यसरी गरियो साउदी दूतावासभित्र पत्रकार खशोग्गीको हत्या !

 कात्तिक ६, २०७५ मंगलबार २०:९:३१ | एजेन्सी

टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी अरबको वाणिज्य दूतावास भएको एक जना चर्चित पत्रकारको हत्याको सनसनीपूर्ण खुलासा भएको छ । 

हत्या भएको दिनको सीसीटीभी फुटेजका आधारमा कैयौँ खुलासा भएका छन् । जसमा पत्रकार जमाल खशोग्गीको हत्या भएको दिनमा साउदी अरबले भ्रम पैदा गर्न अपनाएका विभिन्न हर्कतहरुको खुलासा भएको छ ।

 

अक्टोबर २, २०१८ । बिहानको ११ः ०३ बजे । एक व्यक्ति शर्ट र जिन्स लगाएर आफ्ना केही साथीका साथ दूतावासमा प्रवेश गर्छन् । त्यसको २ घण्टापछि दिउँसो १ बजेर १४ मिनेट जाँदा पत्रकार जमाल खशोग्गी दूतावासमा प्रवेश गर्छन् । उनी दूतावासमा प्रवेश गरेको केही मिनेटमै भित्र साउदी अरबको पूर्व नियोजित षड्यन्त्र सफल हुन्छ ।

 

न्यूयोर्क टाइम्सका अनुसार अक्टोबर २ मा इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र जानेबित्तिकै पत्रकार खशोग्गीमाथि आक्रमण हुन्छ र सात मिनेटभित्र उनको हत्या हुन्छ ।  त्यति मात्रै होइन, २२ मिनेटभित्र उनको शरीरलाई टुक्राटुक्रा पारिन्छ ।

टर्कीका सरकारी अधिकारीका अनुसार पत्रकार खशोग्गीको हत्या गरी साउदी टोली त्यहाँबाट दुई घण्टाभित्रमै बाहिर निस्कन्छ ।

सीसीटीभी फुटेजबाट यो स्पष्ट हुन्छ कि साउदी अरबका हत्यारा एजेन्टहरुले भ्रमपूर्ण अवस्था सिर्जना गर्न खशोग्गीजस्तै देखिने व्यक्ति(बडी डबल) को बन्दोबस्त गरेको थियो । 

हत्यापछि उसलाई खशोग्गीले लगाएकै कपडा लगाइदिइएको थियो । केही समयअघि दूतावास प्रवेश गरेका खशोग्गी त्यहाँबाट फर्किए भन्नलाई यस्तो गरिएको थियो । केही समयसम्म त साउदीको योजना सफल भएको थियो । पत्रकार खशोग्गी दूतावासबाट फर्किए भन्ने कुरा सीसीटीभीमा पनि देखिएको थियो । तर एउटा जुत्ताले हत्याको पुरै षड्यन्त्रको खुलासा भयो । टर्कीले सार्वजनिक गरेको भिडियोमा खशोग्गीजस्तै व्यक्तिलाई उनको हत्या भएको केही समयपछि नै इस्तानबुलको सडकमा हिँडिरहेको देख्न सकिन्छ । केही समयपछि उसले खशोग्गीको कपडा पनि फुकाल्यो ।

कपडा, दाह्री र शारीरिक वनावट दुरुस्तै

खशोग्गीको कपडा लगाएर दूतावासबाट बाहिर निस्कने व्यक्ति उनीजस्तै देखिन्छ । चश्मा र दाह्री पनि उनकै जस्तो छ । उमेर र शरीर हेरेर पनि सबैले खशोग्गी नै भएको लख काट्छन् । तर जुत्ताले भने सबै खुलासा गरिदियो, जुन साउदीले लुकाउन खोजेको थियो । यदि दूतावासबाट निस्किएका पत्रकार खशोग्गी नै हुन् भने उनले किन जुत्ता फेरे भन्न गम्भीर प्रश्न उठ्छ । यदि उनी पत्रकार खशोग्गी होइनन् भने उनको कपडा लगाएर बाहिर निस्कने व्यक्ति को हो त ?

नक्कली व्यक्तिको भयो पहिचान

खशोग्गीजस्तै बनेर दूतावासबाट बाहिर निस्कने व्यक्तिको परिचय मुस्तफा अल मदनीका रुपमा खुलेको छ । मदनी साउदी जाँच टिमको सदस्य भएको र उनलाई खशोग्गीको हत्या गर्न दूतावासमा पठाइएको बताइएको छ । मदनी झण्डै ५७ वर्षका छन् । उनी दूतावासमा जाँदा उनको दाह्री थिएन । उनले अर्कै कपडा लगाएका थिए । उनले स्पोर्ट शुज लगाएका थिए । तर खशोग्गीको हत्या गरेर बाहिर निस्कने बेलामा उनले एउटा गल्ती गरे  । उनले खशोग्गीको कपडा र नक्कली दाह्री त लगाए तर जुत्ता भने फेरेनन् । उनी आफ्नै स्पोर्ट शुज लगाएर बाहिर निस्किए ।

खशोग्गी कालो रंगको फर्मल ड्रेस लगाएर भित्र गएका थिए । उनलेका कालो रंगको जुत्ता लगाएका थिए । यो सीसीटीभी फुटेज टर्कीका अनुसन्धानकर्ताका लागि महत्वपूर्ण प्रमाणका रुपमा रहेको छ ।

हत्यामा १५ जना सहभागी

टर्कीका राष्ट्रपतिका निकट एक अधिकारीका अनुसार पत्रकार खशोग्गीको हत्या पूर्वनिर्धारित षड्यन्त्र थियो । योभन्दा पहिले साउदीकै एक वरिष्ठ अधिकारी पत्रकार खशोग्गीसँग सोधपुछ गर्न १५ जनाको टोली खटाइएको थियो । उनीहरुले अक्टोबर २ का दिन खशोग्गीसँग सोधपुछका साथै किडन्याप र ज्यान लिने धम्की दिए । खशोग्गीले विरोध जनाएपछि उनको घाँटी रेटेर हत्या गरिएको र १५ जनामध्ये एक जना उनकै कपडा लगाएर बाहिर निस्किए । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया