आईसीसी ट्रफी टुर: शुक्रबार नेपाल अाइपुग्ने

 कात्तिक ७, २०७५ बुधबार १५:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - ‘विश्व भ्रमण’ मा रहेको आईसीसी एकदिवसीय विश्वकपको ट्रफी शुक्रबार नेपाल अाइपुग्ने भएको छ । 

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा आगामी शुक्रबारदेखि चार दिन नेपालमा ल्याइने भएको हो ।

आईसीसी मुख्यालय दुबइबाट शुक्रबार बेलुकी विश्वकप ट्रफी नेपाल आइपुग्नेछ । ट्रफीलाई शनिबार पोखरा लगिनेछ । पोखरा रंगशालामा ट्रफी प्रदर्शनीमा राखिने आईसीसीकाे नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयाे ।

पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट जारी रहेको अवस्थामा आईसीसी ट्रफी पनि पोखरा लान लागिएको छ । 

आइतबार ट्रफी काठमाडौं ल्याइनेछ र दिनभर बसन्तपुर क्षेत्रमा सर्वसाधारणको अवलोकन तथा निरीक्षणको लागि राखिनेछ ।

आईसीसीको आधिकारिक भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी इकम्पावर्सले ट्रफीको भ्रमण, सुरक्षा लगायत सबै बन्दोबस्त गरेको घिमिरेले जानकारी दिइन् ।

चन्द्रागिरी, स्वयम्भू र बसन्तपुर क्षेत्रमा विशेष फोटोशुटपछि ट्रफी सोमबार दुबई नै लगिनेछ । 

तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ ।

नेपालबाट भारत, न्युजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवाण्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहर भ्रमण गर्नेछ ।

फिफाले विश्वकप हुनुअघि ट्रफी टूर सुरु गरेसँगै क्रिकेटमा पनि आईसीसीले यस्तो सुरुआत गरेको हो । फुटबल विश्वकपको ट्रफी सन् २०१३ मा नेपाल ल्याइएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया