सप्तरीमा बस दुर्घटना : सहचालकको मृत्यु, आठ जना घाइते

 कात्तिक ५, २०७५ सोमबार १७:३४:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको देवधार चौकमा सोमबार भएको मिनी बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सुनसरीको चतराबाट काठमाडौंतर्फ गइरहेको बा ४ ख ४४७० नम्बरको यात्रुबाहक मिनी बस दुर्घटनामा परि काभ्रे निवासी अन्दाजी ४५ वर्षीय दिपक राईको मृत्यु भएको हो । सिरहाको लाहानमा रहेको सप्तऋषि अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षीय सन्तोष लिम्बू, वडा नम्बर १ की २७ वर्षीया दिपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षीय गोपाल दाहाल, ३० वर्षीया लीला दाहाल, २ वर्षीया बालिका सिजु दाहाल, वडा नम्वर ७ की ५४ वर्षीया जानुका बास्तोला, खोटाङको ससनेत गाउँपालिका–१ की ३४ वर्षीया सीता राउत र भोजपुरको हनुवागढी गाउँपालिका–२ का २४ वर्षीया तारा कार्की रहेका छन् । घाइतेहरुको जिल्लाको खडक नगरपालिकाको खर्चुहियामा रहेको इन्द्रेणी पोलिक्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेको त्यो मिनीबसका चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको बसमा सवार यात्रुहरुले बताएका छन् ।

बसका चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया