मन्त्रिमण्डल पुनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन : नेता पौडेल 

 कात्तिक ६, २०७५ मंगलबार १७:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पार्नुभएकाे छ। 

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन ।’

मंगलबार नेता पौडेलले भन्नुभयो,‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ 

यद्धपी उहाँले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पार्नुभयो । पौडेलले भन्नुभयो,‘अनुभवी टिम आवश्यक पर्‍याे भने मन्त्रिमण्डल पुनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन । आवश्यक पर्‍याे भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’

उहाँले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो,‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र इन्टु लगाउने बेला भएको छैन । सरकारको बारेमा समीक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन, उहाँले थप्नुभयो, ‘तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समीक्षा गर्छौं । यसको मतलव हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब बिस्तारै अघि बढ्छन् ।’
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया