विदेशको झल्को दिने कलंकी–कोटेश्वर सडक, दुई महिनाभित्र सम्पन्न हुने

 कात्तिक ९, २०७५ शुक्रबार ११:५८:३२ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप । 

यो कुनै विदेशको सडकको बयान होइन । काठमाडौंको कलंकीदेखि कोटेश्वरसम्मको यात्रा गर्दा अब तपाईले यस्तै सडक देख्न पाउनु हुनेछ ।  

चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड निर्माण कार्य अबको दुई महिना भित्रै सम्पन्न हुँदैछ ।  चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो सडक खण्डमा अब ‘डबल लेयर’को पीच गर्ने काम मात्रै बाँकी रहेको छ ।   

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो ।  सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिएको र सडक डबल पीच गर्ने काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले बताउनुभयो । 

समय थप गरेर डिसेम्बरसम्ममा सबै काम सक्ने गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । थप गरिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्यअनुसार बाँकी निर्माणको काम तीब्र रुपमा अघि बढाइएको चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ ।  

एक लेयरको पीच गर्ने काम कलंकीदेखि कोटेश्वरसम्मै सकिएको र डबल लेयरको पीच गर्ने काम पनि कलंकीदेखि नख्खु दोबाटोसम्म ५ किलोमिटरमा सकिएको इन्जिनियर अर्यालले जानकारी दिनुभयो । 

अब एकान्तकुनादेखि कोटेश्वरसम्मको सडक डबल पीच गर्ने काम बाँकी छ । कंलकीदेखि डबल पीच गर्दै अहिले नख्खुदोबाटोसम्म पुगेको र त्यहाँबाट कोटेश्वरसम्मको काम पनि अबको २ महिनाभित्रै सकिने आयोजनाले जनाएको छ । ढल तथा सडक पेटी ब्यवस्थापन लगायतका काम पनि सकिएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ ।  

यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई–दुई लेनका सर्भिस सडक बनाइएको छ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण गरिँदै छ । विस्तार भएर अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बनेको छ ।

पहिलो अण्डरपास  

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माणको सबै काम गरिरहेको छ । यो सडक अन्तर्गत पर्ने कलंकीमा अन्डरपास निर्माण सम्पन्न भएर संचालनमा आइसकेको छ । यो अण्डरपास नेपालको पहिलो अण्डरपास हो । 

कुल ८ सय मिटर लामो अन्डरपास भदौदेखि नै सञ्चालनमा आएको हो । अण्डरपास सञ्चालनमा आएसँगै अहिले कलंकी क्षेत्रमा हुँदै आएको सवारी जाममा समेत कमी आएको छ ।  

आकाशे पुल थपिने

यो सडक खण्डमा अहिलेसम्म विभिन्न तीन ठाउँमा आकाशे पुल निर्माण गरिएको छ । पैदल यात्रुलाई सडक वारपार गर्न सहज होस भनेर अझै आयोजनाले नै थप दुई ठाउँमा आकाशे पुल बनाउने कामलाई पनि अगाडि बढाएको छ । 

कोटेश्वर, ग्वार्को र बागडोलमा आयोजनाले नै आकासे पुल बनाइसकेको छ । अब कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम अगाडि बढेको छ ।  

अझ छोटो दुरीबाटै बाटो काट्न सहज होस भनेर अरु ठाउँमा पनि आकाशे पुल बनाउने योजना सडक विभागको छ । विभागले महालक्ष्मीस्थान, एकान्तकुना र खसीबजारमा आकोशपुल बनाउनका लागि आवश्यक अध्ययन गरिरहेको चक्रपथ सडक सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो ।   

डेढ वर्ष लम्बिएर सकिँदै 

२०७० साल भदौदेखि विस्तार कार्य थालिएको यो सडकखण्ड ०७४ सम्ममा सक्ने गरी चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो । तर भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तारको काम एक वर्ष लम्बिन पुगेको हो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अबको २ महिनापछि अर्थात डिसेम्बरसम्ममा सक्ने गरि काम भइरहेको हो । 

२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ । असारमै सडक निर्माण सकिने गरि म्याद थपिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न नहुँदा फेरि डिसेम्बरसम्मको समय थप गरिएको हो । 

चिनियाँ निर्माण कम्पनीले अबको दुई महिनाभित्र आफूहरुलाई ह्याण्डओभर गर्ने गरी काम गरिरहेको आयोजनाले जनाएको छ । यो सडकखण्ड निर्माण गर्न चीन सरकारले झण्डै ५ अर्ब रुपैयाँ खर्च गरेको छ भने नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।

हस्तान्तरणपछि सडकको फेरि अध्ययन हुने 

अबको दुई महिनाभित्र सडक सम्पन्न गरेर चिनियाँ कम्पनीले हस्तान्तरण गरिसकेपछि फेरि सडकको अध्ययन हुने इन्जिनियर अर्यालले बताउनुभयो ।

सडक हस्तान्तरण भइसकेपछि जेब्रा क्रसिङ, सडकमा रेखांकन तथा ट्राफिक लाइट राख्ने काम सुरु गरिने उहाँले बताउनुभयो । ‘चिनियाँ कम्पनीको जिम्मेवारी सडक र पुल मात्रै निर्माण गर्ने हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछिको काम भने हामी आफैंले गर्छौँ ।’

‘सडकमा साइकल लेन नभएको, बीचमा डिभाइडर नहुँदा सडक असुरक्षित रहेको भन्ने कुरा हामीलाई पनि जानकारीमा आएको छ,’ उहाँले भन्नुभयो, ‘यसबारेमा हामीलाई सडक हस्तान्तरण गरेपछि फेरि सडकको सुरक्षाका बारेमा आवश्यक अध्ययन गर्नेछौँ ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • nepali premi

    Nov. 5, 2018, 12:34 p.m.

    need greenary.... small tree should be planted in middle where the space .... it helps look more better than this

  •  0 Reply

तपाईको प्रतिक्रिया