नेपाली भर्सेस अंग्रेजी

 कात्तिक ३, २०७५ शनिबार ८:६:४३ | निर्जला अधिकारी
unn.prixa.net

भाषा आवाज हो
अधिनायकत्व  होइन
भाषा जननी हो
कुनै बाद र  लिङ्ग  होइन

मूर्दावाद उसको शब्दलाई
मूर्दावाद उसको विचारलाई
माफ गर
आज आफ्नै  शब्दहरुले
अाफैंलाई रंग्याएकी छु ।

माफ गर्नुहोला सुरुवात आफ्नै  कविताबाट गरेकी छु  र विषय हो भाषा । त्यसमा पनि अंग्रेजी  र नेपाली भाषाबीचको द्वन्द्व भनौँ वा त्यसले निम्त्याएको हिनताबोध र ‘युफोरिया’ ।

माथि कवितामा पनि भनेकी छु भाषा आवाज हो अधिनायकत्व होइन । तर मैले त्यस्ता व्यक्तिहरु भेटेकी छु जसले अंग्रेजी  नजान्नेलाई सारै ठेट भाषामा भन्दा सारै मूर्ख सम्झन्छन् । र मेरा त्यस्ता साथीहरु र आफन्तहरु  पनि छन्  जसलाई अंग्रेजी  नजानेकोमा सारै हिनताबोध छ । तर भाषा आफैमा  विद्वता र हिनताबोधको बिम्ब कसरी बन्न सक्छ ? अंग्रेजी  जान्नुको ‘युफोरिया’ र नजान्नुको हिनताबोध  के आफैमा सही कुरा हो ? यी प्रश्नहरुले यदाकदा मलाई झक्झकाउने गर्छ । र सोच्ने गर्छु अंग्रेजीले निम्त्याएको हिनताबोध र युफोरियाले दीर्घकालीन परिणाम के ल्याउला ।

कदिन कामविशेषले एकजना दिदीसँग  भेट भएको थियो । हामी एउटा कार्यक्रममा थियौँ ।  उहाँ ‘ब्रदरहूड’लाई नेपालीमा भात्तृत्व भनिन्छ भन्ने थाहा पाएर एकदमै हाँस्नुभयो त्यो हाँसोमा  थोरै नेपाली भाषाप्रतिको हेयकर दृष्टिकोण पनि थियो । र मलाई लाग्यो हामी भाषालाई लिएर कतिधेरै ‘जजमेन्टल’ हुँदैछौँ ।

जब अंग्रेजीको कुरा आउँछ म आफै पनि अलि बढी सजग हुने गर्छु  तथापि मेरो लागि सामान्य बोलिचालीको अंग्रेजी टाउको दुखाई कहिल्यै भएन । र पनि मलाइ मेरो   अंग्रेजीमा त्यति विश्वास लाग्दैन जति नेपालीमा  लाग्छ । अथवा भनौँ मेरो पृष्ठभूमि अंग्रेजीमय छैन । मेरो अंग्रेजी त केवल जान्नुपर्छ भनेर जानेको अंग्रेजी मात्र हो । तर म जति अंंग्रेजी नजाान्नेको संख्या ठूलो छ, र पोख्त हुनेको जमात पनि ठूलै छ । यद्यपि अंग्रेजी आफैमा विद्वता, आधुनिकता र ‘सोकल्ड’ उच्चताको मानक भने हुँदै होइन ।

दुःखको कुरा, अहिलेको हाम्रो  समाज अंग्रेजी सिक्नुपर्छ भन्ने कुरामा जति उद्वत छ नेपाली छोड्नुहुन्न भन्नेकुरामा त्यति सजग छैन । त्यसले अंग्रेजी जान्ने र नजान्नेबीचको खाडल गहिरो हुँदै जाँदैछ । फलतः अंग्रेजी जान्नेहरुमा नचाहिँदो दम्भ बढाएको छ भने नजान्नेहरुमा म केही गर्न सक्दिनँ किनकी मलाई अंग्रेजी आउँदैन भन्ने जस्तो हीन भावना जागृत गर्दैछ । थाहा छैन यसले अबका नानीहरुमा नेपालीप्रति कस्तो दृष्टिकोण निर्माण गर्ला । र शहरबजारमा अंग्रेजी स्कुलमा पढेका नानीहरुले हाम्रा गाउँघरका  अंग्रेजी कम जान्ने नानीहरुलाई कस्तो व्यवहार गर्लान् । यो कुरा छलफलमा आएकै छैन ।

विषय त्यति गम्भीर नलाग्न सक्छ । किनकि अहिले हाम्रो  लागि जति अंग्रेजी आवश्यक छ त्यति नेपाली नहुँदा केही हुँदैन भन्ने लाग्न सक्छ । तर दीर्घकालीन रुपमा एउटा भाषाप्रतिको  अति लगाव र अर्को भाषा जो आफ्नो  हो त्यसप्रतिको व्यवस्थापन के आफैमा उचित हो? र यसले अबका स–साना नानीहरुमा  कस्तो असर पर्ला ? यी प्रश्नहरु प्रश्नमै सीमित छन् अझै पनि ।

अर्को कुरा, नेपाली जुन हाम्रो हो र त्यो जान्नुलाई किन कमजोरी ठान्छौँ ?  अंगेजी जुन हाम्रो होइन त्यो नआउन पनि सक्छ किन त्यसलाई हिनताबोधको विषय बनाउछौँ ?

यस्तै विषयमा भारतीय कवि उदय प्रकाशको एउटा कविता एकदमै मनपर्छ जसको शीर्षक छ, ‘एक भाषा हुआ करती है’ । जहाँ उनी लेख्छन्ः 

यह वही भाषा है जिसको इस मुल्क में हर बार कोई शरणार्थी, कोई तिजारती, कोई फिरंग
अटपटे लहजे में बोलता और जिसके व्याकरण को रौंदता
तालियों की गड़गड़ाहट के साथ दाखिल होता है इतिहास में

माथि उद्धृत पंक्तिमा उनी भन्छन्, ‘यो त्यही भाषा हो जसको व्याकरणीय कमजोरीलाई पनि तालीले स्वागत गरिन्छ इतिहासका पानाहरुमा ।’ उनले यो कविता भारतमा रहेका ‘सो–कल्ड’ उच्च वर्गको अंग्रेजी मोहलाई व्यङ्ग्यात्मक शैलीमा लेखेका यिए । यसो विचार गर्दा अहिले हाम्रो अवस्था पनि यही छ । जति बीचबीचमा अंग्रेजी मिसाएर नेपाली बोल्नुलाई राम्रो मानिन्छ त्यति ठेट नेपालीमा बोल्नुलाई नराम्रो ।

तर के अंग्रेजी आफैमा ज्ञानको मानक हो त ?  हामी जसको पहिलो भाषा नेपाली  वा अन्य मातृभाषा हुनसक्छ उसलाई अंग्रेजी नआउनु सामान्य होइन ? यी यस्ता प्रश्नहरु एकफेर हामी सबैले आफैलाई सोध्न आवश्यक छ कि ?

 अंग्रेजी आउनु एकतर्फबाट सोच्दा ‘मोडर्न’ लाग्नु स्वभाविक हो हाम्रो जस्तो अतिकम विकसित देशमा । तर ‘वेस्टर्न’ हुनुु, अंग्रेजी जान्नु आधुनिक र  बौद्दिक हुनु  कदापि होइन ।

अन्त्यमा, हामीलाई अंग्रेजी नआउन सक्छ, हामी जिन्स नलगाउन सक्छौँ, हामी लजाएर बोल्न सक्छौँ यसको मतलब हामी मूर्ख कदापि होइनौँ, भाषा माध्यम मात्र हो आफैमा विद्वता हुँदै होइन ।
 

अन्तिम अपडेट: कात्तिक २०, २०७५

तपाईको प्रतिक्रिया