अलैंचीको मूल्य घटेपछि पूर्वमा आर्थिक मन्दी, दसैँमा पनि सदरमुकाम सुनसान
 

 कात्तिक ६, २०७५ मंगलबार ७:२५:२७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङ सदरमुकामका कपडा व्यापारी राजमणि मिश्रले यस वर्षको दसैँमा गएको वर्ष भन्दा ५० प्रतिशत बिक्री घटेको बताउनुभयो ।

डिस होम, रेडियो, टीभीलगायतका ईलेक्ट्रोनिक समान बेच्ने महेन्द्र खतिवडा बिक्री ठप्प हुँदा पसल बेच्नु पर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् । सदरमुकाम फुङ्लिङका अन्य व्यवसायीहरु दसैँको सिजनमा पनि आर्थिक मन्दी छाउँदा व्यवसाय नै परिवर्तन गर्ने सोचमा पुगेको बताउँछन् ।

दुई वर्षअघि प्रति मन (४० किलो) को एक लाख नाघेको अलैंचीको मूल्यमा गिरावट आएकै कारण दसैँको मुखमा समेत व्यवसाय खस्किएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीको दाबी छ ।

इलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र खतिवडा व्यापार ठप्प हुँदा सटरको भाडा तिर्ने अवस्थासम्म नहुने भएकोले अबका दिनमा के गर्ने भन्ने दोधारमा भएको बताउछन् ।

‘पहिले बिक्री पनि राम्रै थियो, दैनिक ४० र ५० हजाराको टीभी, डिस होमलगायतको सामाग्री बिक्री हुन्थ्यो, भाडा पनि सहजै तिरिँन्थ्यो । अहिले दैनिक दुई हजारको पनि सामाग्री बिक्री हुँदैन । के ले खाने केले भाडा तिर्ने ?’, खतिवडा भन्नुहुन्छ्, ‘अलैंचीको भाउ एक लाख माथि हुँदा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चहल पहल बाक्लै हुन्थ्यो । अहिले सुनसान छ ।’

‘दसैँको समयमा त सानो सडक भएको सदरमुकाममा भिडभाडले सवारी साधन जाम समेत हुन्थ्यो, अहिले त दिनभर पसल रुँघेर बस्यो बिक्री शून्य छ । दसैँको समय हो कि वर्षाको समय । बिक्री नै छैन,’ कपडा पसल सञ्चालक कमला पौडेल भन्नुहुन्छ ।

ताप्लेजुङवासीको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीको भाउ गएको वर्षबाट लगातार घटेर मनको (४० किलोको) २५ र ३० हजार रुपैयाँमा झरेपछि सबैतिर यसको असर परेको हो ।

न्यूनतम २ र ४ मन अलैंची फलाउने कृषकहरुले पनि मनको एक लाख बढी हुँदा सिजनको ४ र ५ लाख आम्दानी गर्दै आएकोमा अहिले मुश्किलले ५० हजारदेखि एक लाखसम्म मात्र आम्दानी गर्दा बालबच्चा पढाउनदेखि दैनिकी गुजारा चलाउन समेत अप्ठ्यारो भएकाले पहिले जस्तो बजार गएर सामाग्री खरिद गर्ने अवस्था नभएको आठराई त्रिवेणी गाउँपालिकाका कमल आचार्यले बताउनुभयो ।

‘कृषकको आम्दानी घटेपछि त्यसको असर सिधै व्यापार व्यवसायमा पर्छ, पहिले राम्रो व्यापार हुने आशामा पसल खोलका व्यवसायीको अवस्था अहिले नाजुक बन्न थाल्यो,’ उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे बताउनुभयो ।

व्यापार गर्न उत्साहित युवाहरु अहिले व्यापार व्यावसाय छोडेर अन्यत्र जान थालेका छन् । फुङलिङ बजारमा पसल गर्ने सटरको अभाव हुने गरेको थियो । तर, अहिले धेरै घरधनीका सटरहरु खाली भएको छ ।

व्यापारीले राम्रो आम्दानी गर्ने भएपछि सदरमुकाममा पसल गर्ने सटर र कोठाको भाडा पनि बढाएका घरधनीले आम्दानी घटेको एक वर्ष बितिसक्दा समेत व्यवसायीको मर्का नबुझ्दा व्यवसायीहरु व्यवसाय छाडेर पलायन हुने अवस्था सुरु भएको व्यवसायी महेन्द्र खतिवडाको भनाई छ ।

ताप्लेजुङको व्यापारीक केन्द्र मानिएको तोक्मेडाँडा क्षेत्रका घरधनीले पहिले तलाको सटरको मासिक २० हजार भाडा र त्यस अघि पेश्की स्वरुप दुई लाख दिएपछि मात्र कोठा दिने गरेका थिए तर अहिले एकाएक व्यावसाय छाडेर व्यापारीहरु हिँडेपछि भाडा घाउन बाध्य भएको स्थानीयको भनाई छ ।

त्यसरी व्यापार सुरु गरेका व्यवसायी अहिले धमाधम पसल नै छाड्न र पसल बिक्री गर्न थालेको स्थानीय व्यावसायीहरु बताउँछन् । दसैँको मुखमा लत्ताकपडा, किराना साथै भाँडाकुडाको व्यापार व्यवासायमा उत्साह हुनुपर्नेमा अहिले सबै ठप्प जस्तो नै रहेको व्यापारी बताउँछन् ।

ताप्लेजुङ जिल्लामात्र नभई अलैंची उत्पादन हुने पूर्वी जिल्लाहरु पाँचथर, तेह्रथुम, संखुवासभालगायतमा पनि अलैंचीको मूल्यमा गिरावट आएको छ ।

किन घट्यो अलैचीको भाउ ?

नेपालमा उत्पादन भएको अलैंचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैंची काँकडभिट्टा नाका हुँदै भारत निर्यात हुन्छ । पाँच प्रतिशत अलैंची भने नेपालमै खपत हुन्छ । मसला, पूजा सामाग्री लगायतमा अलैंची प्रयोग हुने गरेको व्यवसायीको भनाइ छ ।

अहिले भारतमा पनि अलैंची उत्पादन बढेपछि नेपालबाट भारत निकासीमा कमी भएकाले भाउ उच्च रुपमा घटेको व्यवसायीहरुले बताएका छन् ।

नेपाली अलैंची निर्यातकर्ताहरु भारतमा अलैंची उत्पादन बढेपछि नेपालको मूल्य घटेको बताउँछन् । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसाम, मेघालयलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको भारतीय व्यापारीको भनाइ छ ।

पछिल्लो समय नक्कली अलैंची समेत मिसाएर बेच्दा नेपालको अलैंची निकासीमा कमी आएको अलैंचीको क्षेत्रमा अनुसन्धान गरिरहेका संस्थाहरुको दाबी छ ।

नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तानलगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकाले पनि नेपाली अलैंचीको मूल्य घटेको व्यवसायीहरुको आशंका छ ।

नेपालबाट भारत र पाकिस्तानमा पु¥याएको अलैंचीमा नेपालबाट अलैंची जातको नक्कली बस्तु चुरुम्फा केही परिमाणमा मिसावट हुने गरेको छ । भियतनाम, ग्वाटेमालाबाट अलैंची जस्तै नक्कली सामग्री भारत भित्र्याएपछि अलैंचीको मूल्यमा गिरावट आएको अलैंची व्यवसायी महासंघको आरोप छ । 

भाउ बढ्ने आशमा गोदामै अलैंची

गएको वर्ष प्रतिमन बढीमा एक लाख १० हजार र कममा ६० हजारमा खरिदबिक्री भएको नेपाली अलैंची यस वर्ष ३० हजारमा स्थिर छ । कहिलेकाहीँ २५ हजारमा पनि बेच्नु पर्ने बाध्यता रहेको व्यापारीहरु बताउँछन् ।

मूल्य बढ्ने आशमा नेपाली व्यापारीले ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको ताप्लेजुङका व्यवसायी खेमराज केसीले बताउनुभयो । घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैंचीको कारोबार अहिले पुरै सुस्ताएको छ ।

गाेदाममै थन्किएकाे अलै‌ंची

थोरै–थोरै मात्र अलैंची साना सवारी साधनमा बिर्तामोड पठाउने गरिएको छ भने ठूलो मात्रामा अलैंची ताप्लेजुङको गोदाममा नै थन्किएको व्यवसायीको भनाई छ । लामो समय अलैंची थन्किँदा ढुसी आएर बिग्रिन थालेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङ जिल्लामा ओलाङ्चुङ्गोला बाहेक सबै क्षेत्रको कुल चार हजार ५ सय हेक्टरमा अलैँची खेती हुन्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया