रुकुममा लोप हुँदै परम्परागत बाँसका डोका

 कात्तिक ७, २०७५ बुधबार १४:१८:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बाँसको चोया बुनेर तयार पारिने डोकाको प्रयोग कम हुँदै जान थालेको छ । 

स्थानीय स्रोत साधनको प्रयोगबाट स्थानीय स्तरमै उत्पादन हुने बाँसका डोकाहरुको प्रयोग कम हुँदा लोप हुने अवस्थामा रहेका छन् ।  

गाउँघरमा कुनै बेला दाउरा, घाँस ओसार्न तथा खेतबारीमा मल बोक्नका लागि निकै प्रयोग हुने डोकाको माग बिस्तारै कम हुँदै गएको छ । सडक बिस्तारसँगै ट्याक्टर लगायतका अन्य साधन प्रयोग हुन थालेपछि रुकुमका गाँउमा पहिले अधिक मात्रामा प्रयोग हुने बाँसका डोकाको माग कम हुँदै गएको हो । 

डोकाको बिक्री कम हुन थालेपछि बाँसको डोका बुनेर र बेचेर आम्दानी गर्दै आएका स्थानीयहरु भने रोजीरोटीको चिन्तामा छन् ।

गएका वर्षहरुमा एउटा डोका ४ सयदेखि ७ सयसम्ममा बिक्री हुने गरे पनि हिजोआज २ देखि ३ सयमा मात्र बिक्री गर्नुपरेको रुकुम पश्चिम त्रिवेणी गाँउपालिका–१०, का स्थानीय हिरालाल वलीले बताउनुभयो ।

उहाँका अनुसार बुनेका डोकाहरु फाट्ट–फुट्ट मात्रै बिक्री हुने गर्दछन् । 

बाँसको चोयाबाट तयार गरिने डोका रुकुमका ग्रामीण क्षेत्रमा केही मात्रामा अझै भेटिन्छन् । स्थानीय उत्पादनको सदुपयोग र संरक्षण गरी बजारीकरण गर्नका लागि वातावरण बनाइदिन स्थानीय सरकारलाई स्थानीयले अनुरोध गरेका छन् । 

कम लगानी र श्रमबाट पनि तयार हुन सक्ने यस्ता उत्पादनलाई संरक्षण र संवद्र्धन गरी बजारीकरण गर्नसके स्थानीय उत्पादनको प्रवद्र्धन र स्वरोजगार सिर्जना हुने देखिन्छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया