लमजुङका किसानलाई धान थन्क्याउने चटारो, खेताला पाउन गाह्राे (फोटोफिचर)

 कात्तिक ६, २०७५ मंगलबार १५:४:० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ‘युवाजति परदेश भासिएका छन् । काम गर्ने मान्छे पाउनै गाह्रो छ । बल्लतल्ल आज खेताला जुटाएर धान काट्दै छु,’ किसान तामाङले भन्नुभयो ।  


दसैँ सकिएलगत्तै उहाँ खेती थन्क्याउन जुट्नुभएको हो । उहाँमात्र होइन, अहिले लमजुङका प्रायः सबै ठाउँका किसानलाई खेतमा लगाएको पाकेको धान थन्क्याउने चटारो छ ।

जिल्लाको सुन्दरबजार, भोटेओडार, अर्चलबोट, बेसीशहर, भोर्लेटार, धमिलिकुवा, हर्राबोट, तार्कुघाट, लगायतका ठाउँका किसानहरु फाँटमा पाकेको धान काट्न जुटिसकेका छन् ।    

फेदीकुनाकै किसान झगमाया तामाङका अनुसार पछिल्लो समय खेती गर्नेहरुको संख्यामा कमी आएको छ । धेरै जग्गा बाँझा छन् । 


युवाशक्ति विदेश पलायन भएको छ । आफ्नो खेतीयोग्य जमिन बाँझै राख्ने, बरु बजारबाट खाद्यान्न बेसाएर (किनेर) खानेहरु बढ्दै गएका छन् । 

खेतला पाउनै मुश्किल: ज्याला महँगो          

खेती लगाउन र खेती थन्क्याउन खेताला पाउनै मुश्किल पर्छ । खेताला पाइहाले पनि ज्याला खर्च महँगो पर्छ ।  

‘अहिलेका मान्छे खेती गर्न चाहँदैनन् । गर्न सक्ने प्रायः परदेश छन् । खेती लगाउन, थन्क्याउन खेताला नै पाईंदैन । खेताला पाइहाले पनि ज्याला खर्च महँगो पर्छ । खेती गर्न गाह्रै छ,’ फाँटमा धान काट्न व्यस्त रहुनभएकी ५० वर्षीय झगमायाले भन्नुभयो । 

उहाँले सयफाँटमा ५ रोपनी जग्गामा धान लगाउनुभएको छ ।

उहाँका अनुसार धान काट्ने खर्च प्रति खेताला ६ सय रुपैयाँ पर्छ । बिटा लगाउने, बोक्ने र दाइँमा आउने खेतलाको ज्याला खर्च झनै महँगो छ ।

लमजुङमा १५ हजार ७ सय २ हेक्टर  क्षेत्रफल जमिनमा बर्खे धान खेती गरिन्छ । ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिन्छ ।

लमजुङका किसानहरुले बढिमात्रमा रामधान, सुक्खा–२, लोकतन्त्र, सावित्रि, मकवानपुर लगायतका जातका धानको खेती गर्दै आएका छन् ।               

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया