गुडाउने ब्यागभरि आमाले ओमानबाट ल्याएको खुसी

 असोज ३१, २०७५ बुधबार ५:५६:४८ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं – कीर्तिपुर माविमा पढ्ने सबैको ड्रेस उस्तै छ, आकाशे रंगको सर्ट र निलो पाइन्ट या फ्रक । ब्याग पनि झण्डै उस्तै । तर कक्षा २ मा पढ्ने धादिङका सनिल परियारको ब्याग अरुकोभन्दा भिन्न र खास किसिमको छ । साथीका ब्याग बोक्न मात्र मिल्छ, तर सनिलको ब्याग बोक्न मात्रै होइन, गुडाउन पनि मिल्छ । डेस्कमाथि राखेको आफ्नो ब्यागलाई कसैले एकटकले हेर्यो भने सनिललाई आनन्द लाग्छ ।

सनिल ब्याग गुडाउँदै स्कुल जान्छन् । घर फर्किंदा किताबसँगै साथीलाई पनि बेलाबेला ब्यागमाथि राखेर गुडाउँछन् । सनिलको ब्यागको खास विशेषता भनेको काँध दुख्दा गुडाउन मिल्छ । गुडाउन मन नलागे फेरि बोक्न मिल्छ । घरि बोक्दै र घरि गुडाउँदै उनी नाच्दै, उफ्रँदै, मुस्कुराउँदै स्कुल पुग्छन् । पढ्छन् । अनि त्यसैगरी घर फर्किन्छन् । 

तर आमा विदेशबाट नफर्किंदासम्म सनिलसँग मैलो र च्यातिएको थोत्रो ब्याग थियो । उनको दैनिकी पनि अहिलेको भन्दा फरक थियो । बिहानै बेलुकाको बासी भात खाएर स्कुल आफैं जानुपथ्र्यो । लुगा मैला हुन्थे । अलि धेरै दिक्क लाग्थ्यो । आमा नहुँदा सनिलको बालापन खोसिएको थियो । तर अहिले उनको ब्याग मात्र होइन, सबै कुरा फेरिएको छ ।

आमाले छाडेदेखि नै अनुहारमा बास बसेका दुःखका प्रतिबिम्बहरू ओझेल परेका छन् । सधैं मैलो हुने लुगा सफा भएको छ । 

आमा विदेश छँदाको अँध्यारो

सनिल ६ वर्षका थिए । कीर्तिपुर माध्यामिक विद्यालयमै १ कक्षामा पढ्थे । आमा आशिका परियार २०७२ सालको चैतमा ओमान लागिन् । आमाले आफूलाई छाडेर विदेश लागेको सनिललाई पत्तै भएन । 

‘ममी विदेशमा त्यत्रो समय बस्नुहुन्छ भन्ने थाहा थिएन, कति वर्षसम्म आउनुभएन,’ सनिल सम्झन्छन् । उनलाई मावल गएर फर्किए जस्तै आमा दुईचार दिनमा फर्किने आशा थियो । 

कहिल्यै आमाबाट टाढा नभएका सनिललाई आमाको अभावको भारी गह्रुँगो भयो । न घरमा बेलामा खाना पाक्थ्यो न त मैलो लुगा कसैले धोइदिन्थ्यो । आमा विदेश लागेपछि सनिलका बुवाले नै आमाको जिम्मेवारी निभाउन खोजे । तर सहज भएन । 

सनिललाई धादिङबाट हजुरआमा लिन आइन् । ‘आमासँग गाउँ गएर गाउँकै स्कुलमै पढेको अनि फेरि काठमाडौं नै आएको,’ पहिलेको कुरा सम्झिएर सनिल एकछिन टोलाए ।

बुवाले समय दिन नभ्याउने भएपछि हजुरआमासँग सनिल गाउँ त गए, तर बस्न मानेनन् । झण्डै ६ महिनापछि सनिल काठमाडौं नै फर्किए । आमा विदेश गएपछि आमाको मायासँगै एक वर्ष पढाइ पनि छुट्यो । 

बाध्यताले एक वर्ष पढाइ छुटे पनि सनिलले पढ्न छाडेनन् । काठमाडौंमै बुवासँग बसेर फेरि पहिलेकै स्कुलमा पढ्न थाले । सनिलका बुवा नै आमा बने । खाना बुवाले नै पकाउँथे । लुगा बुवाले नै धोइदिन्थे । ‘लुगा धुने, खाना पकाउने बुवाले नै गर्ने हो, तर ममीकै याद आउँथ्यों, ममीले पकाएजस्तो मिठो पनि नहुने’ सनिल सुनाउँछन्, ‘ममी नै घरमा भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, ममीकै याद आउँथ्यो ।’

सनिलका बुवा हरि परियार सानो भ्यान चलाउँछन् । गाडीसँगै घर चलाउन सजिलो भएन हरिलाई । हरिलाई त श्रीमतीको न्यास्रो लाग्थ्यो नै, जतिबेला पनि सनिलको आँखामा आमाको अभाव झल्कन्थ्यो । 

मेरो लुगा धोईदिने को छ र ? 

शालिन स्वभाव भए पनि बेलाबेलामा स्कुलमा साथी र शिक्षकसँग अनौठो व्यवहार गर्थे सनिल । ‘बेलाबेलामा अलि झर्कने, नबोल्ने, रिसाउने गर्थे, अरुको भन्दा फरक व्यवहार देखेर मैले उसलाई नोटिस गर्न थालें,’ कीर्तिपुर माविकी शिक्षिका मुना कार्कीले आमा विदेश जाने बित्तिकैको सनिलको व्यवहारबारे बताईन् ।

सनिल मैला लुगा लगाउँथे । ‘सनिल तिमीले किन लुगा फोहोर लगाएको, हेर त उसको लुगा कति सफा भन्दै अरुको उदाहरण दिएर सम्झाएँ, मैले भन्दासम्म उ सुनिरहयो र एक बाक्य बोल्यो – उसको पो ममी छ र लुगा धोइदिन्छन्, मेरो कसले धोइदिन्छ,’ शिक्षिका मुना त्यो बेलाको सनिलको प्रतिक्रिया सम्झन्छिन् । 

सनिलको मैलो लुगाले आमाको अभाव त झल्काउँथ्यो, तर कुरा बुझ्न सनिलले नै मुख फोर्न पर्‌यो । उनको कुराले मुनाको मन खिन्न भयो । आमाले छाडेर गएदेखि सनिलले मातृत्वको अभाव खेपेका थिए । आमा नै नभएपछि सनिलको लुगा मात्रै हैन बालापन पनि खल्बलिएको थियो । 

‘बुवा कामबाट आएपछि खाना बनाउनुहुन्थ्यो, बेलाबेलामा गाली पनि गर्नुहुन्थ्यो,’ सनिल सुनाउँछन् । सनिल त्यो बेला सोच्थे ‘ममी भएको भए !’ 

सयौंपछिको स्मरणीय फागुनको शनिबार 

आमा विदेशबाट कहिले फर्कनुहुन्छ भनेर सोध्दा सनिलको जवाफ एउटै हुन्थ्यो – ‘शनिबार ।’ झण्डै दुई वर्ष आमा ओमानमा बस्दा सनिलको पर्खाइ शनिबारकै थियोे । थुप्रै शनिबारका बिहानी आशा लिएर आए अनि साँझ निराश बनाएर फर्किए । तर आमा फर्कने शनिबार कहिल्यै आएन । 

२०७४ सालको फागुन महिनाको एक दिन सनिल ब्याग गुडाउँदै स्कुल आइपुगे । उनले आँखामा गाजल, अनि हातमा पालिस पनि लगाएका थिए । ‘नयाँ ब्याग र पालिस देखेर तिम्रो आमा आउनुभयो हो भनेर सोधें, खुसी हुँदै हो भने, सनिल आमा आएपछि त निकै खुसी छ,’ शिक्षिका मुना सुनाउँछिन् । 

नयाँ ब्याग, त्यो पनि गुडाउन मिल्ने । ब्याग स्कुल लिएर आएको दिन साथी अजय थिङ सनलिलाई देखेर दङ्ग परे । ‘मेरो बुवा त दुईपटक विदेशबाट फर्किंदा पनि यस्तो ब्याग ल्याइदिएनन्, एउटा साइकल मात्रै,’ सनिलको ब्याग हेर्दै अजयले भने । 

आमाले कीर्तिपुर बजारमा किनिदिएको ब्याग सनिलको जस्तो के हुन्थ्यो र ? ‘मेरो ब्याग त ठिकठिकैको छ, तर उसको ब्याग मन पर्छ,’ अजय फिस्स हाँसे । अजयलाई विदेश जाने बेला बुवाले राम्रोसँग बस् भने ।

तर फर्किंदा यस्तो ल्याइदिन्छु भनेका छैनन् । उनलाई मलेसियाबाट फर्किंदा आफ्नो बुवाले पनि सनिलको ममीले जस्तै ब्याग, घडी र गाडी ल्याइदिए हुन्थ्यो भन्ने लागेको छ । 

ओमानबाट आमासँगै फर्कियो सनिलको खुशी

अजयका बुवाले मलेसियाबाट फर्किंदा ब्याग, घडी र गाडी ल्याइदेलान् या नल्याइदेलान् । तर सनिलको ममीले भने ओमानबाट फर्किंदा गुड्ने ब्यागमा सनिलसँग टाढा भएका खुशी पनि भरेर ल्याएकी छन् । 

आमा फर्किएपछि सनिलको मैले लुगा लगाउनुपर्ने दिन गएको छ । भनेकै बेला खाना पाक्छ । बुवाले गाली गर्दा आमाको मायाले ढाक्छ । स्कुल जाँदा बोक्ने ब्याग पनि साथीको भन्दा खास छ । आमा फर्किएपछि सनिलको व्यवहार र पढाइ पनि फेरिएको छ । पहिले जस्तो रिसाउँदैनन् । झर्को पनि मान्दैनन् ।  

‘ममी आएपछि त मलाई खुशी लागेको छ,’ सनिलले लजाएझैं गरी भने । अहिले आमा आएपछि बल्ल सनिलको ओठमा मुस्कान आएको छ । स्कुलबाट ब्याग गुडाउँदै फर्किएका सनिलले आफू ठूलो भएपछि बुवाको जस्तै गाडी गुडाउने सपना भएको सुनाए । ‘किन विदेश जान मन पर्दैन र ?’ भनेर  सोध्दा उनले एकै शब्दमा ‘अहँ,’ मात्र भने । 

करीब दुई वर्ष आमा विदेशमा बस्दा धेरै नियास्रो भोगेका सनिललाई अब आमा कहिल्यै विदेश नगइदिए हुन्थ्यो जस्तो लागेको छ । तर, आमाका कुरा र भोगाई सनिलका भन्दा धेरै फरक छन् ।

‘छोरो, आमा र बाको कथा’मा भोलि हामी सनिलकी आमा आशिका परियारको ओमान बसाई र विदेशमा काम गर्दा घरि घरि मनमा आउने छोराको चिन्ता प्रस्तुत गर्छौं ।

अन्तिम अपडेट: कात्तिक २९, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया