तेह्रथुमका खडेरी पीडित किसानलाई राहत वितरण

 कात्तिक ६, २०७५ मंगलबार ११:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाका खडेरी पीडित किसानलाई राहत वितरण गरिएको छ ।

सुख्खाग्रस्त क्षेत्रका किसानले लगाएको बालीनालीमा खडेरीले क्षति पुर्‍याएपछि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त अनुगमन गरी क्षतिको विवरण संकलन गरेका थिए । क्षतिका आधारमा खडेरी पीडित ८ सय ५४ परिवारलाई ७ हजार १ सय ५० रुपैयाँका दरले राहत वितरण गरिएको हो ।

प्रदेश सरकारबाट प्रति परिवार ५ हजार रुपैयाँ र गाउँपालिकाबाट थप २ हजार १ सय ५० रुपैयाँ गरी खडेरी पीडित छथर गाउँपालिका वडा नं. ३, पन्चकन्या, ४, फाक्चामारा र ५ ओख्रेका ८ सय ५४ परिवारलाई ६१ लाख ६ हजार १ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । 

तत्कालका लागि क्षति हेरेर समान रुपले राहत वितरण गरिएको र अब दीर्घकालीन योजनाहरु मार्फत राहत पुर्‍याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । चाडपर्वका बेला किसानलाई राहत पुगोस भन्ने ध्येयले पनि पहिलो चरणमा नगदै राहत वितरण गरिएको जनाइएको छ । 

खडेरीका कारण मकै लगायत अन्नबालीमा फल नै नलागी बोट सुकेपछि सुख्खाग्रस्त क्षेत्रका किसानले आफूहरुलाई भोकमरीको समस्या आउन लागेको भन्दै राहतको माग गरेका थिए ।

प्रभावित क्षेत्र तेह्रथुमको छथर गाउँपालिकासहित पाँचथरको कुम्मायक र तुम्वेवा गाउँपालिका तथा धनकुटाको चौबीसे गाउँपालिका क्षेत्रमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो सहितको टोलीले अनुगमन गरेको थियो । 
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया