पारिजात र सकमबरी: एउटै कि अलग ?

 कात्तिक १, २०७५ बिहिबार ११:४७:५ | निर्जला अधिकारी
unn.prixa.net

शिरीषको फूलमा थेसिस लेख्छु भनेर उद्घोष गर्नु मेरो केवल भावनात्मक निर्णय थियो ।

सायद मैले सदाझैं दिमागलाई होइन हृदयलाई पछ्याएँ । प्रपोजल लेख्दै गर्दा साथीले पढ्छु भनेर मागी, मैले अंग्रेजी संस्करणमा गर्दै थिएँ, दिएँ । एकदिन अचानक उसले मलाई तैँले सकमबरीमा होइन आफैमा थेसिस लेख्दै छस् भनी । मैले किन भनेर प्रश्न गरेँ । उसले भनी, ‘किन–किन मलाई सकमबरी तँ जस्तै लाग्यो बुलेट पड्केको जस्तो आवाज, थोरै अराजक, थोरै निराश’, म हाँसे मात्र, केही बोलिन् ।

सकमबरीसँग आफू दाँज्दा वा अरु कसैले आफूजस्तै लाग्छ भन्दा रमाइलै लाग्छ । सायद प्रिय पात्र आफूजस्तै हुनु सुन्दर संयोग हो । तर त्योभन्दा बढी मैले पारिजात र सकमबरीलाई दाँजेर हेरेको छु । र कैयौँ पटक सकमबरी पारिजातै हो कि भन्ने प्रश्न गर्ने गर्थेँ र गरिरहेको छु ।

हुन त पात्रमा लेखक बोल्नु कुनै नौलो कुरा होइन । सिग्मण्ड फ्रायड भन्छन्, ‘कुनै पनि रचना लेखकको लक्षण हो ।’ उनका अनुसार लेखकका अचेतन चाहनाहरु उसको लेखनमा देखिन्छ । सायद सकमबरीमा पारिजात देखिनु पनि त्यही हो । शिरीषको फूलको भूमिकामा शंकर लामिछाने लेख्छन्, ‘अनि उ पारिजात भई ।

याे हुनुमा अनेक शारीरिक, मानसिक, रोमान्टिक (जसको मलाई पटक्कै ज्ञान छैन) घटना भए उसको जीवनमा ऊ कवि बनी, प्रतिष्ठा पाई, उ रोगी बनी, अस्पताल भर्ना भई ।’ जसरी पारिजात पारिजात हुनुमा अनेकौँ शारीरिक, मानसिक र रोमान्टिक कारणहरु छन् । त्यसैगरी सकमबरी सकमबरी हुनुमा पनि सायद त्यसै कारणहरु छन् शारीरिक र मानसिक । मलाई लागेका कारणबारे अवश्य चर्चा गर्नेछु हतारै के छ र ?

 नेपाली साहित्य जगतमा एउटा छुट्टै पहिचान बनाउनु विशेषतः पितृसत्तात्मक समाजमा महिला भएर, पारिजातको संघर्ष   आफै एउटा ठूलो लडार्इँ थियो । मलाई लाग्छ शून्यवाद र अस्तित्ववादलाई  यति सुन्दर ढंगले  व्याख्या गर्नु सायद लडाईँमा पाएको विजय  हो वा उसले जितेको युद्द । शून्यवाद र अस्तित्ववाद जस्तो गम्भीर विषय उनलेभन्दा पहिले नेपाली साहित्यमा कसैले भित्र्याएनन् त्यसैले पारिजात आफै तत्कालीन समाजकी एक फरक पात्र हुन् भन्दा फरक नपर्ला ।

दार्जीलिङको निम्नमध्यम वर्गीय परिवारमा हुर्केर पनि उसको परिवार शिक्षित र स्वतन्त्रताप्रेमी थियो । उनका बुवा एसके वाइबा चिकित्सक थिए । साथसाथै उनमा धर्मकर्मप्रति कुनै रुचि थिएन । त्यही कारणले गर्दा पारिजातले कुनै प्रकारको सामाजिक तथा धार्मिक बन्देज भोग्नु परेन ।

पारिजातले एक ठाउँमा आफ्नो  बुवाबारे यस्तो भनेकी छन्, ‘हामी उहाँलाई संसारकै महान् कथावाचकको रुपमा लिने गर्छौँ । उहाँले प्रत्येक रात कथालाई अत्यन्त रोचक मोडमा रोकेर भोलि भन्ने बहानामा हामीलाई सुत्न पठाउनुहुन्थ्यो । सधैँ हामीलाई जुनसुकै काम गरे पनि उत्कृष्ट हुनुपर्छ भन्नुहुन्थ्यो, ‘कहिल्यै पिट्ने गाली गर्ने गर्नुभएन । उहाँले सधैँ प्रगतिशील वातावरण दिने प्रयास गर्नुभयो । हाम्रो घरमा आफ्नो  विचार व्यक्त गर्न पाउने स्वतन्त्रता थियो ।’

सायद त्यही पारिवारिक पृष्ठभूमिले उनलाई अझ बढी हक्की, क्रान्तिकारी र स्वच्छन्दतावादी बनायो । र सायद त्यही वातावरणले गर्दा उसले सकमबरीजस्ती अराजक, अफ् द बिट के भनाैं फरक खाले नायिका जन्माउन सफल भई । हुनसक्छ, उनी आफै अरुभन्दा अलि फरक हुनुको परिणाम हो सकमबरी । जसलाई बुझेरै बुझ्न  सकिँदैन, चाहेरै पनि व्याख्या गर्न गाह्रो छ र त्यति नै कठिन छ एउटा बक्समा राखेर व्याख्या गर्न पारिजातलाई जस्तै ।

‘शिरीषको फूल’को भूमिकामा शकर लामिछाने डीटी सुजुकीको शून्यवादसम्बन्धी भनाई यसरी उद्धृत गर्छन्, ‘शून्यता भनेको अन्तज्र्ञानबाट जन्मिने वस्तु हो, तर्कको प्रक्रियाबाट होइन ।’ सायद पारिजातले शून्यतालाई व्याख्या नगरिकन  सकमबरीलाई त्यसको बिम्ब बनाउनु त्यही अन्तर्ज्ञानको परिणाम हो ।

त्यो अन्तर्ज्ञान सकमबरीमा पनि पाउँछौँ । उ सारै कम बोल्छे, नबोलिकनै सबै कुरा बोलिदिन्छे । उ जिउनुमा जिउनुको सार्थकता देख्दिन । जन्मदिनको अवसरमा शिवराजले धेरै वर्ष बाँच भनेको उसलाई मन पर्दैन, उसले भन्छे, ‘शिव तपाईँ आशिष दिन जान्नुहुन्न, समयमा मर भन्नुपर्छ । के छोप्न बाँच्ने ।’ उ हरेक पकट अन्त्य सुन्नासाथ खुशी हुन्छे । त्यसैले पनि किन किन मलाई उ कम सकमबरी बढी पारिजात लाग्छ । यसो भनिरहँदा मलाई थाहा छैन म कति सही छु, कति गलत ।

यसरी पारिजात र सकमबरीको सम्बन्ध खोज्ने क्रममा मैले एउटा शब्द पाएँ, ‘अल्टर इगो’ त्यसलाई नेपालीमा ठ्याक्कै के भनिन्छ मलाई थाहा छैन । कुनै पनि आख्यानमा जब कुनै पात्र अथवा मुख्यपात्रले  लेखकको जस्तै विचार, व्यjहार र दृष्टिकोण देखाउँछ त्यसलाई अंग्रेजीमा अल्टर इगो भनिन्छ । शिरीषको फूलमा पनि हामी सकमबरीमा पारिजातको जस्तै विचार, दृष्टिकोण र व्यवहार पाउँछौँ । दुवै शारीरिक रुपमा अस्वस्थ, दुवै चुरोटका अम्मली, दुवैले जीवनलाई हेर्नै दृष्टिकोण अलि परक ।

किन पारिजातले सकमबरीको दाजुको नाम पनि शिव राखिन् आफ्नो  दाजुको जस्तै ? किन सकमबरी र शिवराजबीच अति सुमधुर सम्बन्ध छ पारिजात र उनको दाजु शिवको जस्तै ? पारिजात र उनका दाजु शिवकुमार वाइबाबीच पनि अत्यन्त सुमधुर सम्बन्ध थियो । उनीसँग तोतामैना, प्रेमलहरी, अकबर–वीरबलको संकलन हुन्थ्यो ।

तिनै कथाहरु पढेर  पारिजातमा साहित्यप्रति अभिरुचि जागेको थियो । विष्णुकुमारी वाइबा साहित्यकार पारिजात हुनुमा उनको दाजु शिवको ठूलो हात छ । त्यसैगरी किन सकमबरी  चुरोट पिउँछे पारिजातले जस्तै ? एकफेर जब सुयोगवीरले, ‘अहिले मैले चुरोट नखाऊ भनेँ भने तिमी के गछ्यौ बरी ?’ भनेर प्रश्न गर्छ तब उ भन्छे, ‘मोजसँग दशवटा खाइदिन्छु ।’  

पारिजातजस्तै सकमबरी पनि चेन स्मोकर रहिछ  भन्नेकुरा यस प्रसङ्गले पुष्टि गर्छ । यसका साथै किन सकमबरी ईश्वरको अस्तित्व स्वीकार गर्दिन पारिजातजस्तै र भन्छे, ‘ईश्वर नभन्नुस्, ईश्वरतत्व भन्नुस् भावना न हो ?’ किन सकमबरी  फूलहरुसँग रमाउँछे पारिजातजस्तै ? जबजब यी प्रश्नहरु दिमागमा आउँछन् गाह्रो हुन्छ मलाई पारिजात  सकमबरी हो कि सकमबरी पारिजात जस्ती हो भन्न ।

यी प्रश्नहरुको चित्त बुझ्ने  जवाफ पाउन त कठिन छ तर पनि अंग्रेजी शब्द अल्टर इगोले थोरै भए पनि उनीहरुबीचको सम्बन्धलाई व्याख्या गरिदिन्छ । सायद अंग्रजी शब्द अल्टर इगो नभएको भए अलि गाह्रो हुन्थ्यो उनीहरुको सम्बन्धलाई एउटा नाम दिन यसले सजिलो बनाइदिएको छ ।

तथापि किन पारिजातले जानेर वा अन्जानमै आफूलाई सकमबरीमार्फत उभ्याइन् भन्ने प्रश्नचाहिँ यथावतै छ । किन सकमबरी पारिजातजस्तै निराश देखिन्छे ? किन उ मर्नदेखि डराउन्न पारिजातजस्तै ? पारिजातले त मृत्युबारे पनि यस्तो भनेकी रहिछन्, ‘कसरी एउटा सिंगो  मृत्यु यति निराश बन्न पुग्यो यहाँ । म त संस्कारदेखि डराउँछु मृत्युभन्दा ।’

त्यसैगरी किन सकमबरीमा जीवन र जगतप्रति अमूर्त र निराश विचारमात्र छ पारिजातको जस्तै भन्ने कुराले चाहिँ प्रत्येक पल्ट मेरो दिमाग खल्बलाउँछ ।

सायद फ्रायड ठिकै थिए, लेखकको मनोविज्ञान चाहेरै वा नचाहेर पनि उसका पात्रहरुमा आउँछ । हुनसक्छ लेखन पनि सपनाजस्तै हो जसमा लेखकका अचेतन चाहनाहरु पूरा हुन्छन् ।  सायद त्यसैले पारिजातले नचाहँदा नचाहँदै सकमबरी उनीजस्तै बनाइन् ।

अथवा पारिजातलाई थाहा थियो शून्यवाद र अस्तित्ववाद जस्ता जटिल कुराहरुलाई व्याख्या गर्न उनीजस्तै ‘अराजक’ र ‘अफ् द बिट’ नायिका आवश्यक थियो वा उसले आफैलाई लेखिदिइन् बेहोसीमा ।

यी प्रश्नहरु प्रश्नमै सीमित छन् अझै पनि । अनि सकमबरी पारिजातकी अल्टर इगो हो वा होइन ? समीक्षाको
एउटा सिङ्गो अध्याय खाली नै छ ।

अन्तिम अपडेट: कात्तिक २०, २०७५

तपाईको प्रतिक्रिया