ऐतिहासिक तथा धार्मिक महत्वको अकला मन्दिर (फोटोफिचर)

 कात्तिक ३, २०७५ शनिबार ११:३०:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – केही उच्चो ठाउँ । त्यसैमाथि हरियाली जंगल । तल समथर फाँट । निकै रमणीय ठाउँमा रहेको छ, अकला मन्दिर । 

धार्मिक तथा ऐतिहासिक महत्वको यस मन्दिर निकै पुरानो मानिन्छ । सुन्दरबजार नगरपालिका–८, अकलामा पर्छ, अकला मन्दिर । डुम्रे–बेसीशहर सडकखण्डको सडकको आडैमा जोडिएको छ, मन्दिरसम्म पुग्ने बाटो । सडकबाट झण्डै २ सय मिटरको सिँडी बिच्छ्याईएको बाटो उक्लेपछि मन्दिर आईपुग्छ । बाटोको आडैमा ढकमक्क फूल छन् ।    

यस मन्दिर पूजा–आजा गर्दा घरपरिवारमा सुखशान्ति छाउने, मनोकांक्षा पुरा हुने, भाकल गरेमा मुख बोल्न नसक्नेहरु मुख बोल्ने जनविश्वास रहेको स्थानीय मिनप्रसाद ढकाल बताउनुहुन्छ ।    

उहाँका अनुसार विशेष गरी यस मन्दिरमा दुर्गादेवीको पूजा–आराधना गरिन्छ । विगतका केही वर्षहरुमा अकला मन्दिर जंगलको बीचमा थियो । तीनपट्टी ढुंगाको गारो लगाई बीचमा दुर्गादेवीको मूर्ति राखिएको थियो । त्यसैमा पूजा–आजा गरिदैँ हुँदै आएको थियो । 

विगतका वर्षको तुलनामा अहिले मन्दिरले केही रुप फेरेको छ । स्थानीयले मन्दिरको संरक्षण– संवद्र्धनमा सक्दो प्रयास गरिरहेका छन् । मूल अकला मन्दिरसंगै मन्दिर परिसरमै शिव मन्दिर, गणेश मन्दिर पनि बनाईएको छ ।

पुजारी बस्ने र सत्संग गर्नका लागि एउटा पाटी पनि बनाईएको छ । यहाँ दैनिक भजन कीर्तन, धार्मिक प्रवचन हुने गर्दछ । प्राय दिनहुँ स्थानीय वृद्धवृद्धाहरु जम्मा भई भजन किर्तनका साथै धार्मिक प्रवचनमा रमाउँछन् । धार्मिक ज्ञान बटुल्छन् ।

 

मन्दिरमा आई भजनकिर्तन गर्न पाउँदा, धर्मका कुरा सुन्न पाउँदा साह्रै खुशी लाग्ने स्थानीय ७१ वर्षे मैयाँ कुवँरले बताउनुभयो । ‘समय गुजार्न सजिलो भएको छ । मन्दिरमा आई भजनकिर्तन गर्दा, धर्मका कुरा सुन्दा ज्ञान पनि बढेको छ । रिस,राग पनि हराउँदै गएको छ,’ भजन गाउनमा व्यस्त रहनुभएकी कुवँरले प्रसन्न मुद्रामा भन्नुभयो ।    

मूल अकला मन्दिरलाई सिँगारिएको छ । विगतको तुलनामा मन्दिरले मुहार फेरेतापनि पर्याप्त रुपमा मन्दिरको संरक्षण संवर्द्धन हुन नसकेको स्थानीय बताउँछन् । मन्दिरका पुजारी अमरबहादुर कुवँरका अनुसार अकला मन्दिरमा दैनिक पूजा–आजा हुने गर्दछ ।

यस मन्दिरमा बलि चढ्छ । मन्दिरमा कुखुरा, राँगो, परेवा, बोकाको बलि चढाइन्छ । औँशी, एकादशी, रामनवमी, सोह्रश्राद्ध र श्रावण महिनामा भने बलि चढ्दैन ।

मन्दिरका पुजारीका अनुसार बलि चढाउनका लागि छुट्टाछुट्टै स्थल बनाइएको छ । ‘मूल मन्दिरमा बलि चढाईदैँन । मूल मन्दिरमा पूजाआजा मात्र गरिन्छ,’ उहाँले भन्नुभयो ।  

मन्दिरमा विवाह व्रतवन्ध लगायतका शुभकार्य हुने स्थानीय ७२ वर्षे मुक्तिनाथ ढकालले बताउनुभयो । 

स्थानीय वृद्ध गणेशबहादुर कुवँरका अनुसार पूजा–आजा गर्नका लागि टाढाटाढाबाट समेत भक्तजनहरु अकला मन्दिरमा आउँछन् । लमजुङसहित, तनहुँ, पोखरा, गोरखा, स्याङ्जा पर्वत, काठमाडौँ, पोखराका साथै देशका विभिन्न ठाउँबाट भक्तजनहरु पूजा–आजाका लागि यहाँसम्म आउने गरेका छन् । 

‘धार्मिक तथा ऐतिहासिक महत्वको मन्दिर पनि भयो । मन्दिरसम्म आउने बाटो सडकमै जोडिएको छ । मन्दिरसम्म आउन सजिलो छ । त्यसैले पनि टाढाटाढाबाट समेत मानिसहरु पूजा गर्न मन्दिरसम्म आउँछन्,’ मन्दिरका पुजारी अमरबहादुरले भन्नुभयो ।

मन्दिरको संरक्षण संवर्द्धनका साथै प्रचारप्रसारका लागि सम्वद्ध पक्ष जुट्नु आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।        
 

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया