फौजदारी अभियोग लागेका सांसदको पद स्वतः निलम्बन नहुने

 जेठ २५, २०७५ शुक्रबार १५:२९:१६ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली पारित गरियोस भनि राख्नु भएको प्रस्ताव सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेपछि बहुमतले पारित भएको हो ।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद स्वतः निलम्बन नहुने उल्लेख छ । पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखिएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल भने प्रस्तावको विपक्षमा उभिनु भएको थियो । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले फौजदारी अभियान लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन गर्ने व्यवस्था गर्न नहुने अडान लिएका थिए । यो अडानमा सत्तापक्ष पनि सहमत भएपछि नियमावली पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदको सेवा, सुविधा र पारिश्रमिक भने कटौती हुने व्यवस्था गरिएको छ । 

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ । त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । सांसदहरुले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो प्रावधानि पनि नियमावलीमा समावेश गर्नु परेको समितिका सभापति पोखरेलले बताउनु भयो । नियमावलीमा राष्ट्रपति, उपराष्ट्रपतिमाथि महाअभियोग लगाउन दुवै सदनको दुई तिहाई बहुमत चाहिने व्यवस्था छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया