नेकपाको पद बाँडफाँडमा देखिएको विवाद मिलाउन कार्यदल गठन

 कात्तिक ८, २०७५ बिहिबार १५:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न दुई सदस्यीय कार्य दल गठन गरेको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीे सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहनु भएका दुई सदस्यीय कार्य दल गठन गरेको हो ।

निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई  दिइएको महासचिव पौडेलले जानकारी दिनुभयो । यसअघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्ध सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्यदल नै गठन गरेको हो ।

कार्यदलले पेस गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया