शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना न्यूनिकरणका लागि राखिएका ‘कन्भेक्स मिरर’ फुटेर सकिएका छन् ।
दाउन्नेको जोखिमयुक्त घुम्तीहरुमा जडान गरिएका ‘कन्भेक्स मिरर’ कसले फुटायो भन्ने थाहा हुन सकेको छैन । दाउन्नेको चौध किलोमिटर क्षेत्रमा धेरै घुम्ती भएका कारण दुर्घटना बढेको भन्दै झण्डै डेढ वर्ष पहिलो ५२ वटा ‘कन्भेक्स मिरर’ जडान गरिएको थियो ।
‘कन्भेक्स मिरर’ जडान पछि घुम्तीहरुमा ओभरट्याक गर्दा हुने दुर्घटनामा कमी आएको थियो । ‘कन्भेक्स मिरर’का कारण विपरित दिशाबाट गाडी आएको छ, छैन सहजै चालकले हेर्न सक्थे । तर अहिले जडान गरिएका ५२ वटा ‘कन्भेक्स मिरर’मध्ये ४३ वटा फुटेका छन् ।
दाउन्ने पूर्व र पश्चिमतर्फ गरी ९ वटा ‘कन्भेक्स मिरर’ मात्र काम लाग्ने अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख लक्ष्मणबहादुर शाहीले बताउनुभयो । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा २० वटा जति जोखिमयुक्त घुम्तीहरु रहेको र ती घुम्तिमा हुने दुर्घटनामा ‘मिरर’का कारण कमी आएको भए पनि यसको क्षतिले दुर्घटनाको जोखिम बढेको प्रमखु शाहीले बताउनुभयो ।
कन्भेक्स मिररले दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याएका कारण फेरि जडानका लागि दाउन्ने क्षेत्रमा पर्ने नगरपालिका र गाउँपालिकासँग बजेटको विषयमा समेत कुरा भएको प्रमुख शाहीले बताउनुभयो । तर सुरक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेबारे अन्यौल भएपछि जडान गर्न नसकिएको उहाँले बताउनुभयो ।
‘फेरि जडानको कुरा चलेको थियो, तर फेरि फुटाईदिन सक्छन् भनेर जडानको विषय सेलायो’ ट्राफिक प्रमुख शाहीले भन्नुभयो, ‘चौबीसै घण्टा सुरक्षा दिन गाह्रो छ, यसकारण के गर्ने अन्यौलमा छौं ।’
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।