आशिका नहुँदा बाबुछोराको लुगा मात्र मैलिएन, घर र मन नै अँध्यारो थियो

 कात्तिक २, २०७५ शुक्रबार ६:२:५५ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं – घरमा रहेका ६ वर्षे छोराको रेखदेख, मावलीमा रहेकी छोरीको सोधीखोजी, घर व्यवहार अनि जागिर पनि भ्याउनुपर्ने । सनिलका बुवा हरि परियारले श्रीमती विदेश लागेपछि दुई वर्षसम्म खेपेका अप्ठ्यारा हुन् यी । 

६ वर्षका छोरो साथमा छाडेर श्रीमती आशिका २०७२ को चैतमा परदेश लाग्नुभयो । नजाउ भन्दा आशिकाले मान्नुभएन । आफैं जाउँ भने स्वास्थ्यले साथ दिएन । 
घरधन्दादेखि जागिर पनि भ्याउनु पर्ने ।  बिहान १० बजेदेखि ५ बजेसम्म भ्यान चलाउने काम थियो । त्यसअघि बाबु मात्रै बनेका हरिलाई आशिका विदेश लागेपछि आमा पनि बन्नु पर्यो । 

‘बालबच्चा अलि ठूला भएकै थिए, त्यसैले दुवैजना विदेश जाने भन्ने योजना बनाएका थियौं, तर मेरो मिलेन, उनले एक्लै भए पनि कमाएर आउँछु भनिन्,’ हरि विदेश जान बनाएको योजना सुनाउनुहुन्छ । 

विदेश जान मेडिकल रिपोर्ट ‘अनफिट’ आएपछि घर व्यवहार सम्हाल्न ‘फिट’ हुनैपर्ने परिस्थिति आइप¥यो हरिलाई । 

२०७२ सालको चैतमा आशिका ओमान लागिन् । । १५ वर्षअघि तय भएको जिन्दगीको यात्रामा पहिलोपटक टाढा भएका थिए हरि र आशिका । धादिङका हरि र सर्लाहीकी आशिकाको काठमाडौंमै भोट भएको थियो । मन मिलेपछि कसले छेक्थ्यो र ? १३ वर्षको उमेरमा भागी बिहे गरे ।

एक छोरी र एक छोरा जन्मिए । कहिले ज्यामी काम गरेर त कहिले गाडीको स्टेरिङ समातेर चार जनाको परिवार चलाउँदै हुनुहुन्थ्यो हरि । 

बालबच्चा बढ्दै जाँदा खर्च बढ्यो, तर आम्दानीको बाटो बढेन । विकल्पमा विदेश जाने हरिको योजना पनि सफल भएन । र आशिकाले हरिको सपनाको बाटो समात्नुभयो । 

‘उनले मेरो जिम्मेवारी लिएर विदेश गएपछि त छोराछोरी र घरव्यवहार त मैले धान्न प¥यो नि, तर साह्रै हैरानी हुनेरहेछ,’ हरिले आफ्नो भोगाई र अनुभव सुनाउनुभयो । 

हरि गाडी चलाउनुहुन्थ्यो । बिहान चार बजेदेखि साँझसम्म । छोराका लागि कसरी समय मिलाउने ? चिन्ता प¥यो हरिलाई । 

‘बिहानको लागि पनि अघिल्लो दिन बेलुका नै खाना बनाउँथें, आफू त बिहानै जानु परिहाल्यो छोरालाई तिमी खाएर जाउ है भन्दा हुन्छ भन्थ्यो नि,’ हरि आमा बन्दाको सास्ती सम्झनुहुन्छ । दिनभरी धुलो धुवासँग लड्दा फोहोर भएको आफ्नो र छोराको लुगा धुँदै उहाँ खाना बनाउनुहुन्थ्यो । 

सधैं त्यस्तो मौका पनि कहाँ मिल्थ्यो र । कहिले त धेरै दिन बित्दा पनि लुगा धुन भ्याउनुहुन्थ्यो । कहिले थकाई लाग्थ्यो, कहिले अल्छी । 
‘कति मैलो हुन्थ्यो लुगा, फोहोर हुन्थ्यो कोठा पनि,’ हरि सम्झनुहुन्छ, ‘छोरो पनि मैलो भएर नै स्कुल जान्थ्यो ।’ श्रीमती विदेश गएपछि घर, छोरो र आफू पनि मैलो भएझैं लाग्थ्यो हरिलाई । 

छोरो ज्ञानी भएर सजिलो भयो 

बुवाले अह्राएर गएको सबै कुरा मान्थे छोरा सनिल । बेलुकी पाकेको भात तताएर खान्थे वा चिसै खान्थे, हरि कामबाट फर्किंदा भाँडो रित्तै हुन्थ्यो । 

‘जे भने पनि नाई नभन्ने, बेलाबेलामा ममीसँग कुरा गराइदिन्थें, उ त खान लाउन पाए खुसी हुन्थ्यो नि,’ हरि भन्नुहुन्छ, ‘आमा भोलिपर्सि आउँछ है भनेर भनेको थिएँ, त्यसैले कसैले सोधे भने भोलिपर्सि आउनुहुन्छ भन्थ्यो ।’

काममा गएका बुवा फर्किंदा सनिलले होमवर्क सकिसकेका हुन्थे । तर छोरालाई सधंै एक्लै छाडेर पनि के गर्नु । हरिले अर्को काम खोज्ने निधो गर्नुभयो । 
बिहानैदेखि रातिसम्म गर्नुपर्ने काम छाडेर हरिले १० देखि ५ बजेसम्म गाडी चलाउने काम गर्नुभयो । बिहानदेखि बेलुकीसम्म गाडी चलाउँदाको जस्तो कमाई त थिएन, तर छोरालाई समय दिन भ्याइने भएपछि पहिलेको काम छाडिदिनुभयो । 

सम्बन्ध भनैकै विश्वास हो

‘श्रीमती विदेश गइन् भन्दैमा मैले मनपरी गरिन, रक्सी खाएर हिँडिन, विश्वास त हो सबै कुरा,’ हरि भन्नुहुन्छ । 

श्रीमती विदेशमा हुने कतिका श्रीमानले अविश्वास राखेको उहाँले पनि देख्नुभएकै हो । तर परिवारकै भविष्य सोचेर सात समुद्र पारि पुगेकालाई अविश्वास गर्नु पाप हो भन्ने लाग्छ हरिलाई । 

श्रीमतीसँग मन लागेका बेला बोल्न पाईंदैन थियो । फोनमा कुरा गर्ने अवसर जुटेका बेला सुखदुःख साट्ने समय पनि मिल्दैन थियो । 
श्रीमती नहुँदा मनमा गुम्सिएका अप्ठेरा सुनाउनु त कति थियो कति । तर हरिले आशिकालाई चिन्ता नहोस् भनेर कहिले पनि नराम्रो खबर सुनाउनुभएन । 

‘छोरा मभन्दा ठूलो बनोस्’

दुःखसुख जे भए पनि परिस्थितिले थमाएको नियती भोग्नै पर्‍यो । झण्डै दुई वर्षसम्म आशिका विदेश बस्दा हरिले घर चलाउनुभयो ।

२०७४ फागुनमा आशिका फर्किनुभयो । सोचेजस्तै धन नभए पनि श्रीमती फर्किपछि हरिको खुशीका दिन फर्किएका छन् । 

‘मैले अहिले नि गाडी चलाइरहेको छु, ३० हजार जस्तो कमाइ हुन्छ, परिवार चलेकै छ,’ हरि सन्तुष्ट हुनुहुन्छ । मावलीले नै छोरीको जिम्मेवारी लिएका छन् । हरिलाई छोरीको चिन्ता छैन । छोरालाई भने आफूभन्दा ठूलो मान्छे बनाउने योजना छ हरिको  ।

‘सानैमा काठमाडौं आइयो, बिहे भयो, पढ्न पाइएन, त्यसैले छोरालाई त पढाउन मन छ,’ होमवर्क गरिरहेका छोरातिर हेर्दै हरिले भन्नुभयो, ‘म भन्दा ठूलो मान्छे बनोस् ।’

श्रीमती फेरि विदेश जाने तयारीमा लाग्दा हरिको भित्री मन चिसो हुन्छ । तर अलि धेरै कमाई गर्ने अर्को नहुँदा चुप लागेर बस्नुको विकल्प छैन । आशिका फेरि विदेश गए पनि आपसी विश्वास र समझदारीले घर चलाउन सकिन्छ भन्ने ठूलो आत्मविश्वास छ हरिमा ।

 

त्यसपछि श्रीमान् विदेशमा भएपनि काम गर्न थालेँ

अन्तिम अपडेट: कात्तिक ७, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया