रियल मड्रिडले किन गर्‍याे अमेरिकामा हुने बार्सिलाेना संलग्न ला लिगाकाे खेलकाे विराेध ?

 कात्तिक १, २०७५ बिहिबार ९:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनी फुटबल क्लब रियल मड्रिडले अमेरिकामा हुन लागेको बार्सिलोना र जिरोनाबीचको स्पेनिस ला लिगाको खेलको विरोध गरेको छ । 

रियल मड्रिडले यहि २६ तारिखमा अमेरिकाको मायामीमा हुन लागेको खेलको अनुमति दिएकोबारे स्पेनी फुटबल संघलाई प्रश्न सोधेको हो । 

ला लिगाको मौलिक नियम तथा स्वरुप अनुसार हरेक टिमले आफ्नो र विपक्षी टिमको मैदानमा खेल्ने परम्परा रहेकोमा अमेरिकामा खेल्ने अनुमति दिनु गलत भएको रियल मड्रिडको तर्क छ । 

स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबियालेस र स्पेनी खेलाडी संघले पनि याे अनुमतिकाे विरुद्धमा बोलेका छन् ।

यो खेलका लागि स्पेनी फुटबल संघबाहेक यूईएफए, अमेरिकी फुटबल संघ तथा उत्तर अमेरिका र क्यारेबियन क्षेत्रमा हुने फुटबलको नियामक संस्था कन्काकाफको पनि अनुमति आवश्यक हुन्छ ।

यो खेल बार्सिलोनाबाट ६० माइल टाढा रहेको जिरोनाको घरेलु मैदानमा २६ तारिखका लागि तय थियो ।

स्पेनको शीर्ष डिभिजन ला लिगाले रेलेभेण्ट नामको सञ्चार संस्थासँग गरेको सम्झौता अनुसार १५ वर्षसम्म प्रत्येक सिजन ला लिगाको एउटा खेल अमेरिकामा खेलाउन सहमति जनाएको थियो । यो खेल यसै सम्झौताअनुसार तय भएको हुनुपर्दछ ।

रियलले पत्रमा लेखेको छ, ‘ला लिगाले यस्तो प्रकृयाका बारेमा हाम्रो के धारण छ भन्नेबारेमा रियललाई न सोधेको छ, न जानकारी गराएको छ न जानकारी गराउने मनशाय नै राखेको छ ।’    

‘ला लिगाले हामी संलग्न भएको खेलमा असर पर्न सक्छ भन्ने जान्दा जान्दै पनि हामीसँग कुनै सहमति लिएको छैन’ पत्रमा अगाडि उल्लेख गरिएको छ ।
यसका बारेमा ला ला लिगाका अध्यक्ष जेभियर टेवासले भनेका छन्, ‘विभिन्न टिमले मैदान मर्मतका बेला वा धेरै आम्दानीका लागि अन्य रंगशालामा गएर खेल्दै आएका छन् । ’ 

‘यदि हामी खेलकुदमा नैतिकता र थिति चाहन्छौं भने फुटबलको क्षेत्रमा धेरै कुरा परिवर्तन गर्न जरुरी छ ।’ उनले भनेका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया