‘खाडीमा होइन, श्रम-पसिना बगाए झाडीमै पैसा फलाउन सकिन्छ’

 कात्तिक ४, २०७५ आइतबार १४:१२:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – उहाँको रोजाइको पेशा हो, कृषि । जीवन चलाउने दरिलो आधार पनि यही कृषि नै हो, उहाँको । घाम उदाएदेखि नअस्ताएसम्म उहाँ कृषि कर्ममै जुट्नुहुन्छ । व्यस्त हुनुहुन्छ । यसैमा हरदम रम्नुहुन्छ । 

वस्तुभाउका लागि घाँस, पराल गर्नु । कुखुरा, बंगुरलाई दानापानी हाल्नु । बारी, टनेलमा लगाईएको तरकारी खेतीको हेरचाह गर्नु । गोडमेल गर्नु, उहाँको दैनिकी हो । 

परिवारको साथमा घरमै बसेर । गाउँघरकै माटोमा रगतपसिना बगाउन पाउँदा छुट्टै आनन्द मिलेको छ, लमजुङ सुन्दरबजार–६, ऐंसेलुचौरका मंगलसिंह परियारलाई । 

उमेर बिस्तारै घर्किदो छ । तर उहाँ अझै जोसजाँगरका साथ काम गर्नुहुन्छ । उहाँको कामप्रतिको लगाव । फूर्ती देखेर सबै छक्कै पर्छन् ।  

    

बिहेअगाडि उहाँले ‘गाडी लाइन’मा लामो समय व्यतित गर्नुभयो । उसगैरी पोखरामा बसी मासु पसलमा पनि काम गर्नुभयो । २०५९ सालमा उहाँ गाउँ फर्कनुभयो । र बिहे गर्नुभयो । बिहे भएसँगै परिवार पाल्नुपर्ने जिम्मा थपियो, उहाँको काँधमा ।    

बाँझो जमिनमा तरकारी खेती

परिवार पाल्नकै लागि उहाँले मजदूरी पनि गर्नुभयो । तर जीवन चलाउन सकसै भयो । 

त्यसपछि, उहाँले गाउँमै खेर गएको बाँझो पाखो बारीमा तरकारी खेती गर्ने योजना बनाउनुभयो । र तरकारी खेती पनि सुरु गरिहाल्नुभयो । अहिले उहाँको बाँझो बारी हरियाली भएको छ, तरकारी खेतीले ।    

तीन छोरा र श्रीमती बिमलाको साथमा बस्दै आएका मंगलसिंहले श्रीमतीकै सल्लाहमा तरकारी खेती गर्नुभएको हो । 

उहाँहरुले बारीमै टनेल बनाई तरकारी खेती सुरु गर्नुभएको हो । २०७४ सालबाट उहाँहरुले तरकारी खेती सुरु गर्नुभएको हो । अहिले उहाँको टनेलमा गोलभेँडा फल्दै छ । टनेलमै काउली, बन्दा, काँक्रो, भेन्टा, साग, धनियाँ फल्दै छ । हुर्कँदै छ । 

१५ हजारमा टनेल निर्माण गरी परियार दम्पतीले तरकारी खेती गरेका हुन् । ‘धेरै काम आफैले गरियो । टनेल निर्माणमा १५ हजार रुपैयाँ खर्च भयो,’ मंगलसिंहले बताउनुभयो ।       

सुरुकै वर्षमा टनेलमा च्याउ खेती गरेका उनीहरुले च्याउमा आशा गरेअनुसार आम्दानी नभएपछि तरकारी खेतीमा हात हालेका हुन् ।

  

‘सुरुमै टनेलमा च्याउ खेती गरियो । पहिलो चरणमा राम्रै आम्दानी भयो । २९ हजार जति कमाई भएको थियो । तर दोश्रो चरणमा च्याउ फस्टाउन सकेन । राम्रो आम्दानी पनि भएन । गोलभेँडा खेतीमा फाइदा हुने देखेर अहिले टनेलमा गोलभेँडा लगाएको छु,’ ५१ वर्षे मंगलसिंहले भन्नुभयो ।  

घरमै पानी आएपछि सहज   

गाउँमा घरघरमै धारामा पानी आउन थालेपछि तरकारी खेती गर्न उनीहरुलाई सहज भएको छ ।

‘पहिले पिउने पानी लिन घण्टौँको बाटो धाउनुपथ्र्यो । धारामा पालो कुर्नुपथ्र्यो । अहिले घरकै धारामा पानी आउन थालेपछि तरकारी खेती गर्न सजिलो भएको छ,’ बिमलाले भन्नुभयो ।

बिमला र मंगलसिंह मिलेर कृषि कर्म गरेका छन् । यसै पेशामा रमाएका छन् । उनीहरुले तरकारी खेतीका साथै बंगुर, ब्रोइलर कुखराका साथै बाख्रा पालेका छन् । खनजोतका लागि एक हल गोरु पनि पालेका छन् । धान खेती पनि गरेका छन् ।

छोराहरु साना छन्, र पनि उनीहरुले सकेको सघाउँछन्, बाआमालाई । ‘जेठो छोरा युनिकले बिदाको समयको उत्पादित तरकारी बजारसम्म लैजाउन सघाउँछ । तरकारीमा पानी हाल्न सघाउँछ,’ बिमलाले थप्नुभयो ।   

 

कृषि पेशाबाटै केही आम्दानी हुने, परिवार चलाउन सहज हुने विश्वासका साथ उनीहरुले कृषि कर्मको थालनी गरेका हुन् । ‘कृषिमा लागिएको छ । यसले परिवारको गर्जो टार्न पक्कै सहज हुनेछ भन्नेमा आशावादी छौँ,’ बिमलाले भन्नुभयो । 

झाडीमै पैसा !      

‘उनीहरुले काँक्रो, साग बेचेर राम्रो कमाएका छन् । उनीहरुले घरअगाडि रहेको एक रोपनी जग्गामा तरकारी खेती लगाएका छन् । ‘सागको माग धेरै छ । माग पुर्याउन सकिएको छैन । ‘भदौमा मात्रै चार हजार बढिको काँक्रो बेच्यौँ । सुरुवातकै चरणमा छौँ । बिस्तारै यसै व्यावसायलाई अघि बढाउने सोच छ,’टनेलमा लगाईएका गोलभेँडामा पानी हाँल्दै मंगलसिंहले  आफ्नो योजना सुनाउनुभयो ।   

मनमा जोस जाँगर भए । गर्न सके पैसाका लागि खाडी धाउनु नपर्ने उहाँ बताउनुहुन्छ । ‘श्रमपसिना बगाउन सक्नुपर्यो । खाडीमा मात्र होईन झाडीमै पैसा फलाउन सकिन्छ,’ मंगलसिंहले आवाज बुलन्द पार्दै भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • Pradhan suraj

    Oct. 21, 2018, 8:54 p.m.

    राम्रो काम गर्नुभएको रहेछ, देखेर खुशी लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया