भेरी बबई आयोजनाको काम सोचेभन्दा राम्रो, चैत महिनाभित्रै सुरुङ खन्ने काम सकिने

 कात्तिक ५, २०७५ सोमबार ९:६:५ | भावुक योगी
unn.prixa.net

बर्दिया – राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको काम सोचेभन्दा राम्रो भएको छ । यही गतिमा काम भएमा चैत महिनाभित्रै सुरुङ खन्ने काम सकिने आयोजनाले जनाएको छ ।मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोगद्वारा १२ किलोमिटर दुईसय मिटर लामो सुरुङमध्ये ११ महिनाको अवधिमा झण्डै ७५ प्रतिशतभन्दा बढी खनिएको छ । 

नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम)बाट सुरुङ खन्ने काम भइरहेको छ । गएको वर्ष कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालिएको हो । अहिलेसम्म ८ किलोमिटर ५५६ मिटर लामो सुरुङ खनिसकिएको आयोजनाले जनाएको छ । अहिलेकै गतिमा काम भइरहने हो भने अबको ६ महिना अर्थात् आउँदो चैत महिनाभित्र भेरी बबई डाइभर्सनको सुरुङ खन्ने काम सकिने अपेक्षा गरिएको छ । 

प्रदेश नम्बर ५ को बर्दिया र कर्णाली प्रदेशको बीचमा पर्ने रत्न राजमार्गको बबई चेपाङ्ग सुर्खेतको हात्तीखालबाट मेशिनले सुरुङ खन्ने काम थालिएको हो । 

कुनै अवरोध नआए चैतभित्र सुरूङ खन्ने काम सकिने सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट कृष्णप्रसाद उपाध्यायले बताउनुभयो ।

तीन चरणमा निर्माण सम्पन्न गरिने आयोजनाको पहिलो चरणमा १२ किलोमिटर २ सय मिटर सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । तेस्रो चरणमा सिँचाईका लागि काम गरिनेछ । उपाध्यायका अनुसार निर्माण कम्पनीले अपेक्षाभन्दा तीव्र गतिमा काम अगाडि बढाएको छ । तीन चरणमा निर्माण सम्पन्न गरिने आयोजनाको पहिलो चरणमा १२ किलोमिटर २ सय मिटर सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । तेस्रो चरणमा सिँचाईका लागि काम गरिनेछ ।

सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ५.५ डायमिटर व्यासको १२ किलोमिटर २ सय मिटर लामो चुरे पहाडमा मेसिनले दैनिक ४० मिटर सुरुङ खन्ने गरेको छ । १२ किलोमिटर २ सय मिटर सुरुङमध्ये  १५० मिटर त मान्छेबाटै खनिएको हो । अब झण्डै साढे ३ किलोमिटर मात्र खन्न बाँकी छ । 

मेसिनले अपेक्षाभन्दा राम्रो काम गर्न थालेपछि यस्तै प्रविधी अब सडक र खानेपानीका लागि पनि प्रयोग गर्न उपयुक्त रहेको सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट कृष्णप्रसाद उपाध्यायको भनाइ छ । 

सुरुङ खन्ने क्रममा तोलीखोला आसपासको क्षेत्रमा जोखिम ठानिएको थियो । तोलीखोलादेखि सुरुङसम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र छ । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो । टिबिएमले उक्त भाग पार गरेकाले अनुमान गरिएजस्तो जोखिम देखिएन । त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको उपाध्यायले बताउनुभयो । 

‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ, अब सुरुङ निर्माणको काम सम्झौतामा ताकिएको समयभन्दा अघि नै सकिन्छ’ उहाँले भन्नुभयो । मानवरहित मेशिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तोलीखोलाको जोखिम क्षेत्र पार गरिसकेपछि मेसिनले तीब्र गतिमा काम गरिरहेको आयोजनाले जनाएको छ । 

सुरुङको काम सकिएपछि सुर्खेतको चिप्लेमा ड्याम र बर्दियाको चेपाङमा पावर हाउस निर्माण हुनेछ । चिप्लेमा १५ मिटर अग्लो ड्याम बनेपछि सुरुङमार्फत भेरी नदीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिने छ । सिँचाई सुबिधाका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो । 

सिँचाइका साथै यो बहुउद्धेश्यीय आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन गर्ने गरी बर्दियामा विद्युत गृह निर्माण गर्ने समेत लक्ष्य राखिएको छ ।

सुरूङ खन्ने काम सोचेभन्दा राम्रो

चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले अपेक्षाभन्दा राम्रो काम गर्न थालेपछि तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने अपेक्षा गरिएको छ । 

‘यो राष्ट्रिय गौरवको आयोजना हो, यसरी नै द्रुतगतिमा काम हुने हो भने चैत महिनामा सुरूङ खन्ने काम सकिन्छ’ आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट कृष्णप्रसाद उपाध्यायले भन्नुभयो । 

टीबीएम सुरुङ खन्नका लागि भनेर चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले चीनबाट ल्याएको अत्याधुनिक मेसिन हो । यसका पार्टपुर्जा अमेरिका र चीनमा बनेका हुन् ।

यसअघि आयोजनाले सन् २०२० सम्ममा सुरुङ खनिसक्ने कार्य योजना बनाएको थियो । तर १२ किलोमिटर खन्नुपर्ने सुरूङ ११ महिनामै साढे ८ किलोमिटर खनिसेकाले कुनै प्राविधिक समस्या नआएमा अबको ६ महिनाभित्रै खनिसक्ने उपाध्यायले बताउनुभयो । 

अहिलेसम्म पराम्परागत प्रविधिबाट खन्दा दैनिक औसतमा एकदेखि दुई मिटर मात्र सुरुङ खन्न सकिने भएपनि हाल टीबीएमका प्रयोगपछि दैनिक औसतमा ४० मिटरसम्म सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । 

शैक्षिक हब बन्दै

आयोजना क्षेत्र अवलोकनकर्ताहरुको पनि दिनहुँ घुईंचो लाग्ने गरेको छ । 

आयोजनाले गरेका गतिविधि हेर्न दिनहुँ पर्यटक लगायत विद्यार्थीको भीड हुने गरेको भेरी बबई आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठले बताउनुभयो । ‘आयोजनास्थलमा इन्जिनियरिङका शिक्षक, विद्यार्थी, व्यवसायी, कृषक लगायत विभिन्न क्षेत्रका मानिस अवलोकनका लागि आउने गरेका छन्’ उहाँले भन्नुभयो ।

देशकै गौरवको योजना भएकाले पनि नेपालका विभिन्न स्थानका मानिस सुरुङ अवलोकन गर्न भीड लाग्ने गरेको हो । साविकको मध्यपश्चिम क्षेत्र हालको कर्णाली प्रदेशकै पर्यटकीय क्षेत्रमा आयोजना निर्माण भएकाले भविष्यमा पर्यटकीय गन्तव्यको रूपमा समेत टेवा पुग्ने श्रेष्ठले बताउनुभयो । अहिले दिनहुँ झण्डै ४ सय जना अवलोकनका लागि आउँछन् । सुरुङभित्र प्रवेश गर्दा काममा अवरोध आउने भएकाले सम्वेदनशील क्षेत्रमा असर नपुग्ने गरी आयोजनाको भ्रमण गराइने गरिएको उहाँले बताउनुभयो ।

आयोजनामा चिनियाँ र नेपाली गरी झण्डै ६ सय जनाले काम गरिरहेका छन् । आयोजनामा रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । स्थानीयको न्यूनतम पारिश्रमिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म छ । कर्मचारी गणेश श्रेष्ठका अनुसार परियोजनाले नजिकैका व्यापारिक स्थल र गाउँमा पशुजन्य सामग्रीको बिक्री पनि बढेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया