अस्पताल छ, औषधि छैन

 कात्तिक ९, २०७५ शुक्रबार १६:१५:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – खारानेटा, सशस्त्र द्वन्द्वताका पटक–पटक तत्कालीन राज्य र विद्रोहीको लडाइस्थल ।

दुई पक्षको भीडन्त, आक्रमण, आगजनी र बमबारीले आक्रान्त रुकमुको खारानेटा अर्थात त्रिवेणि गाउँपालिका–३ र ६ को सीमामा नेपाली सेनाले खाराबासीलाई उपहार दिएको पक्की र व्यवस्थित अस्पताल भवन छ ।

पाँच कोठाको त्यो भवन हेर्दा जति चिटिक्क लाग्छ, त्यति नै समस्यामा जेलिएको छ, त्रिवेणि ग्राम अस्पताल । अस्पतालमा दैनिक बिरामीको चाप बढिरहको छ तर औषधि राख्ने ¥याक यतिबेला खाली छन् ।

नेपाली सेनाको देवी दल गणले निर्माण गरेर त्रिवेणि गाउँपालिकालाई हस्तातरण गरेको उक्त भवनमा व्यवस्थित र सुविधासहितको अस्पताल सञ्चानल गर्ने भनिएको थियो । उक्त भवनमा अस्पताल त सञ्चालन गरिएको छ, तर त्यो नाम मात्रैको ।

गएको जेठ १ गते नेपाली सेनाले त्रिवेणि गाउँपालिकालाई हस्तान्तरण गरेको उक्त भवनमा असार महिनादेखि अस्पताल सुरु भएको थियो । ‘त्रिवेणि ग्राम अस्पतालको नामबाट कामकाज त सुरु भएको छ, तर अस्पताल जस्तै सेवा प्रवाह सुरु भएको छैन,’ स्वास्थ्य सहायक नरसिङ पुनले भन्नुभयो, ‘अस्पतालमा बिरामीको चाप बढ्दै छ, तर औषधि र जनशक्ति भने छैन ।’

औषधि अभाव र जनशक्तिको अपर्याप्तताको कारण अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको स्वास्थ्य सहायक पुनले बताउनभयो । उहाँका अनुसार गाउँपालिकाले खरिद गर्ने औषधि सबैतिर बाँड्दा–बाँड्दै सकिन्छ ।

अस्पताल आउने अधिकांश बिरामी परामर्श लिएर फर्कन्छन् । उनीहरुलाई अस्पतालले औषधि पुर्‍याउन सकिरहेको छैन । सरकारबाट निःशुल्क वितरण हुने सबै प्रकारका औषधि समेत अस्पतालमा छैनन् । 

अस्पताल नै भनेर सञ्चालन गरिए पनि अहिलेसम्म उक्त अस्पतालमा तीनजना मात्रै स्वास्थ्यकर्मी÷कर्मचारी छन् । एकजना काजमा आएका स्वास्थ्य सहायक, गाउँपालिकाले करारमा नियुक्त गरेका एकजना ल्याब टेक्निसियन र एकजना कार्यालय सहयोगी मात्रै अस्पतालमा काम गर्छन् ।

औषधि अभावको साथै जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या भएको बताइएको छ । स्वास्थ्य सहायक र ल्याब टेक्निसियन आफैले बिरामी पूर्जा काट्छन्, चेकजाँच र परामर्श पनि एक जनाले मात्रै गर्ने गरेका छन् ।

अस्पतालका लागि पक्की, राम्रो र व्यवस्थित भवन भए पनि उपचारको उपकरण तथा स्रोतसाधन नहुँदा भनेजस्तो सेवा प्रवाह गर्न नसकिने स्वास्थ्य सहायक पुनले बताउनुभयो ।

‘भौतिक संरचना मात्रै ठूलो कुरा होइन रहेछ, औषधि र जनशक्ति अभावमा यस सेवा क्षेत्रका बिरामीले नजिकैबाट र सहजै सेवा पाउन सकरहेका छैनन्,’ पुनले भन्ुभयो ।

स्थानीय सरकारको बेवास्ताको कारण अस्पताल पूर्ण हुन नसकेको स्थानीयले बताएका छन् । अस्पतालका लागि नेपाली सेनाले राम्रो भवन बनाइदिए पनि त्यसको उपयोगमा स्थानीय सरकार उदासिन बनेको स्थानीय मोहनबहादुर खड्काले बताउनुभयो ।

‘अस्पताल भवन बन्यो, अब घर नजिकै सजिलै सेवा पाइएला भन्ने हाम्रो कल्पना कल्पनामै सीमित भएको छ,’ खड्काले थप्नुभयो, ‘स–सानो औषधिका लागि पनि नजिकैको अस्पताल छाडेर टाढाका स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको छैन ।’

औषधी र जनशक्ति अभावको कारण अस्पताल सेवा क्षेत्रका सर्वसाधारण स्वास्थ्य चौकी खुम्चेरी, सिम्रुतु, निजी मेडिकल वा जिल्ला अस्पताल जान बाध्य छन् । अस्पतालको तथ्यांक अनुसार असार यता अहिलेसम्म उक्त अस्पतालमा ८ सय २५ जना बिरामी आएका छन् ।

असार महिनामा २ सय १८, साउनमा ३ सय ५२, भदौमा १ सय ७१ र असोजको २५ सम्म ८४ जना बिरामी अस्पतालमा चेकजाँच, उपचार तथा परामर्शका लागि आएका छन् ।

स्थानीय सरकारले भने खारानेटामा १५ शैयाको अस्पताल सञ्चालनको तयारी भैरहेको बताएको छ । त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले १५ शैयाको अस्पताल दर्ताका लागि गाउँ कार्यपालिकाबाट निर्णय भैसकेको बताउनुभयो ।

‘हामी अस्पताल दर्ता गर्ने र आवश्यक पूर्वाधार निर्माणपछि व्यवस्थित अस्पताल बनाउने गरी लागेका छौं,’ अध्यक्ष घर्तीले भन्नुभयो ‘सबै कुरा मिलाउँदा मिलाउदै कतै केही नपुगेको हुन सक्छ ।’

अस्पतालका लागि ल्याब स्थापनाका लागि सबै उपकरण खरिद भैसकेको अन्य व्यवस्थापनका लागि पनि काम भैरहेको भनाई उनको छ । अस्पतालमा कहिलेकहिँ औषधि अभाव भए पनि लामो समय अभावको अवस्था नरहेको उहाँले दाबी गर्नुभयो ।

नयाँ अस्पताल भएकाले पनि जनशक्ति अभाव भएको र त्यसलाई पूर्ण गरी सबै सेवा सहितको अस्पताल खारानेटामा बन्ने अध्यक्ष घर्तिको भनाई छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • सुरेश यादव

    Oct. 26, 2018, 7:34 p.m.

    यसको लागि सम्बन्धित निकाय छिटोभन्दा छिटो सम्पर्क गरि सेवाग्राही लाई औषधि उपलब्ध गराई दिनुु हुन सम्बन्धित व्यक्ति तथा निकायलाई अनुरोध गर्द्छु

  •  0 Reply

तपाईको प्रतिक्रिया