बिजुलीकाे मिटर नपाएपछि इलाममा २ हजारभन्दा बढी घरपरिवारकाे दसैं अँध्यारोमै बित्ने

 असोज ३०, २०७५ मंगलबार २०:२७:५८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका दुई हजारभन्दा बढी घरपरिवारले यस वर्षको चाड अँध्यारोमा नै मनाउनु पर्ने भएको छ । 

जिल्लाका दुई हजार ३१० घरपरिवारले यसपालीको चाडमा बत्ती बाल्न नपाउने भएकाले अध्यारोमा नै चाडवाड मनाउनु पर्ने बाध्यता भएको हो । 

बत्ती बाल्न महिनौँ अघिदेखि विद्युत प्राधिकरणसँग मिटर माग गरेपनि प्राधिकरणले मिटर नदिएपछि उनीहरूले यस वर्षको दशैँतिहार अध्यारो मै मनाउनु पर्ने भएको स्थानियले बताएका छन्  । फाकफोकथुम गाउँपालिका–२, फाकफोकका विमला राईले मिटर माग गरेको दुई महिना बिते पनि अझै पाउन नसक्दा समस्या भएको दुखेसो गर्नु भयो । 

इलाम विद्युत प्राधिकरणमा एक हजार नौ सय ३९ वटा मिटर दिन बाँकी रहेको छ भने फिक्कल केन्द्रको ग्राहक सेवा फाँटमा ३५० र पशुपतिनगर केन्द्रको ग्राहक सेवा फाँटमा २१ वटा मिटर माग गरिएका विद्युत प्राधिकरणले जनाएको छ । 

सदरमुकामको कार्यालयमा व्यक्तिगत बाहेक २५ वटा सामुदायिक संघसंस्थाले समेत मिटर माग गरेका छन् । यो मागलाई समेत प्राधिकरणले पूरा गर्न नसकेको अवस्था छ । 

प्राधिकरणले नै तयार पारेको विद्युत वितरण नियमावली, २०६९ का अनुसार व्यक्तिगत घरमा जडान हुने मिटर अर्थात् सिङ्गल फेजबाट चल्ने मिटर माग भएमा त्यो तत्काल उपलब्ध गराउनु पर्नेछ । 

विद्युत लाइन बिस्तार भएको क्षेत्रका बासिन्दाले आवश्यक कागजात पु¥याएर त्यस्तो माग गर्दा तत्काल मिटर उपलब्ध गराइनु पर्ने छ । नियमावलीमा यस्तो भए पनि प्राधिकरणको इलाम वितरण केन्द्रले महिनौँसम्म ग्राहकलाई कुराएर राख्ने गरेकाले ग्राहक समस्यामा परेको पाइएको छ  ।

सिङ्गल फेजको मिटर माग हुँदा तत्काल उपलब्ध गराउनुपर्ने भएपनि दिन नसकेको इलाम केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनु भयो । उहाँका अनुसार , प्राधिकरणको विराटनगरस्थित क्षेत्रीय निर्देशनालयमा मिटर जाँच गरेर इलाम ल्याउनै ढिलो भएकाले माग गर्नेलाई मिटर दिन ढिलाई भएको हो । 

उहाँ भन्नुहुन्छ , ‘विराटनगरमा दैनिक तीनदेखि चार सय मिटर जाँच गर्ने क्षमताको प्रविधि छ । त्यहाँबाट मिटर उपलब्ध गराउने नेपालका धेरै जिल्ला छन् । त्यसैले जाँच भएर आएका मिटरले माग धान्न नसकिएको हो ।’

यही समस्याका कारण समयमा नै मिटर उपलब्ध गराउन नसकिरहेको बताउदै प्रमुख घिमिरेले आगामी दशैँ तिहारमा सबै नसकिए पनि धेरैले मिटर लान पाउछन् भन्नेमा ढुक्क हुन सबैलाई आग्रह समेत गर्नु भएको छ  । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया