धकेलेकै निहुँमा एकजनाको  हत्या

 कात्तिक ८, २०७५ बिहिबार १७:५२:५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – भिडभाडमा धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

गएकाे कात्तिक २ गते शुक्रबार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टीकाको दिन निक्कै भिड थियो । सबै जना टीका लगाएर बजारमा निस्किएका थिए । आफन्तकोमा जानको लागि कोसेली किन्नेहरु देखिएकाले पनि निक्कै भिड भएको हो ।

त्यही भिडमा धेरै प्रकृतिका व्यक्तिहरुको उपस्थिति देखिन्थ्यो । केही युवा, केही किशोर किशोरी अनि वृद्ध बुवाआमा तथा अधिकांश प्रौढ उमेर समूहका व्यक्तिहरु आफ्नै काममा व्यस्त देखिन्थे ।

त्यही भिडभाडको बीचमा आएका थिए, विराटनगर महानगरपालिका –१४, जतुवाका १९ वर्षीय राजेश भगतसहितका साथीहरु पनि आएका थिए । त्यस्तै भिडभाडमा नै थिए अन्य केही युवाहरु पनि । बजार घुम्ने क्रममा राजेश भगतलाई त्यही भिडभाडको बीचमा नचिनेका ८–१० जनाको समूहले  भगतको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

धरिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका भगतलाई तत्कालै कोशी अञ्चल अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको थियो । हत्या भएलगत्तै प्रहरीले खोजीको क्रममा २२ जनालाई त्यसै दिन पक्राउ गरेको थियो । सीसी क्यामेरा फुटेजको आधारमा हत्यामा संलग्नहरुको पहिचान र हत्या गर्नुको कारणको बारेमा अनुसन्धान  सुरु गरेको प्रहरीले हत्या हुनुको कारण दुई युवा समूहबीच धकेलाधकेल भएको जनाएको छ ।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीले राजेश भगतसहितका युवा र विशाल सहनी, सविन कामतसहितका युवाहरु बीच धकेलेको निहुँमा सुरु भएको विवादबाट कामतको हत्या भएको बताउनुभयो ।  एकआपसमा  धकेलाधकेल भएपछि सविन कामतलाई मृतक राजेश भगतले आक्रमण गरेको र त्यसको करिब १० मिनेटभित्र  विशाल सहनीसहितको समूहले भगतमाथि धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताउनुभयो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा १८ वर्ष नाघेका एकजना विशाल सहनीलाई सार्वजनिक गरेको भए पनि अन्य ५ जना भने १८ वर्ष नपुगेकोले सार्वजनिक गरेको छैन । उनीहरुलाई बालबालिकासम्बन्धी कानुन आकर्षित हुने हुँदा विशाललाई मात्र सार्वजनिक गरिएको केसीको भनाई छ । तत्काललाई ६ जनालाई पक्राउ गरिएको भए पनि अन्य २ जनासहित हत्यामा ८ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया