६ दशकसम्म पनि बनेन पिंगुवा सिंचाई आयोजना

 कात्तिक ७, २०७५ बुधबार ८:५७:४१ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – निर्माण सुरु भएको ६ दशक बित्न लाग्दासमेत तेह्रथुमको म्याङलुङ नगरपालिकामा निर्माणाधीन पिंगुवा सिंचाई आयोजना निर्माणको काम पूरा भएको छैन ।

वि.स. २०१५ सालमा तत्कालीन सांसद तेजमान तुम्बाहाम्फेको पहलमा सुरु भएको सो आयोजना अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन । तत्कालीन समयमा जिरिखिम्ती, साब्ला, पिप्ले, म्याङलुङ र तम्फुला गरी पाँच गाउँलाई सिंचित गर्न निर्माण थालिएको आयोजना पूरा नहुँदा आयोजना बन्ला र गाउँमै सिंचाईको सुविधा होला भन्ने आशाले बसेका सर्वसाधारण निराश बन्न थालेका छन् ।

कुटो कोदालोको भरमा गाउँलेले शुरु गरेको पिंगुवा सिंचाई आयोजना निर्माणको काम आयोजना स्थलका बासिन्दाको विरोधका कारण निर्माण हुन नसकेको हो । पिंगुवा खोलाबाट झण्डै १८ किमी दूरीमा पानी ल्याएर सिंचाई गर्ने सो आयोजनाको निर्माणका लागि पाँच वर्षअघि तत्कालीन सिंचाई मन्त्री एनपी साउदले पूरा गर्ने बचन दिनुभएको थियो ।

तर त्यसयता पनि आयोजना निर्माणको काम हुन सकेको छैन । कुनै बेला इटाली कुलोका नामले चर्चित यो आयोजनाका लागि २०४० सालमा इटाली सरकराले २ करोड रुपैयाँ सहयोग गरेको थियो । सो रकममध्ये एक करोड रुपैयाँ खर्च गरेर मुहानदेखि झण्डै ३ किलोमिटर टाढासम्म पक्की कुला समेत निर्माण गरिएको छ ।

तर पञ्चायती शासन व्यवस्था रहेको तत्कालीन अवस्थामा स्थानीयको विरोधपछि इटाली सरकारले आयोजनाबाट हात झिकेको थियो । ०४६ सालपछि देशमा बहुदल स्थापना भए पनि आयोजना निर्माणका लागि सरकारले पर्याप्त बजेट उपलब्ध गराएको छैन । 

यो अवधिमा केही बजेट विनियोजन हुने गरे पनि आयोजना स्थलका बासिन्दाको विरोधका कारण आयोजना निर्माणको काम अघि बढेको छैन । पछिल्ला चुनावहरुमा समेत राजनीतिक दल र नेताले आयोजना निर्माणलाई प्राथमिकतामा राख्ने बचन दिने गरेका छन् । तर अहिलेसम्म पनि आयोजना निर्माणको काम अघि बढेको छैन । 

सिंचाई आयोजना नबन्दा हाल म्याङलुङ नगरपालिकामा गाभिएका तत्कालीन पाँच गाउँ विकास समितिहरुमा सिंचाईको समस्या रहेको छ । त्यसमध्ये पनि नगरपालिकाको वडा नं. १ र २ मा भने सिंचाईको ठूलो समस्या रहेको छ ।

स्थानीय सरकार गठन भएपछि आयोजना बन्ने आशा पलाएको नगरवासीहरुको भनाई रहेको छ । 

अन्तिम अपडेट: चैत २२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया