यात्रुसँग तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

 कात्तिक ६, २०७५ मंगलबार ७:५६:५ | प्रकाश धौलाकोटी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तेह्रथुम – चाड पर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् ।

पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–सक्रान्ति, आठराई–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रुपमा भाडा लिइरहेका छन् । चाडवाडका बेला सहज आवत–जावत् हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुहरुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती बेहोर्न बाध्य भएका छन् ।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जीप, बोलेरो, ट्याक्सी लगायत सवारीले निर्धारित भन्दा दोब्बरभन्दा बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरुलाई टिकट समेत नदिएको यात्रुहरुको गुनासो छ । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडा लिने गाडीले अहिले एक हजार रुपैयाँसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दसैँ बित्न लाग्दा चल्न थालेको बसले समेत म्याङलुङ–सक्रान्तिबजार (करिब ६५ किमी) सडक खण्डमा प्रति व्यक्ति ६ सय रुपैयाँ भाडा असुलिरहेको छ । आठराई–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारित दरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।

चाडपर्वका बेला यात्रुको संख्या उच्च हुने र त्यस्तो मौका छोपेर व्यवसायीले भाडामा मोल मोलाई गर्ने गरेका छन् । यो वर्ष सवारी चेकजाँचमा कडाई गरिएको भनिए पनि सार्वजनिक यातायातले क्षमताभन्दा दोब्बर–तेब्बरभन्दा बढी यात्रु बोक्ने, छतमा समेत यात्रु राखेर गुडाउने, यात्रुभन्दा बढी सामान समेत बोकेर हिँड्ने, बढी भाडा असुल्ने लगायत गतिविधि गरिरहेका छन ।

दुर्गम गाउँहरुसम्म समेत सडकको पुहँच त पगेको छ । तर चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुहरुसँग ठगी धन्दा चलाइरहेका छन् । रिजर्भको नाममा समेत तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Ram gurung

    Oct. 23, 2018, 9 a.m.

    यसपालि म पनि परें यो पीडामा , पोखरा देखि लमजुंग जाँदा रु २४०/- मा पुग्ने ठाउँ ७०० भन्यो अनि दिए पनि / यो हाम्रो नेपालको चोर सरकार आफु नि कमाउने , अरुलाई नि कमाउ खाउ , जेसुकै गर भन्ने रहेछ, नत्र किन कारवाही हुन्न ?

  •  0 Reply

तपाईको प्रतिक्रिया