दै सदैव संगीतको मूलधारमा प्रवाहित हुन रुचाउने यीनै शिव परियारसँग उज्यालो सहकार्मी दिलीप कुमार ज्योतीले  अहिलेको संगीत बजार र संगीतका अन्तरनीहित विषयमा गरेको कुराकानी । 

अहिलेको संगीत बजार कस्तो छ ?

पहिले ‘फिजिकल मार्केट’ थियो । ‘कम्पनी’हरुले ‘क्यासेट’ र ‘सीडी’ बेचेर पैसा कमाउने समय थियो । कलाकारहरुलाई त्यतिखेर केही पनि हुने अवस्था थिएन । चल्तापुर्जा केही कलाकारहरुले स्वदेश र विदेशमा केही ‘म्यूजिकल इभेन्ट’मा भाग लिएर तुलनात्मक रुपमा केही पैसा आर्जन गर्नसक्ने अवस्था थियो । तर अहिले समय परिवर्तन भएकोछ । 

गीत, संगीत अहिले ‘कम्पनी’को चङ्गुलबाट फुत्केर प्रत्येक व्यक्तिको पहुँचमा पुगेको छ । तपाईंसँग कला छ भने सामान्य ढंङ्गले ‘यूट्यूब’ बाट आफ्नो कलाको व्यापार गर्नसक्नुहुन्छ ।

अहिलेको संगीत उद्योग तुलनात्मक रुपमा पहिलेभन्दा अलि बढी व्यावसायिक भएको हो ?

हो, पहिलेभन्दा व्यावसायिक भएका छाैं हामी । ‘एनालग सिस्टम’मा काम गर्ने बानी थियो पहिले । एउटा सिङ्गै ढिको ‘क्यासेट’ किन्ने, ‘प्लेयर’मा हाल्ने र सुन्ने चलन थियो । अब अहिले पूरै ‘डिजिटलाइज्ड’ भयो । यससँगै बैधानिक हिसाबले यसलाई हरेक ‘प्लेटफर्म’मा प्रयोग गरेर सम्बन्धित लगानीकर्ता, स्रष्टा र कलाकारमा त्यसको फाइदा पुग्ने वातावरण चाहिँ अलि कम छ । 

त्यसको लागि नियमन हुनुपर्छ । अधिकारका लागि कलाकारमा पनि एकता आवश्यक छ । व्यापार एकदम धेरै छ । तर पहिले जस्तै एउटाको लगानीबाट निस्कने मुनाफा अर्कोले खाने परिपाटी भने कायमै छ । 

केअहिलेका गीतहरु संख्याको अनुपातमा गुणात्मक रुपले भने खस्केका हुन ? 

कुनै पनि चिज धेरै भएपछि मान्छेले छान्ने मौका पनि धेरै पाउँछ । गीत, संगीतमा पनि त्यहि भएको हो । तपाईं दुइटा मात्र दिनुस् र दुइटै बिग्रेको चिज दिनुस् । दुईमध्ये एउटा त छान्नै पर्‍यो । नराम्रो भए पनि राम्रो भनेर, पहिलेको समय त्यस्तो थियो । त्यहाँ विकल्प हुन्थेन । 

तर अहिले हजार भयो । हजार विकल्प भएपछि त आफ्नो इच्छा अनुसार कसैलाई के मन पर्ला, कसैलाइ के । यो खालको स्थिति चाहिँ पहिलेको भन्दा धेरै छ संगीतमा । 

अझ स्पष्ट भन्दा सचेतना धेरै भयो संगीतमा । प्रत्येक मान्छेहरुमा कला र प्रतिभा छ । पहिले त्यो प्रतिभालाई खासै महत्व दिने चलन थिएन । अहिले हरेक व्यक्तिले ‘तिमी त राम्रो गाउँछौ नि’ भनेर सुन्नेबित्तिकै गीत रेकर्ड गरेर निकालिहाल्ने र उस्तै पर्रे गीत ‘हिट‘ भैहाल्ने अवस्था पनि छ । 

अवसर र सचेतना समानान्तर छ । अब त एउटा यस्तो जमाना पनि आउला भन्ने लाग्छ जहाँ सबैले संगीत बुझ्नेछन् र राम्रा कलाकारहरुको पनि दिन आउनेछ ।

अहिले संगीतकर्मीहरुलाइ जनमानसको रुचि अनुसार गीत–संगीत पस्कन नसकेको गुनासो पनि छ नि ।

‘कलाकार ‘पब्लिक सर्भेन्ट’ हो । जनमानसको मनोरञ्जनको लागि छानिएका हौँ हामी । जनरुचीभन्दा पर जान सक्दैनौं । संगीत अनुरागीहरुको मायाले ‘हिरो’ भएका हौँ हामी । पब्लिकको भावना जितेर उनीहरुको भावनाको देशमा राजा भएको मान्छे हो कलाकार भनेको ।’ 

विदेशमा कलाकारको अर्बौं रुपैयाँको व्यापार हुन्छ । नागरिकको हैसियतले र व्यापारको हिसाबले करोडौं रुपैयाँ एउटा कलाकारले राजस्व तिर्छ । धेरै राजस्व

तिर्ने व्यक्तिहरुमा कलाकारको पनि नाम आउँछ । कलाकारहरुलाई विदेशमा उच्च महत्वका साथ हेरिने, अनेक सुरक्षाहरु दिइने, उनीहरुको साना साना कुराहरुको संरक्षण गरिनुको कारण यो पनि हो । 

राज्यकोष बढाउन र राज्यको विकासमा प्रत्यक्ष संलग्नता भएका कारण कलाकारको उच्च मूल्याङ्कन हुन्छ पश्चिमा लगायत विकसित देशहरुमा । यहाँ त संगीत भावनामै चलिरहेको छ । संगीत क्षेत्र उद्योग हुन सकिरहेको छैन । 

करको दायरामा संगीत आइसकेको छैन । रहरै रहरमा चलेको छ हाम्रो संगीत । व्यावसायीक धारमा काम गर्दा कलाकारलाई ‘पब्लिक’ ले ‘रुल’ गर्नेहो । ‘पब्लिक’ले ‘रुल’ गरेको ठाउँमा कलाकारले आफ्नो चिज दिनै पर्छ ।

तपाईंले यसो भनिरहँदा चलचित्र क्षेत्रका कतिपय संगीतकर्मीहरले संगीत अनुरागीहरुको चाहना विपरीत आफ्नो स्वर र सिर्जना लादिरहेको अवस्था पनि छ नि, होईन ?

लालसा त सबैलाई हुन्छ । एउटा उदाहरण दिन्छु म तपाईंलाई । फिल्म जति बनेपनि हिरो र हिरोइन हिट हुने हो । निर्देशकको त पछि कुरा चल्छ  फलानो निर्देशक भनेर । प्राय फिल्म ‘हिट’ हुँदा त हिरो नै ‘हिट’ हुन्छन् नि । 

अब यहाँ कुरा के आयो भने । हिरो ‘हिट’ भयो भनेर निर्देशक आफैं हिरो बनेर खेलेको अवस्था जस्तै हो यो । तर निर्माताले स्वीकार गरिसकेपछि र उनीहरुले दिएको चिज ‘पब्लिक’ले स्विकार्छ भने अरुले टाउको दुखाउनुपर्ने कारण पनि छैन ।

संगीत विशेषत: भावनाको कुरा हो । केही हदसम्म संगीतकारको रहर पनि हुनसक्छ । कति अरुको मात्र सुन्नु आफू पनि गाऊँ भनेर । तर यदि कुनै कलाकारसँग पूर्वाग्रह राखेर म तँलाई गीत दिन्न भन्ने परिस्थिति निम्त्याइन्छ भने यो सरासर अन्याय हो । यसका विरुद्घ आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउनुपर्छ ।

यो प्रवृत्तिले मूलधारका कलाकारहरुलाई असर पर्दैन ?

असर त किन नपर्नु । नेपालमा अत्यन्तै राम्रो स्वर भएर विस्थापित हुनुपरेका कलाकारहरुलाई सम्झनुस् न । ‘आहा कति राम्रो आवाज थियो है, कस्तो गाउँथ्यो उसले,अहिले के भएको नेपालमा’ ‘जमानै अर्को भयो’ भन्ने जस्ता सुस्केरा हाल्दै जनमानसले सम्झने आवाजलाई सम्झनुस् न । 

(२००५) मोक्ष, (२००८) स्वयम्, (२००८) कादम्बिनी, (२००९) क्या दामी भो, (२०१०) फाटेको मन, (२०११) पागल, (२०१२) कथाले मागेपछि, (२०१२) वन्ली यू मेरो साथी, (२०१३) टाढाको साथि र (२०१५) शिव बुक गरि दशवटा गीत तथा गजलसंग्रह बजारमा ल्याएका शिव आफ्नो एघारौ गीतीसंग्रह शिवालयको तयारिमा छन्।

एउटा राम्रो गायकलाई जब गाउन दिइँदैन, राम्रो संगीतकारलाई इच्छा अनुसार संगीत भर्न दिइँदैन र उसको सोचलाई बदल्ने प्रयास गरिन्छ भने त्यहाँ के चिज बाँकी रहन्छ र ।

संगीतमा एक प्रकारको ‘सिण्डिकेट’ भन्न मिल्छ यसलाई ?

अहिलेलाई ‘सिण्डिकेट’ नै भनिहाल्नुपर्ने अवस्था छैन । त्यति ठूलो परिमाणमा काम पनि हुँदैन । हाम्रो संगीत उद्योगमा चलचित्र संगीत फस्टाउन थालेको २–४ वर्ष त भयो नि ।  धेरै कलाकार भएर एउटा सानो वर्गले मात्र ओगटेर कलाकारहरुले ‘चान्स’नै नपाउने स्थिति आयो भने त्यतिखेर ‘सिण्डिकेट’ भन्न मिल्ला ।

गीत–संगीतमा बढ्दो पश्चिमा बाजाहरुका कारण मौलिक बाजाहरु छायाँमा पर्न थालेको छ, भाषाले मात्रै मौलिकताको जगेर्ना हुन्छ र ? 

मुख्य कुरा भाषा हो । आजको समयमा कतिपय गीतहरुलाई मौलिक बाजाले मात्र न्याय गर्न सक्दैन । मौलिक, मौलिक भनेर एकदमै वृत्तचित्र खालको गीत पनि व्यावसायिक संगीतमा काम छैन । आजको पुस्तालाई विश्वासमा लिन पनि अरु बाजाहरुको प्रयोग गर्नुपर्ने स्थिति छ । 

आजको बजारलाई प्रभाव पार्ने प्रबिधिलाई साथमा लिएर हामीसँग भएको मौलिकतालाई मिश्रण गरेर काम गर्ने कलाकारहरुको भविष्य उज्वल छ । यसलाई अझ यसरी बुझ्नुस कि ‘गुन्यू चोलीमा देखिँदै आएकी पहाडकी एउटी छोरीलाई मिनिस्कर्टमा र्‍याम्पमा उतारियो’ । एउटा नयाँपन त आयो नि । 

गीतमा ‘अटो ट्यूनर’(संगीतमा सुर र अन्य प्रयोजनका लागि प्रयोग गरिने सफ्टवेयर )को बढ्दो प्रयोगलाई कसरी लिनुभएको छ ?

हिजोको दिनमा सामान्य ‘एनालग सिस्टम‘मा ‘मिक्सिङ’ गरिएको ‘प्रोजेक्ट’मा ‘डिले’ र ‘रिभर्बहरुले गर्दा गीतहरु राम्रो सुनिएको हो । अहिले प्रयोगमा आएको ‘अटो ट्यून’ले गीतको विधाअनुसार संगीतका विभिन्न विविधताहरु, वाद्ययन्त्रका प्रकृति , वाद्य उपकरणका ‘फ्रिक्वेन्सी’सँग ध्वनीलाई सुहाउँदो तरिकाले मिलाउँछ । 

स्वर हालेको भरमा मात्र गीत राम्रो हुँदैन । ‘अटो ट्यून’ बेसुरालाई सुरमा ल्याउने प्रविधि मात्र होईन । सुरमै गाउनेहरुको स्वरलाई कसिलो बनाएर  ‘फाइन ट्यून’को लागि तयार पारिएको यो ‘सफ्टवेयर’लाई केही कलाकरहरुले दुरुपयोग पनि गरेका छन् । 

अर्को पाटोबाट हेर्दा ठिकै गाउँछु नि भन्नेलाई एउटा बाटो पनि दिएको छ । कसैको रोजिरोटी खोसेको छैन यसले । अन्तिम निर्णायक त ‘पब्लिक’ हुन । ‘पब्लिक‘माझ प्रत्यक्ष जाँदा कस्को हैसियत के भन्ने प्रष्ट भैहाल्छ ।

तपाईंले भने जति संख्यामा संगीत बुझ्ने वर्ग छ नेपालमा ?

बुझ्ने नभनौँ, सुन्न रुचाउने र ग्रहण गर्ने वर्ग छन् । तपाईंले भने जस्तो ठूलो चाहिँ छैनन् । परिवारको माड जोहो गर्न नै गा¥हो नेपाली समाजमा संगीत नै बुझ्ने वर्ग खोज्न कठिनै छ । 

एउटा यूरोपियन र एउटा नेपाली मान्छेकै अन्तर हेर्नुस् न । उ आफ्नो ‘विकेण्ड’ कसरी ‘इन्जोय‘ गर्ने भनेर सोच्छ । हामी गाँस बाँस कपासको जोहो गर्नमै व्यस्त छौं । उसको ‘विकेण्ड’ लयवद्घ छ, हामी संगीत प्रति समर्पित भएपनि ‘हे छोड गाना बजाना बिहान बेलुकीको छाक टार’ भन्ने अवस्था र  मनस्थितिमै छाैं।
जबसम्म समृद्घ हुँदैनाैं, संगीत बुझ्ने वर्ग पनि सानै हुन्छ । हाम्रोमा संगीत मनोरञ्जनका लागि बढी प्रयोग भएकोछ अहिले ।

गायन क्षेत्रमा दुइ दशक बिताईसक्नुभयाे, तपाईंका श्रोता चाँहि कस्ता कस्ता हुन् ?

सुरुमा गीत गाउँदा ‘फेवातालमा सार्इंली’ प्रकृतिका लोक गीत मनपराउने श्रोता हुनुहुन्थ्यो । त्यसपछि गजलहरु ‘अलिकती नजर तिम्रो’ ‘कहाँ थियो रंगमञ्च’ हुँदै सुफियाना अन्दाजको ‘धेरै चोटि मरें म त’, ‘रित्तो रित्तो छु म’ जस्तो हुँदै अलि ‘जोलि’ र ‘फङ्की टाइप’का ‘क्या दामी भो‘, ‘पिउँदिन भन्दाभन्दै’ जस्ता कम्पोजिसन मन पराउने श्रोता पाएँ । श्रोता उही हुन् तर संगीत बुझाइमा आएको आमूल परिवर्तनले नयाँ नयाँ प्रयोग मन पराउँछन् अहिले । 

तपार्इंका कतिपय समकालीनहरु मूलधारबाट बाहिरिइसके, तर तपाईं भने अझै यो उद्योगमा जमिरहनुको कारण चाहिँ के हो ?

सबैभन्दा पहिले कुनै पनि सृजना गर्दा आफूले आफैंलाई प्रश्न गर्नुपर्छ । ‘हारमोनियम’ माथि वा ‘गटिार’ माथि शब्द राखिसकेपछि यो गीतले बालक, युवा ,प्रौढ अथवा वृद्घ कुन वर्गको संवेदनालाई प्रतिनिधित्व गर्छ, त्यो बुझ्नु जरुरी छ । बजारको परिस्थिति हेरेर कस्ता ‘कम्पोजिसन’ मन पराइएको र मन नपराइएको छ त्यो पनि बुझ्नु पर्‍यो । उनीहरुले मन पराएको गीतहरु कस्तो कस्तो छ, बजारमा त्यो भन्दा अलि छुट्टै पनि दिनुपर्‍यो । 

त्यसपछि गीतको विधा सुहाउँदो ‘एरेन्जर’को खोजी गर्नुपर्‍यो । यसरी एउटा राम्रो गीत तयार भैसकेपछि  ‘म्यूजिक भिडियो’मा ‘पब्लिक’मा जान लायक ‘क्रेज’ भएको ‘मोडल’ को हो त ? त्यसको टुङ्गो लाउनुपर्‍यो, ताकि भोलि त्यो भिडियो क्लिक होस्, तपाईले गरेको मेहनत सुनियोस् र हेरियोस् । 

यी सम्पूर्ण कुराहरुमा ध्यान दिने हो भने सफलता हात लाग्छ । म आफूलाई जमाउन अहिले कन्सर्टमा आधारित र मेरो वास्तविक धार अर्थात सुगम धारमा रहेर काम गरिरहेकोछु ।

‘यु ट्यूब ट्रेण्डिङ्ग’ ,‘भ्यू’ र ‘लाइक’ले गीतको स्तर कत्तिको निर्धारण गर्छ ?

कहिले काहीँ गलत कुराहरु पनि ‘नेगेटिभ हिट’ हुन्छन्, याद गर्नुभएको छ ? फलानोले यस्तो गर्‍यो रे है भनेर भन्दा त्यो ‘नेगेटिभ’ कुरामा पनि धेरै ‘क्लिक’ र ‘इन्भल्वमेन्ट’ले त्यो चिज चाहिँ ‘ट्रेण्डिङ्ग’मा आइदिन्छ नि । हाम्रोमा केही गलत चिजहरु पनि ‘ट्रेण्डिङ्ग’मा नआएका होइनन् । 

‘ट्रेण्डिङ्ग‘मा ल्याएर मात्र उत्कृष्ट हुने होइन । जनमानसको हृदयको ‘ट्रेण्डिङ्ग’मा पर्नुपर्‍यो । बाटोमा हिँड्दा तीनवटा घर नाघ्दा कमसेकम एउटा घरमा तपाईंको गीत बजेको होस् न, यो पो त ‘ट्रेण्डिङ्ग’ हो त ।

तपाईसँग शास्त्रीय संगीतको पृष्ठभूमी पनि छ, गाउन र संगीत बुझ्न शास्त्रीय संगीतकै आवश्यकता पर्छ ?

शास्त्रीय संगीत पूर्णत पूर्वीय संगीतमा आधारित छ । पूर्वीय संगीतसँग सम्वद्घ जति पनि गायन प्रक्रिया छ त्यसलाई शास्त्रीय संगीतको ज्ञानले पूर्ण सहयोग गर्छ । तर पाश्चात्य संगीत र गायनसँग जोडिएका कतिपय कुराहरुलाई यसमै नीहित रहेर भने न्याय गर्न नसकिने पनि हुन्छ ।

पूर्वीय संगीतमै सीमित हुन चाहनेको लागि शास्त्रीय संगीत, संगीतको व्याकरण हुन सक्छ । दक्षिण एसियामा पश्चिमा संगीतको प्रभाव लामो समयदेखि छ । नयाँ पुस्ता रक र र्यापमा रमाउने भैसके ।

यो अवस्थालाई मध्यनजर गर्दा शास्त्रीय संगीतसँगै पश्चिमा संगीतको पनि समय सापेक्ष व्यावहारिक ज्ञान लिनु उचित हुन्छ । मेरो विधाको गीत गाउनको लागि भने शास्त्रीय संगीत पूर्ण छ । 


 

अन्तिम अपडेट: कात्तिक ३०, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया