अध्यक्षले मनाेमानी ढंगले काम गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

 असोज ३०, २०७५ मंगलबार १६:८:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् । 

वडा अध्यक्षले उपभोक्ता समिति नै गठन नगरी तिजालीका सडकको मर्मत संभारको काम सुरु गरेकाले तालाबन्दी गरिएको स्थानीय रामबहादुर बोहराले जानकारी दिनुभयो । 

उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैर कानुनी भएकोले संघर्ष गर्नुपरेको स्थानियबासीहरु बताउँछन् । कसैसँग पनि छलफल नगरी अध्यक्षले ५ लाख ५० हजार बराबरको रकम एकलौटी रुपमा जोडर ल्याएर काम सुरु गरेकाले तालाबन्दी गरेको संर्घष समितिका संयोजक रामबहादुर बोहराले  बताउनु भयो । 

उहाँले भन्नु भयो ‘स्थानीयलाई जानकारी नदिएर लाखौं रकम खर्चेर आफूखुशी काम गराएकाले हामीले ताला लगाएका हौँ ।’

दशैँमा बाटो खोल्न हतार भएका कारण उपभोक्ता समिति गठन नगरेरै काम गर्ने सल्लाह भएको शिखर नगरपालिका वडा नं–५ तिजालीका वडा अध्यक्ष पदम बोहराको दावी छ । 

उहाँले भन्नुभयो ‘बर्षाले बाटो बिग्रिएका थिए, दसैंकाे बेला हतार भएका कारण सल्लाह गर्न नपाएकाले काम सुरु गरेका हौँ ।’ 

सबै स्थानीयसँग छलफल गर्दा पहिला सडक खोलौै उपभोक्ता समिति बिस्तारै गरौँला भनेको वडा अध्यक्ष बोहराले बताउनुभयो । तिजाली भित्र रहेका बर्षाको समयमा बिग्रिएका भत्किएका ६ वटा बस्तीसम्म जाने सडक सरसफाई गर्नका लागि काम भैरहेको वडा कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया