महानवमी: तलेजु भवानीको मन्दिरमा बिहानैदेखि सर्वसाधारणको घुइँचो

 कात्तिक १, २०७५ बिहिबार १०:४६:५९ | रासस
unn.prixa.net

काठमाडौँ - हनुमानढोका दरबार क्षेत्रमा रहेकाे तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । 

तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज दिनभर खुला रहने मन्दिरमा करीब एक लाख भक्तजनले दर्शन गर्ने अपेक्षा छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।

हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् भने काठमाडौँमा कर्माचार्य र जोशी मात्र छन् । 

छानेशैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्छन् । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लामदेखि अन्य व्यवस्थापनमा सहयोग गरिरहेका छन् । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौँ उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया