मिटर ब्याजको आतंक : घरबारविहीन हुँदै

 कात्तिक ८, २०७५ बिहिबार १०:२२:३८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – मिटर ब्याजमा पैसाको कारोबार गर्नेको संख्या बढ्दै जाँदा यसले सामाजिक समस्यासमेत निम्त्याउन थालेको छ ।  चलन चल्तीको भन्दा कैयौँ गुणा बढी ब्याज पर्ने गरी  रकम लेनदेनेको कार्य बढ्दै जाँदो समस्यामा पर्नेको संख्या समेत बढ्दै गएको छ ।

मिटर ब्याज भनेको धेरैलाई थाहा नहुन पनि सक्छ । तर यसले सामाजिक समस्यासँगै आपराधिक क्रियाकलापमा वृद्धि गराएको छ ।  कतिपयलाई घरबारविहीन नै बनाएको छ । कतिपयलाई आत्महत्या गर्न बाध्य बनाएको छ भने कतिपय घरगाउँ छाडेर भाग्नुपर्ने अवस्था सिर्जना भएको छ । 

नवलपुरको कावासोती पनि मिटर ब्याजको दलदलमा फस्दै गएको छ । यहाँ कतिपय मिटर ब्याजकै कारण समस्यामा पर्ने गरेका छन् । मिटर ब्याजको विरोधमा स्वयम्  पीडित नै बोल्न चाहान्नन् । किनकी मिटर ब्याज लगाउनेहरुमा यहाँका केही राजनैतिक रुपमै स्थापित भैसकेका व्यक्ति छन्, केही उद्योगी, व्यवसायीसमेत रहेका छन् ।

मिटर ब्याजमा रकम लिनेहरुले समयमा रकम तिर्न नसक्दा  घरजग्गा र  पसलसमेत बेचेर विदेश पलायन हुनुपरेको यहाँका स्थानीय बताउँछन् । तर यसबारेमा खुलेर बाहिर कुरा गर्न भने  डराउने गरेका छन् । मिटर  ब्याजमा रकम लागाउनेहरु राजनैतिक पहुँच पुगेकाहरु रहेकाले उनीहरुका विरुद्ध  बोल्न मान्दैनन् ।

कावासोतीकी एकजना महिलाले एकजना स्थानीय सुन व्यवसायीसँग   मिटर ब्याजमा  धेरै पटक नै पैसा लिँदै अनि दिँदै आएकी थिइन् । पछिल्लो पटक लिएको पैसा उनले समयमा बुझाउन सकिनन् । जसले गर्दा मिटर ब्याज लगाउने साहुले उनको घरमा गएर धम्की दिने गरेको, घरखेत जबर्जस्ती आफ्नो नाममा नामसारी गर्नु भन्दै पटक–पटक घरमा गुन्डा पठाउने, छोराछोरीलाई समेत विभिन्न कुरा सुनाउने गरेको घटना केही महिना अघि कावासोती नगरपालिकाको मेलमिलापमा केन्द्रमा  परेको थियो ।

यस्तै कावासोतीकै एकजना व्यवसायी मिटर ब्याजकै कारण घरखेत बेचेर विस्थापित हुने अवस्थामा पुगेका छन् । मिटर ब्याजको ब्याज तिर्न नसक्दा भएको सबै सम्पत्ति बेचेर अहिले केही व्यक्ति भाडाको घर बस्नु परेको अवस्था छ । यी त केही प्रतिनिधि घटना हुन् । यस्तै धेरै घटनाहरु भएका छन् । जसको कारक तत्व हो मिटर ब्याज । ब्याज तिर्न नसक्दा आत्महत्यासम्म गरेको घटना कावासोतीमा छ तर यसको विरोधमा कोही अगाडि आएर बोल्दैनन् ।

सामाजिक अगुवा रमिला भुजेलले मिटर ब्याजका बारेमा अहिले धेरै समस्याहरु आफूहरुसँग आउने गरेको बताउनुभयो । यस विषयमा कुनै ठोस कदम चाल्न अप्ठेरो अवस्था आएको  भुजेल भुजेलले बताउनुभयो  ।

नवलपरासीको मध्यविन्दु नगरपालिकामा पनि पछिल्लो समयमात्र दुई परिवार मिटर ब्याजका कारण घरबारविहीन बनेको मध्यविन्दु नगरपालिका ७ का वडा अध्यक्ष अमृत ज्ञवालीले बताउनुभयो । मध्यविन्दुमा समेत यस्ता घटना बढ्न थालेको भन्दै उहाँले सबैलाई सचेत रहन समेत आग्रह गर्नुभयो । सामाजिक प्रतिष्ठासँग जोडिएर हेरीने हुदा धेरै पीडितले बाहिर कुरा ल्याउन नचाने र समस्यामा पर्दै जानेको संख्यासमेत बढदै जाने गरको उहाँले बताउनुभयो ।

कसरी चल्छ मिटर ब्याज ?

कावासोतीमा कम्तीमा १०/१२ जनाले मिटर ब्याज चलाइरहेका यहा“का केही सामाजिक अगुवाहरु बताउँछन् । विशेषगरि मिटर ब्याज पसल, व्यापार गर्न, विदेश जान तथा अन्य प्रयोजनका लागि समेत लिने गरेका छन् । मिटर ब्याजमा रकम लगाउनेहरुले सामान्य ब्याजदर भन्दा धेरै रकम लिने गरि लगानी गर्ने गर्दछन् ।

यदि कसैले एक लाख रुपैयाँ पैसा माग्यो भने दिँदा नै ३० हजार ब्याज स्वरुप लिने र ७० हजार रुपैयाँ दिने गर्छन् । भुक्तानी गर्नेले एक लाख रुपैयाँकै ब्याज बुझाउनुपर्ने हुन्छ । महिना पूरा भएपछि दिनको हजार रुपैयाँ ब्याज लिने गरिएको छ । ऋण लगेको रकम अनुसार यसको ब्याज तिर्ने दर फरक–फरक हुन्छ । साँवा रकम भन्दा ब्याज  धेरै भएर ऋणीले तिर्न नसक्दा सबै गुमाउनु पर्ने अवस्था छ ।

उजुरी नपर्दा नियन्त्रणमा समस्या

जिल्ला  प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार मिटर ब्याजसँग सम्बन्धित कुनै पनि उजुरी प्रहरीमा परेको छैन । आफूले पनि  यस क्षेत्रमा मिटर ब्याजले कतिपय समस्यामा परेको भन्ने सुनेको भए पनि उजुरी नआएकाले केही गर्न नमिल्ने उहाँ बताउनुहुन्छ  ।

‘बढी ब्याजमा रकम लिने र दिने दुवै दोषी हुन । चलेको ब्याजदरमा लेनदेन गर्नु उचित हो तर अत्याधिक ब्याजदरमा रकमको लेनदेव गर्नु कानुन विपरीत  हो’,  लामिछानेले भन्नुभयो ।

दुई पक्षबीच सहमति भएर यसरी लेनदेन गरिने गरे पनि राज्यले तोकेको भन्दा बढी ब्याजदरमा लेनदेन गरिनु कानुन विपरीत नै हुन आउने हुँदा यस वारेमा अनुसन्धान गरी नियमन गर्नका लागि पहल गर्ने  उहाँले बताउनुभयो ।

केही दिनअघि मात्रै कानुनी सहायता स्वयम्सेवक समितिले कावासोती नगरपालिकालाई ध्यानाकर्षणसमेत गराएको थियो । कावासोती नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक प्रेम शंकर मर्दनियालाई मिटर ब्याज समाजमा विकृतिका रुपमा देखा परेको र मिटर ब्याजले समाजमा  अपराधका घटना बढेकोले  यसको नियन्त्रण गर्न माग गरेर ध्यानाकर्षण गराएको संस्थाकी अध्यक्ष ब्रिन्दामाया गैह्रेले बताउनुभयो  ।

मिटर ब्याज नियन्त्रणका लागि स्थानीय तहले नीति नियम नै बनाउनुपर्ने उहाँको  भनाइ छ । जबसम्म यस्ता कार्यमा लाग्नेहरुलाई दण्ड सजाय हुदैन तबसम्म नियन्त्रण हुन नसक्ने हुदा स्थानीय तहले छिटो कदम चाल्नुपर्ने गैह्रेको भनाइ छ ।

विभिन्न सरकारी कार्यालयसँगै यहाँ उद्योगी व्यापारीहरुको संख्यासमेत दिनानुदिन बढ्दै गएको छ । चहलपहल बढेसँगै आर्थिक कारोबारमा समेत वृद्धि हुन्छ । कारोबारीसमेत बढ्छन् । जसले गर्दा मिटर ब्याज लगाउने र लिनेको संख्या पनि वृद्धि नहोला भन्न सकिन्न । यदि मिटर ब्याजको समस्या तत्काल समाधान गर्न नसके भोलिका दिनमा आपराधिक क्रियाकलापमासमेत वृद्धि हुने देखिन्छ ।

कावासोती नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक प्रेम शंकर मर्दनीयाले मिटरब्याजलाई जरैदेखि निर्मुल पार्नका लागि आफूले तत्कालै कदम चाल्ने प्रतिक्रिया दिनुभएको छ । समाजमा विकृति र अपराध निम्त्याउने यस प्रकारका कामलाई न्यायिक समितिले मान्यता नदिने र जोकोही यस्ता काममा संलग्न छन् । उनीहरुलाई यस्तो कार्यमा नलाग्न उहाँको आग्रह रहेको छ । उहाँ आवश्यक सबै पक्षसँग छलफल गरेर मिटर ब्याजलाई नियन्त्रण गरेरै छाड्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया